साना व्यवसाय सञ्चालकहरुका लागि कर सुविधा

यदि तपाइँको व्यवसायको कारोबार रकम रु एक करोड सम्मको छ भने तपाइँका लागि केही सरलीकृत कर कानूनहरू रखिएको छ भन्ने थाहा पाउनुस्।
Photo by Mikhail Nilov on Unsplash

सीमित स्रोतसाधनमा सञ्चालन हुने साना व्यवसायहरुकाका लागि नेपाल सरकारले सरलीकृत मानक कर निर्धारण गरेको छ — १) पुर्वानुमानित कर र २) कारोबार-आधारित कर

१) पुर्वानुमानित कर

कुनै पनि उपभोग्य वस्तुहरूको खुद्रा बिक्री गर्ने तपाईंको सानो किराना वा खुद्रा पसल होस्, वा कपाल काट्ने वा मोटरसाइकल मर्मत गर्ने वर्कशप, यदि तपाईंको व्यवसायको कारोबार रकम रू ३०,००,००० (तीस लाख रुपैयाँ) सम्म छ भने तपाईंको व्यवसाय साना व्यवसायले पाउने पुर्वानुमानित कर सुविधा प्राप्त गर्न योग्य हुनेछ।

 

अनुमानित करको लागि अन्य सर्तहरू छन्:

  • करदाता व्यवसायबाट मात्र आय भएको प्राकृतिक बासिन्दा हुनुपर्ने।
  • व्यवसायबाट वार्षिक मुनाफा (करयोग्य व्यवसाय आय रकम) रु. तीन लाख (रु. ३,००,०००) भन्दा बढी हुन नहुने र व्यवसायको कारोबार रकम रु तीस लाख भन्दा बढी हुन नहुने।
  • आयकर ऐनको धारा ५१ अन्तर्गतको औषधि उपचार कर क्रेडिट र धारा ९३ अन्तर्गत अग्रिम कर कट्टा दावी गरेको हुन नहुने।

 

तालिका १: तपाईले आफ्नो व्यवसाय कहाँ छ भन्ने आधारमा कर रकम तिर्नुपर्नेछ:

व्यवसाय रहेको क्षेत्र

वार्षिक कर (रुपैयाँ)

महानगरपालिका; उपमहानगरपालिका

७,५००

नगरपालिका

४,०००

गाँउपालिका

२,५००

 

२) कारोबारमा आधारित कर

यदि तपाईंको व्यवसायको कारोबार रकम रू ३० लाख रुपैयाँ नाघेको छ भने यस सुविधा अन्तर्गत तपाईंले वार्षिक अनुमानित करको अतिरिक्त व्यापारको प्रकृति र कारोबार आकारको आधारमा निश्चित कर दर तिर्नु पर्ने हुन्छ। यद्यपि, यो कर चिकित्सक, इन्जिनियर, लेखा परीक्षक, खेलाडी, अभिनेता वा परामर्शदाता/कन्सलटेन्ट जस्ता (पेशेवर) सेवा प्रदायकहरूका हकमा भने लागू हुँदैन।

 

कारोबारमा आधारित करका लागि पनि देहाय बमोजिमका सर्तहरू छन् :

  • करदाता व्यवसायबाट मात्र आय भएको प्राकृतिक बासिन्दा हुनुपर्ने।
  • वार्षिक कारोबार रु. तीस लाख भन्दा बढि हुनुपर्ने तर रु १ करोड भन्दा बढी हुन नहुने र करयोग्य व्यवसाय आय रकम रु १० लाख भन्दा बढी हुन नहुने।
  • डाक्टर, इन्जिनियर, लेखा परीक्षक, वकिल, खेलाडी, अभिनेता वा परामर्शदाता/ कन्सलटेन्ट जस्ता (पेशेवर) सेवा प्रदायकहरूमा यो लागू नहुने।

 

अब कारोबारमा आधारित कर अन्तर्गत आफ्नो कर दायित्वको गणना कसरी गर्ने?

क) साना व्यवसायका लागि पुर्वानुमानित कर सुविधा ३० लाख सम्मको कारोबारमा लागु हुनेछ। वार्षिक कर माथिको तालिका १ मा उल्लेख गरिएको छ।

ख) यदि तपाईंको कारोबार रकम ३० लाख रुपैयाँ नाघेको छ भने तपाईंले वार्षिक पुर्वानुमानित करका अतिरिक्त निम्न दरहरू तिर्नुपर्ने हुन्छ।

 

व्यवसायको प्रकृति

तीस लाख देखि पचास लाख रुपैयाँ सम्मका कारोबार रकमका लागि

पचास लाख रुपैयाँ देखि एक करोड रुपैयाँ सम्मका कारोबार रकमका लागि

ग्यास, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मार्जिन भएका व्यवसाय

०.२५%

०.३०%

माथिको उल्लेखित व्यवसाय बाहेकको व्यवसाय गर्ने अन्य व्यक्ति

१%

०.८%

डाक्टर, इन्जिनियर, लेखा परीक्षक, खेलाडी, अभिनेता वा परामर्शदाता बाहेक अन्य सेवा प्रदायक व्यवसायमा संलग्न।

२%

२%