ललितपुरको स्वष्तिक एग्रीकल्चर फार्म

ईजरायली कृषिमा ७ वर्ष तालिम प्राप्त गरेका राजन मैनाली आगामी दिनहरुमा आर्थिक पक्ष राम्रो हुँदै गए देशकै नमूना फार्म बनाउने सोच रहेको बताएका छन् ।
Representative image । Image by Schorsch from Pixabay

यो कथा कृषि विभागको वेबसाइटमा १३ फाल्गुन २०७७ मा प्रकाशित भएको हो ।


गोदावरी -१२, ठेचो, ललितपुरमा घर भएका राजन मैनाली ईजरायलमा ७ वर्ष बिताए । ५२ वर्षिया मैनालीले त्यहाँ रहँदा नर्सरी तथा तरकारी खेतीमा काम गरी राम्रो ज्ञान तथा अनुभव वटुल्ने मौका प्राप्त गरे ।

ईजरायलमै रहँदा २००५ मा बमबाडि भई ७ दिनसम्म खान समेत नपाएको घटना स्मरण गर्दै नेपालमा पनि त्यस्तो अवस्था नआओस्, कसैलाई खानै नपाएर भोकभोकै मर्नु नपरोस भन्ने सोचेर आफू स्वदेश फर्की कृषि पेशामा लागेको बताएका छन् ।

स्नातक सम्मको शिक्षा हाँसिल गरेका मैनालीले ७ रोपनि जग्गा भाडामा लिई ४ जना (राजन मैनाली, शिव गौतम, ठाकुर क्षेत्री र अन्य) मिलेर साँझेदारीमा गाई पालन, तरकारी व्यवसाय, कृषि समाग्री विक्री वितरण, गोदाम संचालन, जे.टी /जे.टी.ए लाई तथा ओ.जे.टी. गराउने तथा ईच्छुकहरुलाई तालिम दिने जस्ता कार्य गरी बृहत्तर रुपमा लागेका छन् । उनीहरु मध्ये कोही उत्पादनमा, कोही बजारीकरण तर्फ त कोही प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

यसरी ५ वर्ष पहिले किसान एग्रीकल्चर फार्ममा आबद्ध मैनाली गत ३ वर्ष देखि भने साँझेदारीमा स्वष्तिक एग्रीकल्चर फर्म दर्ता गरी कृषि व्यवसायमा संलग्न छन् ।

१० लाखको लगानी गरेका उनीहरुले १ जना स्थायी कर्मचारी राखेका छन् भने ३६५ जनालाई वार्षिक रोजगारीको अवसर सृजना गरेका छन् । सुरुवाती अवस्थामा धेरै खर्च व्यहोर्नु परे पनि हाल मलको लागि गाई फर्म भएको र जे.टी /जे.टी.एलाई तालिम तथा ओ.जे.टी. गराउने हुँदा खर्च निकै कम हुने गरेको उनको भनाई छ ।

टमाटर २८ टन, भेडेखुर्सानी ५ क्विन्टल, साग २ क्विन्टल उत्पादन गर्ने उनीहरुले प्राङ्गारिक उत्पादनमा विशेष जोड दिई ठमेल जस्तो व्यस्त बजारलाई आफ्नो लक्षित बजार बनाएका छन् ।

करिव ६-८ लाखको बार्षिक कारोबार गरी ३-४ लाख नाफा हुने गरेको र साविक तरकारी विकास निर्देशनालयबाट अनुदान स्वरुप Naturally ventilated house निर्माण गरिदिएको जसमा २०% फार्मको लगानी रहेको बताउने मैनालीले करिव १००० जना भन्दा बढिलाई तालिम प्रदान गरिसकेको दावी गर्छन् ।

यसरी उनले उचित बजार व्यवस्थापन, ठाउँ विशेष High Tech मा जानुपर्ने, किसानलाई प्रत्यक्ष रुपमा नै भुक्तानी प्रणाली हुनुपर्ने जस्ता आवश्यकता पहिचान गरेका छन् । ईजरायली कृषिमा ७ वर्ष तालिम प्राप्त गरेका उनले आगामी दिनहरुमा आर्थिक पक्ष राम्रो हुँदै गए देशकै नमूना फार्म बनाउने सोच रहेको बताएका छन् ।


कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/१३