नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

“व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ। धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन। यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन।” - बोराडाँडीका सुरेश विश्वकर्मा
तस्बिर: रासस

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको छ। जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उहाँले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहनुभएको हो।

धनगढी–८ बुद्धचोक बसोबास गर्दै आउनुभएका विश्वकर्माले काठमाडाैँको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिनुभएको थियो। अनुभवपछि उहाँले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो।

विश्वकर्माले वार्षिक रु एक लाख ५० हजार तिर्नेगरी चार कट्ठा जमिन भाडामा लिई व्यवसाय गर्दै आउनुभएको छ। विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिनुभएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा रु ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उहाँले बताउनुभयो।

मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो। छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो। तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उहाँले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गर्नुभयो।

“अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ। कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ। धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन। यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन।”

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, शो-प्लान्ट सहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिनुभयो। केही बिरुवा भने नर्सरीमा आफँै उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उहाँको भनाइ छ। नर्सरीमा हाल विभिन्न जातका फलफूल, शो-प्लान्टलगायत बिरुवा उपलब्ध छन्।