पौड्याल ढाका उद्योग: पाल्पाली ढाकामा चार दशकको यात्रा

पाल्पा तानसेन–४, बारुदथानमा रहेको पौड्याल ढाका उद्योगले करिब चार दशकको यात्रा पूरा गर्दैछ। पाल्पालाई ढाकाका लागि चिनिन्छ। र यही पहिचानलाई अझ बलियो बनाउँदै २०४४ सालमा यो उद्योग सुरु गरिएको थियो।

२०४४ सालमा दाजु मोहन राज शर्मा पौडेलले सुरु गरेको उद्योग हाल उनका भाई मनोज पौडेलले सम्हालिरहेका छन्। परिवार नै ढाकाकै व्यापारमा संलग्न रहेकी उनी बताउँछन्।  पाल्पामा रहेको उद्योग र शोरुम मनोजले रेखदेख गरिरहेका छन् भने काठमाडौं मैतिदेविमा रहेको शोरुम मनोजका दाजु मोहनका छोरा राहुल पौडेलले सञ्चालन गरिरहेका छन्। राहुल व्यवसायको बजारीकरण र बिक्रीको पक्ष पनि सम्हाल्छन्।

“नेपालमै बसेर केही गर्ने भन्ने सोच थियो। सके सरकारी जागिर, नभए पेशा–व्यवसाय”, उद्योग खोल्दाको समय सम्झिदैं मनोज पौड्याल भन्छन्, “त्यही सोचले सुरु गरिएको हो।”

५० हजारको लगानी र तीन जनाबाट सुरुवात

उद्योगको सुरुवात गर्दा काम गर्ने तीन जना मात्रै थिए। लगानी जम्मा ५० हजार।

त्यत्ति बेला प्राय: घर घरमा नै तान हुन्थ्यो। घरबुना ढाकाको चलन थियो। परिवार पनि संयुक्त रुपमा हुने भएकाले धेरै जना यो काममा लाग्थे। प्राय: परिवारका महिलाहरु कपडा बुन्ने काममा संलग्न हुने गरेको मनोज बताउँछन्। यद्यपि अहिले भने त्यो चलन पाल्पामै पनि लोप हुने अवस्थामा छ।

एकातिर एकल परिवारको चलन, त अर्कातिर अन्य क्षेत्रतर्फ नयाँ पुस्ताको आकर्षणका कारण घरमै ढाका बुन्ने परम्परा छैन।

साथै प्रविधिको विकास हुँदै जाँदा ढाकाका कपडा बुन्ने मेसिन पनि भित्रिए। तर पौड्याल ढाका उद्योगले परम्परागत हाते तानकै बाटो रोजेको मनोज बताउँछन्।

“हामी अझै पनि हाते तानमै काम गरिरहेका छौं,” मनोज भन्छन्, “मेसिनबाट बन्ने कुरा अर्कै हो। त्यसले स्थानीय उत्पादनको मौलिकता हराउने डर छ। ”

पाल्पाको ढाका जे कारणले चिनिएको छ, त्यहि परम्परालाई आफूहरुले निरन्तरता दिईरहेको मनोज बताउँछन्। मेसिनबाट ढाकाका कपडा बुन्ने चलन बढ्दा त्यसकै कारणले हाते तानमा आधारित कतिपय उद्योग पनि बन्द भएका थिए। मनोज थप्छन्, “कतिपय उद्योग त मेसिनकै कारण धराशायी भए। हामी पनि त्यस्तै चिन्तामा थियौं। तर, टेकेर अगाडि बढ्यौं।”

हाल पौड्याल ढाका उद्योगमा ६० जना ढाका बुन्ने काममा नै रोजगार छन्। ढाका बुन्नेमा प्राय: महिलाहरु छन्। त्यसबाहेक १० देखि १५ जना अन्यले पनि आफ्नो उद्योगमा रोजगारी पाईरहेको मनोज बताउँछन्।

५० हजार लगानीबाट सुरु भएको उद्योगको लगानी हाल ६० लाख रपैयाँको लगानीमा पुगेको राहुल बताउँछन्।

“उद्योगमा भएका मेसिनदेखि सबै गर्दा लगानी बढेको छ,” राहुल भन्छन्”आफ्नै कारखानामा बुन्नेदेखि गाउँमा घर घरमा तान लगेर बुन्नेहरु पनि हुनुहुन्छ।”

कस्तो ढाकाको व्यापार?

चार दशकको यात्रामा पौड्याल ढाका उद्योगले द्वन्द्व, आर्थिक अस्थिरता र बजारको उतारचढाव धेरै झेलेको छ।

४८ सालदेखि ७० सालसम्मको देशको राजनीतिक परिवर्तन, सामान बोक्दा हुने दुःख, सबै पार गर्दै यहाँसम्म आइपुगेका हौं, मनोज सुनाउँछन्।

उद्योगमा परिपक्वता नभएको समय थियो। बजारमा मेसिनले बनेका ढाकाका कपडासँग प्रतिस्पर्धा गर्न गाह्रो थियो। तर स्टक राखेर बिस्तारै बिक्री गर्ने रणनीतिले हामी बाँच्यौं, उनी भन्छन्।

ढाकाकै व्यापारमा संलग्न भएर झन्डै चार दशक पुरा गरिसकेका कारण पनि मनोजसँग यसको व्यापारको राम्रो जानकारी छ। मेसिनको कपडा सस्तो, छरितो सबै ठाउँमा पाइन्छ। तर, मौलिक परम्पराअनुसार हातले बुनेको कपडा भने गुणस्तरका हिसाबले मुल्यका हिसाबले पनि महंगो हुने उनी बताउँछन्।

पौड्याल ढाका उद्योगले त्यहि हातले बुनेको ढाकाको पहिचानलाई जोगाएर राखेको छ। त्यहाँबाट उत्पादन हुने ढाकाका सामग्रीमा जुत्ताबाहेक अन्य सबै सामग्री रहेको राहुल बताउँछन्। उनी भन्छन्, “ढाकाका जुत्ता पनि हामी अर्डरअनुसार तयार गर्छौं।”

मेसिनबाट बनेका ढाकाका सामग्री र मौलिक सामग्रीबीचको अन्तर गुणस्तर र मूल्य दुवैमा फरक हुन्छ। बजारमा अहिले मेसिनले बनेका टोपी २–३ सयमा पाइन्छन्। “तर, हाम्रो शोरुममा ८ सयदेखि १२ सयसम्मको टोपी हुन्छ,” मनोज भन्छन्।

कतिपय ग्राहक मौलिकता खोज्नकै लागि आउने मनोज बताउँछन्। उनी भन्छन्, “ग्राहकले बल्ल असली सामान भेटियो भन्दा व्यापार गरेको सार्थक लाग्छ।”

पाल्पाली ढाका आफैंमा ब्रान्ड हो, जसकारण आफूहरुले अलग्गै ब्रान्ड बनाउने प्रयास गर्नु नपरेको मनोज बताउँछन्। यद्यपि मौलिक पाल्पाली ढाकाका रुपमा भने पौड्याल ढाका उद्योगको पनि आफ्नै पहिचान रहेको उनको जिकिर छ।

बजारमा नक्कली सामानले भरिए पनि, पौड्याल ढाकाको गुणस्तरका कारण ग्राहकहरू आकर्षित भइरहेका छन्। मनोज भन्छन्, तानसेन होस् वा काठमाडौं, ग्राहक आफैं खोज्दै आउँछन्।

काठमाडौंमा रहेर बजारीकरण बिक्रीबितरणको पक्ष सम्हालिरहेका राहुलकाअनुसार मासिक रुपमा देखि १० लाखसम्मको व्यापार हुने गरेको छ।

पाल्पा काठमाडौंका शोरुमबाट मासिक देखि १० लाख रुपैयाँसम्मको कारोबार हुन्छ, राहुल भन्छन्, बिक्रीबाट झन्डै २० प्रतिशत नाफा हुने गर्छ।

ढाकाका कपडाहरुको बिक्री पनि सिजनअनुसार फरक फरक हुन्छ। प्राय: चाडबाडको समय वा विवाह हुने महिनामा भने बिक्री बढ्छ। बिक्री हुने सामग्रीहरुमा भने सबैभन्दा धेरै ढाकाको टोपी रहेको राहुल बताउँछन्।

आफुहरु स्वदेशी बजारनै केन्द्रित रहेको उनी बताउँछन्।

हाम्रो ढाका नेपालभित्र स्वदेशी बजारमा बिक्री भईरहेको , उनी भन्छन्, हामी आफैले निर्यात गरेका छैनौं। तर नेपाल आएर किनेर उपहारका रुपमा अन्य देश लैजानेहरु भने हुनुहुन्छ।

कच्चा पदार्थमा परनिर्भरता, राज्यको असहयोगी नीति

ढाका बनाउँदा प्रयोग हुने कटनको धागो नेपालमै उत्पादन भए पनि पर्याप्त छैन। नेपालमा उपलब्ध भएको धागो पर्याप्त मात्रामा नहुने र फरक फरक आकारका धागोहरु आवश्यक हुने हुँदा त्यो कहाँ पाउँछ भन्दै खोज्न असहजता छ। यद्यपि आफूहरुले कतिपय अवस्थामा स्थानीय व्यापारीसँग पनि धागो खरिद गर्ने मनोज बताउँछन्। उनी भन्छन्, “तर अधिकांश भारतबाटै आयात गर्नुपर्छ।”

नेपालमै उत्पादित धागोलाई लिएर पनि पौड्याल ढाका उद्योगले ढाकाका सामग्री निर्माण गरेको थियो। विगतमा बुटवल धागो कारखाना सञ्चालनमा रहेको बेला त्यहाँ बाट पनि धागो लिईएको मनोज बताउँछन्। तर, हाल भने बुटवल धागो कारखाना सञ्चालनमै नरहेका कारण त्यो विकल्प छैन। जसकारण कच्चा पदार्थका लागि पुर्ण रुपमा आयातमै आधारित भएर काम गर्नु परेको मनोज सुनाउँछन्।

तर, कच्चा पदार्थको आयात पनि त्यत्ति सहज रुपमा भने नहुनुले समस्या हुने उनको अनुभव छ।

“राज्यले ५० लाख सम्मको कारोबार गर्न प्यानमा दर्ता भए हुन्छ भनेर छुट दिएको छ”, मनोज भन्छन्, “भ्याटमा दर्ता हुनु पर्दैन भनेर छुट दिएको छ। तर भन्सारबाट सामान ल्याउँदा १० हजारभन्दा बढिको सामान आएमा अनिवार्य भ्याटमा जानुपर्छ भनेको छ। यस्ता किसिमका नीतिगत अस्थिरता र असहजताहरु छन्।”

जसकारण पनि कच्चा पदार्थ आयात गर्दा अन्य व्यक्तिहरु मार्फत ल्याउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्। उद्योग सञ्चालन गरिरहँदा आउने सरकारी नीतिहरूले राहत दिनुको सट्टा झन् झन्झट थप्ने गरेको मनोजको गुनासो छ।

“राज्यले सहयोग गर्‍यो भनेर त पत्तै पाएका छैनौं,” उनी भन्छन्।

“कहिले अर्काको नाममा सामान ल्याउनुपर्छ। कहिले भारतमा जीएसटी तिर्नुपर्छ। उद्योगको नाममा छुट पाइँदैन,” उनी भन्छन्, “व्यवसाय नै स्थापित गरेर काम गर्नेप्रति सरकारले कुनै उत्तरदायित्व बहन गरेको छैन।”

मनोज सबैभन्दा कान्छा पुस्ता हुन्, जसको नाममा उद्योग दर्ता रहेर सञ्चालनमा छ। आफू पछिका पुस्ताहरुले भने ढाकाको कामप्रति संलग्नता घटाएको पाएका छन् उनले। मनोज भन्छन्, “नयाँ पुस्ता यो ढाकाको काममा लागेका देखिँदैनन्। सम्भवतः म नै सबैभन्दा कान्छो पुस्ताको व्यक्ति हुँ।”
उद्योगमै बसेर काम गर्दै आएका उनी यो पेसालाई निरन्तरता दिइरहेका छन्। उनी भन्छन्, “हातैले बुनेको कपडामै मौलिकता छ। त्यसैले त्यसलाई जोगाएर काम गरिरहेका छौं।”

तर, नीतिगत अस्थिरता र असहजताका कारण भने नयाँ पुस्ताले यो परम्परालाई निरन्तरता दिन सक्छ सक्दैन भन्नेमा प्रश्न रहेको उनी बताउँछन्। सरकारी नीतिहरु ठूलो पुँजी लगानी भएका उद्योगका लागि सोचेर बनाइएको र साना घरेलु उद्योगहरुका निम्ति भने ती नीति सहज नभएको उनको जिकिर छ।

“जसोतसो आफ्नै जोडबलमा गरेर उद्योग सञ्चालन गरिएको छ,” मनोज भन्छन्, “राज्यको नीति सहज हुन्छ भने त भारतबाट रेशमको धागो ल्याएर यहाँ नयाँ नयाँ डिजाइनमा सामग्री बनाउने, अझ धेरै ठाउँमा ठूला शोरुम खोल्ने र ६० मात्रै नभई १२० जनालाई रोजगारी दिने सोच छ। तर, सरकारको नीतिहरु साथ दिने हुनुपर्छ।”

 


 

युवराज भट्टराई पत्रकारिताका साथै साहित्यमा रुचि राख्छन्। अन्नपूर्णपोस्ट, नेपाललाईभ डट कम, क्लिकमान्डुलगायतका सञ्चारमाध्यममा काम गरेका उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आरआर क्याम्पसबाट पत्रकारिता विषयमा स्नातक गरेका छन्।

 


 

Yubaraj Bhattarai is a journalist with a passion for literature. He has worked with media outlets like Annapurna Post, NepalLive.com, and Clickmandu. He holds a bachelor’s degree in journalism from RR Campus under Tribhuvan University.