कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै आउनुभएको छ।
चौधरीले छ वर्षदेखि सुभाष बहुउदेश्यीय कृषि फार्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो। एउटा टनेलबाट च्याउखेती सुरु गर्नुभएका चौधरीले हाल पाँच कट्ठा जग्गामा १५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताउनुभयो।
बाह्रै महिना च्याउ उत्पादन गर्ने गरेको बताउँदै चौधरीले आम्दानी पनि राम्रो हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “वार्षिक रु २० लाखबराबरको च्याउ बिक्री हुन्छ। सबै खर्च कटाएर वार्षिक रु १० लाख आम्दानी हुन्छ। यस वर्ष रु ३० लाखसम्मको च्याउ बिक्री गर्ने लक्ष्य छ।”
पहिले ज्ञान र सीपको कमीले छ महिनामात्रै च्याउ उत्पादन गर्ने गरेकामा हाल उहाँले बाह्रै महिना च्याउ उत्पादन गर्दै आउनुभएको छ। चौधरीले उत्पादन गर्नुभएको कन्य च्याउ हाल बजारमा प्रतिकिलो रु २५० का दरले बिक्री हुँदै आएको छ।
उहाँले भन्नुभयो, “कन्य च्याउको उत्पादन बढी हुन्छ। यसको खपत पनि राम्रो छ। लागत पनि कम छ। त्यसैले कन्य च्याउ नै उत्पादन गर्ने गरेको छु।” चौधरीले च्याउ फार्ममा दैनिक ज्यालादारीमा चार जनालाई रोजगारीसमेत दिएको र दैनिक प्रतिव्यक्ति रु ६०० देखि आठ ८०० सम्म ज्याला दिने गरेको बताउनुहुन्छ।
लगानी कम र आम्दानी बढी भए पनि बजारको मागअनुसार च्याउ आपूर्ति गर्न कठिनाइ भइरहेको चौधरीजस्तै व्यावसायिक च्याउखेती गर्दै आएका किसान बताउँछन्। पछिल्लो समय बजारमा माग अध्यधिक रहेकाले च्याउखेतीको आम्दानीले सहजै जीविकोपार्जन हुने उहाँहरूको भनाइ छ।
च्याउखेतीबाट भएको आम्दानीले सबै घर खर्च र छोराछोरीको पढाइलेखाइ खर्च सजिलै जुटेको उहाँहरू बताउनुहुन्छ। मिहिनेत गरे आफ्नै देशमा रोजगारी दिन र राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणी पात्रका रूपमा व्यावसायिक च्याउखेती गर्दै आउनुभएका चौधरी रहनुभएको छ।








