बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्पादन भएको धान प्रशोधन गरी गुणस्तरीय ‘सिल्की’ चामल तयार पार्न पाउने भएका छन्।
स्थानीय साकार कृषि सहकारी संस्था लिमिटेडले अत्याधुनिक ‘सिल्की चामल मिल’ जडान गरी सञ्चालनमा ल्याएपछि स्थानीय किसानहरू उत्साहित बनेको साकार कृषि सहकारी संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो।
“कृषि सम्भावना बोकेको राप्ती सोनारीमा यसअघि यस्तो प्रविधिको अत्याधुनिक सेलर मिल थिएन,” उहाँले भन्नुभयो, “गाउँपालिकामै पहिलो पटक सहकारीमार्फत यस्तो मिल सञ्चालनमा आएपछि धान बिक्री तथा प्रशोधनका लागि छिमेकी बजार वा भारततर्फ धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।”
अध्यक्ष वलीले संस्थाले किसानलाई लक्षित गरी आगामी दिनमा थप सेवा विस्तार गर्ने योजना बनाएको जानकारी दिनुभयो। उहाँका अनुसार, संस्थाले चामल मिलका साथसाथै खाद्यान्न पिस्ने (पीठो बनाउने) र तोरी तथा अन्य तेलहन पेल्ने (तेल निकाल्ने) आधुनिक मेसिनहरू पनि छिट्टै थप गर्ने तयारी गरिरहेको छ।
साकार कृषि सहकारी संस्थाले किसानको हितलाई मध्यनजर गर्दै कुल रु ५५ लाखको लागानीमा यो मिल जडान गरेको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो। मिल सञ्चालनका लागि राप्ती सोनारी गाउँपालिकाले रु २० लाख आर्थिक अनुदान उपलब्ध गराएको छ भने बाँकी रु ३५ लाख सहकारी संस्था स्वयंले लगानी गरेको छ।
मुख्य व्यवस्थापक वलीका अनुसार यो मिल सञ्चालनमा आएसँगै राप्ती सोनारीका किसानहरूले उत्पादन गरेको धान सहकारीमार्फत सहजै बिक्री गर्न पाउनेछन्। आफूले खाने वा बिक्री गर्ने धानलाई सिल्की बनाउन कुटानी–पिसानीको सुविधा पनि गाउँमै उपलब्ध हुने भएको छ।
स्थानीय तहमै कृषि उपजको प्रशोधन र बजारीकरणको व्यवस्था भएपछि राप्ती सोनारीका किसानहरूमा व्यावसायिक कृषिप्रतिको आकर्षण थप बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी क्षेत्रमा हालसम्म यस्तो आधुनिक र गुणस्तरीय सेलर मिल नभएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय तह र सहकारीको साझा प्रयासबाट बनेको यो पूर्वाधारले स्थानीय किसानको आर्थिक स्तर उकास्न ठूलो सहयोग पुर्याउने बताउनुभयो। “गाउँपालिकामै यति आधुनिक प्रविधिको चामल मिल सञ्चालन हुनु कृषि क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हो,” अध्यक्ष पौडेलले भन्नुभयो।




