Nep
Eng
Nep
Eng

This post is also available in: English

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान

अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट सुरु गरेको तरकारीखेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका सोवित शर्माले नाम र दाम कमाएका छन्।
तस्बिर: रासस

 


 

तीस वर्षअघि साथमा एक सय रुपैयाँ नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ।

“ऋण खोजेर १५० रुपैयाँ को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने”, शर्मा सम्झन्छन्, “भदौमा प्रतिकिलो  दुई रुपैयाँमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो।”

अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट सुरु गरेको तरकारीखेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाएका छन्। व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औँलामा गन्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपङ्तिमा आउँछ।

आफू उद्यमी बन्नुका साथै अरू धेरैका लागि प्रेरणाको स्रोत बनेका शर्माले आफ्नै परिश्रम र मिहिनेतबाट मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्नुहुन्छ। छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नाकोत्तर पढाइरहेका शर्माले तरकारी र केराखेतीबाट भएको कमाइले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताए।

तरकारी बेचेर कमाएको दुई लाख रुपैयाँबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे। 

“बारीको बीच भागमा चारवटा टनेल र खुला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु”, शर्माले भने, “गड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोष्ट’ मल, रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी प्राङ्गारिक विधिबाट खेती गरेको छु।”

पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ। परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुख्र्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँसखेती गरेका छन्। शर्माले उत्पादन गर्ने केरा, गोलभेँडा, धनियाँ, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौला, फर्सीलगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनीबजार नजिकै भएकाले बिक्रीको समस्या छैन।

सोवित तीन वर्षको हुँदा बुबा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो। आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएका सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुगेका थिए।

केही वर्ष भारतको दिल्लीमा भौतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारीखेती गर्न माटोसँग मितेरी गाँसेका थिए। धान रोप्न छाडेर तरकारीखेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो।

श्रीमती देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किँदै गएको द्वन्द्वका कारण सप्रिँदै गरेको तरकारीखेती श्रीमती र आमालाई जिम्मा लगाएर २०६१ सालमा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारीखेतीमै जोडिएका थिए।

“मलेसियाको कमाइले ऋण तिरे। र, केही पैसा बचत पनि गरेँ”, शर्माले भने, “देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतीले निरन्तरता दिएको तरकारीखेतीलाई थप व्यावसायिक बनाउने र उद्यम व्यवसाय गर्ने वातावरण भयो।”

आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको शर्मा बताउँछन्। दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उनको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन्।

“पहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो”, सोवितकी श्रीमती देविले भनिन्, “हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारीखेतीले हो।”

विसं २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलोपटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पारेका छन्।

बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न सङ्घसंस्थाबाट उहाँले तालिम र अनुदान सुविधा पनि पाएका छन्। आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र समूहमा आबद्ध शर्मा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकीकृत कृषक पाठशालाको सहजीकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्छन्।

खबरामा व्यावसायिक तरकारीखेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे छन्। उनहरूको मिहिनेत र सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी र केराखेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

डेढ सय घरपरिवारको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारीखेती गरेका छन्। पूरै गाउँको आयस्रोत केराखेती बनेको छ। उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनीबजारमा खपत हुन्छ।

किसानले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको शर्माको अनुभव छ। पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेँलो हुँदै सुक्ने समस्या चुनौतीका रूपमा देखिएको छ। पाङ्गारिक विधिबाट तरकारीखेतीलाई निरन्तरता दिँदै नमूना कृषि फार्म बनाउने शर्माको योजना छ।

लेख सेयर गर्नुहोस्

तस्बिर: रासस