Nep
Eng
Nep
Eng

‘इको साथी नेपाल’बाट मनुले देखेको परिवर्तनको सपना

“मैले गोदावरीलगायतका ठाउँहरू हेर्छु, एकदमै फोहोरहरू हुन्छ। चाउचाउका खोलहरू प्लास्टिकहरू फालिदिन्छौ। त्यो देख्दा मैले म डेन्टिस्ट नै भएर जीवनभर बाँच्ने हो त? म को हो त भन्ने भन्ने सोचिरहेको थिएँ। म अलिक वातावरणप्रति झुकाव भएको मान्छे हुन चाहन्छु भनेर निर्णय गरें।”

 


 

‘इको साथी नेपाल’ को सुरुवात डा. मनु कार्कीले आफ्ना लागि खोजेका विकल्पहरूबाट भएको थियो।

पेसाले डा. कार्की दन्त चिकित्सक हुन्। उनी आफूलाई पहिला ‘आमा’का रूपमा चिनाउँछिन् र त्यसपछि आफ्नो पेसागत परिचय दिन्छिन्। 

योसँगै डा. कार्कीको अर्को परिचय पनि छ। एक उद्यमीको परिचय। उनी पेसागत रूपमा अस्पतालका पर्खालभित्र मात्रै सीमित छैनन्, उनी आफ्नो सानो प्रयासले धेरै कुरा परिवर्तन हुनसक्छ भन्ने विश्वास बोकेर ‘इको साथी नेपाल’लाई पनि सँगसँगै डोहोर्‍याइरहेकी छिन्।

‘इको साथी नेपाल’ अर्थात् वातावरणको साथी

संसारभरमा नै जलवायु परिवर्तनदेखि प्लास्टिक प्रदूषण सबैभन्दा चुनौतीपूर्ण विषयका रूपमा स्थापित भइरहँदा डा. कार्कीको यो सुरुवात वातावरण संरक्षणका लागि एउटा प्रयासको रूपमा स्थापित हुँदै गएको छ। 

र यो सबैको सुरुवात आजभन्दा ६ वर्षअघि भएको थियो, जति बेला उनी ताइवान घुम्न गएकी थिइन्। 

‘म र मेरो श्रीमान् ताइवान घुम्दा, त्यहाँ हामीलाई घुमाउने साथीहरू एकदमै वातावरणमैत्री भएको पायौँ। उहाँहरूले प्लास्टिकको प्रयोग गर्नु हुन्थेन’, डा. कार्की त्यो समय सम्झिन्छिन्।

ताइवानमा घुमघामकै क्रममा एक दिन उनी आफ्ना साथीहरूसँग पिकनिक गएकी थिइन्। उनलाई लागेको थियो, नेपालमा जस्तै त होला। पिकनिक जाँदा सरसामान लिएर जाने, प्लेटहरू लिएर जाने। तर, त्यहाँ त्यस्तो थिएन। 

“पिकनिक जाँदा चाउचाउहरू बोकेर जाने होला सोचेका थियौँ,” उनी भन्छिन्, “हामी आफू पिकनिक जाँदा प्लेटहरू लिएर जान्छौँ। बायोडिग्रेडेबल प्लेट नै लगेता पनि त्यो फालेर आउँछौ। त्यो फोहोरका रूपमा रहन्छ। तर उहाँहरूले आफैले आफ्नो टिफिन बक्सहरू लिएर गएर बोतलमा कफीहरू लिएर जानु भएको थियो। त्यहाँ एकदमै रमाइलो भएको थियो। फर्किएर आउँदा त्यहाँ केही पनि फोहोर थिएँन।”

त्यो अनुभवले नै डा. कार्कीको मनमा एउटा भावना अंकुरायो। उनले नेपालको गोदावरी सम्झिइन्। साथीभाइ घुमघाम गर्न जाने ठाउँ सम्झिइन्। अनि, उनले सम्झिइन् त्यहाँ फ्याँकिएका प्लास्टिक र फोहोरहरू।

“मैले गोदावरीलगायतका ठाउँहरू हेर्छु,” डा. कार्की भन्छिन्, “एकदमै फोहोरहरू हुन्छ। यहाँ चाउचाउका खोलहरू प्लास्टिकहरू फालिदिन्छौ। त्यो देख्दा मैले म डेन्टिस्ट नै भएर जीवनभर बाँच्ने हो त? म को हो त भन्ने भन्ने सोचिरहेको थिएँ। म अलिक वातावरणप्रति झुकाव भएको मान्छे हुन चाहन्छु भनेर निर्णय गरें।”

नेपाल फर्किएपछि उनले आफ्नै जीवनशैलीमा परिवर्तन ल्याउने प्रयास गर्न थालिन्। प्लास्टिकको प्रयोग घटाइन्, प्राकृतिक विकल्प रोज्न थालिन्। 

कुनै सरसामान किन्दा दुई वटा प्लास्टिकका झोला माग्ने ठाउँमा उनले आफ्नै झोला बोक्न थालिन्। प्लास्टिक प्रयोग हुने ठाउँहरूमा त्यसलाई सकेसम्म वैकल्पिक उपायले प्रतिस्थापन गरिन्। बाँसको टुथब्रस पनि प्रयोग गर्न थालिन्। 

उनी भन्छिन्, “यदि म आफैंले गरेको सानो अभ्यास अरूलाई देखाउन सकेँ भने त्यसले ठुलो सन्देश दिन सक्छ भन्ने लाग्यो।”

त्यही बेला बिस्तारै आफूले अनुसरण गरिरहेको जीवनशैली र वातावरण किन आवश्यक छ भन्नेबारे अरूले पनि थाहा पाउनुपर्छ लागेर डा. कार्कीले एउटा इन्स्टाग्राम ह्यान्डल सुरु गरिन्। त्यसको नाम रह्यो, ‘इको साथी नेपाल’।

उनी भन्छिन्, “इको साथी भनेको वातावरणको साथी हो। म आफूले आफूलाई वातावरणको साथीको रूपमा परिचित गराउन थालिरहेको थिएँ।”

सामाजिक सञ्जालबाट उनले आफ्ना अनुभव र वातावरणमैत्री अभ्यासहरू सेयर गर्थिन्। उनी आफूलाई वातावरणको साथीको बनाउन खोजिरहेकी थिइन्।

दैनिक उपभोग्य वस्तुलगायतका विषयमा आफ्नो वातावरण मैत्री अभ्यास र आफूले प्रयोग गरिरहेका सोही किसिमका सामग्रीबारे सामाजिक सञ्जालमा सेयर गर्दै जाँदा धेरैले उनलाई यी सामग्रीबारे सोध्न थाले। ‘बाँसको टुथ ब्रस’ कहाँ पाइन्छ? कहाँबाट किन्ने? जस्ता प्रश्नहरू सोधिन थालियो। 

एक जनाको जीवनमा प्लास्टिकको प्रयोग कम हुनुले त प्रभाव पार्छ भने डा. कार्कीको सामुन्ने धेरैको जीवनलाई वातावरणमैत्री अभ्यासतर्फ परिवर्तन गर्न पाउने अवसर थियो। आफ्नो जीवनको अभ्यास र जनचेतना फैलाउने गरी सुरु गरेको इको साथी नेपालबाट उनले अरूलाई पनि यी सामग्रीहरू उपलब्ध गराउने निर्णय गरिन्। 

त्यसपछि डा. कार्कीको जीवनमा आमा, चिकित्सक, र वातावरणमैत्रीसँगै अर्को एक परिचय पनि थपियो, एक उद्यमी। 

‘इको साथी नेपाल’ मार्फत उनले सुरुवातमा ५०० वटा बाँसका ब्रसहरूबाट उद्यमशीलताको यात्राको सुरुवात गरेकी थिइन्। 

६ वर्षको यो यात्राका अहिले इको साथीले ३५ किसिमका वातावरणमैत्री सामग्रीहरूमा आफूलाई विस्तार गरेको छ। डा. कार्की भन्छिन्, “यीमध्ये केही नेपालमै उत्पादन हुन्छन् भने केही विदेशबाट आयात गरिन्छन्।”

वातावरण संरक्षण सचेतनाको अभावमा खेप्नु परेका चुनौती 

नेपालमा प्लास्टिकको अत्यधिक प्रयोग हुने गर्छ।

तर, यसको दीर्घकालीन असरबारे धेरैलाई अझै पर्याप्त जानकारी नभएको बत्ताउँछिन् डा. कार्की।

हिजो वातावरण प्रतिको यहीँ अवस्थाले नै उनलाई व्यवसाय सुरु गर्ने प्रेरणा दिएको थियो। त्यसैले पनि उनी आज पनि इको साथी नेपालको सामाजिक सञ्जालमार्फत निरन्तर सचेतनामूलक सामग्री सार्वजनिक गर्छिन्।

“प्लास्टिकको अत्यधिक प्रयोग गर्दा के हुन्छ? सिंगल लेयर र डबल लेयर प्लास्टिकमा के फरक हुन्छ? भन्ने जस्ता जटिल प्रश्नलाई हामी सरल सुरुमा जनचेतनाका लागि सधैं प्रस्तुत गरिरहेका छौं,” उनी भन्छिन्, “हामी इन्स्टाग्राममार्फत प्लास्टिकको प्रयोगले हुने हानि देखाएर जनचेतना फैलाउँछौं।”

सुरुवातमा सामाजिक सञ्जालबाट वातावरणमा प्लास्टिकको प्रयोगले पार्ने हानिबारे सामग्री प्रसार गर्दा प्रोत्साहन पाएको भएता पनि बिस्तारै आलोचना पनि हुने गरेको थियो। तर, कार्की आफूले जनचेतना फैलाउन रोकेमा यो विषय मान्छेले बिर्सिने ठान्छिन्।

‘हाम्रो डिजिटल मिडियाबाट एकदमै जनचेतनाको काम गर्छौं,’ उनी भन्छिन्, “हाम्रो इन्स्टाग्राममा दिनको १० वटा स्टोरी हुन्छन्। त्यसमा प्लास्टिकको अत्यधिक प्रयोगका कारण के हुन्छ, कस्तो हानी गर्छ भनेर राखिरहेका हुन्छौ। सुरुवातमा त प्रोत्साहन गर्ने र हौसला दिनेहरू पनि धेरै हुनुहुन्थ्यो। तर कतिपयले हतोत्साहित पनि गर्नु हुन्थ्यो। कति प्लास्टिक प्लास्टिक गरिरहेको कति भनिरहेको भन्नेहरू पनि थिए।”

आज इको साथी व्यवसायमा रूपान्तरण भइसक्दा पनि आफूहरूले मुख्य अभ्यासका रूपमा यो कुरालाई निरन्तरता दिइरहेको बताउँछिन्। 

उनको विश्वासमा समाधान भनेको नयाँ कुरा सिर्जना गर्नु मात्र होइन। अघिल्ला पुस्ताको जीवनशैलीबाट सिक्नु पनि हो। उनी सम्झन्छिन्, “हामी पहिले फाटेका लुगा, जुत्ता सिलाएर फेरि लगाउँथ्यौं। रुमाल प्रयोग गर्थ्यौं। त्यो नै पुनः प्रयोग (reuse) को अभ्यास थियो।”

यिनै अभ्यासहरूबाट सिक्दै र आजको विश्वमा कसरी वातावरण जोगाउन सकिन्छ भन्ने सोच्दै व्यवसाय सुरु भएको डा. कार्की बताउँछिन्। तर, प्रतिस्पर्धी बजार र ठुलो मात्रामा सामग्रीको उत्पादन नै व्यवसायलाई जीवित राख्नका लागि आवश्यक हुन्छ भन्ने भाष्य स्थापित आजको विश्वमा उनले इको साथी नेपालबाट केही फरक गर्न खोजिरहँदा उनको मनमा भने कैयन प्रश्नहरू आएका थिए। 

सुरुमा आफ्नो व्यवसायमा नयाँ सामान थप्दा मनुलाई ‘के यी सामानहरू बिक्लान्?’, ‘यसबाट फाइदा बस्ला?’ जस्ता प्रश्नहरूले सताउँथे।

तर, समयसँगै व्यवसायले गति लिन थाल्यो। निश्चित ग्राहकहरू कायम भएपछि यी चुनौतीहरू स्वतः हट्दै गए। 

उनले ठुला फ्याक्ट्रीजस्तो धेरै उत्पादन गर्ने र धेरै बेच्ने भन्दा पनि व्यवसायमा एक किसिमको उद्देश्यसहित व्यवसायलाई अघि बढाउँदै गइन्। त्यो उद्देश्यका कारण पनि व्यवसायप्रति जे जति ग्राहकहरूको विश्वास बढ्दै गयो, त्यसले डा. कार्कीलाई र इको साथी नेपाललाई पनि थप एक एक खुड्किला उक्लिन हौसला दिइरह्यो।

आमाले दिएको त्यो १९ हजार

‘इको साथी नेपाल’ व्यवसायिक रूपमा अघि बढाउँदाको समयमा मनु र उनका श्रीमान भर्खर जापानबाट नेपाल आएका थिए। बासस्थान (घर) का कुराहरू मिलाउनु पर्ने थियो। आर्थिक हिसाबले खर्च पनि निक्कै भएको थियो। 

डा. कार्कीको मनमा भने व्यवसाय गर्ने हुटहुटी थियो। 

उनले आमालाई आफ्नो इच्छाबारे भनिन्। आफूले सुरू गर्न थालेको यात्राबारे सुनाइन्। 

त्यसपछि, आमाले आफ्नो झोलामा भएको १९ हजार मनुको हातमा राखिदिएकी थिइन्।

त्यहि १९ हजार रूपैयाँले मनुले ५०० वटा बाँसका ब्रसहरू खरिद गरेर व्यवसाय सुरू गरेकी थिइन्। डा. कार्की भन्छिन्, ‘त्यो पैसा छिट्टै फिर्ता गर्यौँ। सुरुबाटै हाम्रो व्यवसाय फाइदामा नै रह्यो।’

सुरुवाती दिनहरूमा इको साथी नेपाल फस्टाउनमा डा. कार्की साथीहरूको साथ निकै महत्वपूर्ण रह्यो।

डा. कार्कीका साथीहरूले इको साथीका सामानहरूबारे इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालमा सामग्री प्रसार गर्थे। त्यसमा प्रतिक्रियाहरू आउँथे। यसरी एकपछि अर्को गर्दै इको साथी नेपाल धेरैको नजरमा पर्न थाल्यो। मान्छेले वातावरणमैत्री सामग्रीहरूप्रति चासो देखाउँदै गए। त्यसले पनि व्यवसाय फस्टाउँदै गएको डा. कार्की बताउँछिन्।

समस्याले देखाएको सम्भावना

मनुको आजको व्यवसाय केही वर्ष अघि उनले आफ्नो जीवनशैलीमा ल्याउन खोजेको परिवर्तन थियो।

आफूले देखेको सपनाको समाधान खोज्दै जाँदा उनले अन्यलाई पनि त्यो समस्या भइरहेको थाहा पाइन् र त्यो समस्याको समाधानलाई नै सम्भावनामा रुपान्तरण गरेर व्यवसाय सुरू गरिन्।

पहिलो पटक आफ्ना लागि सामान खरिद गर्न लाग्दा उनी चीनको वेबसाइटमा पुगिन्। सामानहरू मगाइन्। सामानहरू नेपालमा आए।

तर मगाएका सामान प्लास्टिकमै बेरेर आउँदा उनी खिन्न भइन्। मनु भन्छिन्, “प्लास्टिकमै बेरेर आउने भए यी सामान वातावरणमैत्री कसरी भए?”

त्यसपछि उनी आफैं फरक ढंगले व्यवसाय गर्ने निर्णयमा पुगिन्। 

“हामीले इको साथी नेपाल सुरु भएदेखि नै प्लास्टिकको प्रयोग गरेका छैनौं,” मनु थप्छिन्, “सामानलाई पत्रिकामा नै बेरेर दिने गरेका छौं। झरी, बादल, जे भए पनि डेलिभरी पार्टनरले सधैं सामान राम्रोसँग पुर्याउँछन्।”

थप अध्ययन र खोजपछि मनु भियतनामको महिलाद्वारा सञ्चालित एक कम्पनीसँग जोडिन् पुगिन्। त्यहाँबाट उनले इको साथी नेपालका लागि सामान मगाउन थालिन्।

“महिलाद्वारा सञ्चालित कम्पनी भएकोले मलाई आत्मीयता महसुस भयो,” उनी भन्छिन्, “हामीले इको साथी नेपालका सामान त्यहीँबाट मगाउन थाल्यौँ। कोभिडको समयमा केही समय चीनबाट ल्याउन परे पनि अहिले मुख्य रूपमा भितनामबाटै सामान ल्याइरहेका छौं।”

इको साथीबाट बेचिने करिब ६० प्रतिशत सामान नेपालमै उत्पादन हुन्छ। बाँकी ४० प्रतिशतका लागि आयातमा भर पर्नु पर्छ। डा.कार्की भन्छिन्, “हाम्रो चाहना सबै सामान नेपालमै उत्पादन होस् भन्ने हो। माग बढ्दै गयो भने हामी सम्पूर्ण उत्पादन देशमै गर्न सक्छौं।”

हाल इको साथीले करिब २० जना उद्यमीसँग साझेदारी गरेको छ, जसले माग अनुसारको सामग्रीको उत्पादन गर्छन्। यीमध्ये अधिकांश महिला छन्। केही अपाङ्गता भएका व्यक्तिहरू पनि हुनुहुन्छ। उनीहरूले आफ्नै घरमा पनि बसेर सामग्री बनाउँछन्। डा. कार्की भन्छिन्, “यसले हाम्रो व्यवसायलाई मात्र होइन, समावेशी रोजगारीलाई पनि प्रोत्साहन गरिरहेको छ।”

३० देखि १६५० रुपैयाँसम्मका सामाग्री, महिला ग्राहक धेरै

इको साथी नेपालमा ३० रुपैयाँदेखि १६५० रुपैयाँसम्मका वातावरणमैत्री सामानहरू उपलब्ध छन्। ३० रुपैयाँको पत्रिकाबाट बनेको कलम छ भने सबैभन्दा महँगो १६५० रुपैयाँको बडी ब्रस छ। डा. कार्कीका अनुसार सबै सामानको बिक्री समान रूपमा नै भइरहेको हुन्छ। यद्यपी दाँत माझ्ने बाँसको ब्रस सबैभन्दा लोकप्रिय रहेको छ।

सुरुवाती दिनमा इको साथी नेपालका ग्राहक प्रायः १९ देखि ४० वर्ष उमेरका थिए। त्यसमा पनि बढि महिलाको बाहुल्यता थियो। अहिले भने पुरुष ग्राहक पनि उत्तिकै रूपमा थपिएका छन्। डा. कार्कीलाई इको साथीका उत्पादन सबै उमेर र वर्गका मानिसका लागि उपयोगी भएकाले ग्राहक पनि सबै समुहको भएकी बताउँछिन्।

आफ्नो अनलाइन स्टोर तथा सामाजिक सञ्जालमार्फत मात्रै नभएर हाल इको साथी नेपालले आफ्ना उत्पादन मार्टहरूमार्फत पनि बिक्रीमा राख्न थालेको छ। कार्की भन्छिन्, ‘हाल हाम्रो सामाग्री सातदोबाटो, महाराजगञ्ज, पोखरा लेकसाइड लगायतका पाँचवटा सेल्सबेरीमा उपलब्ध छन्। यसबाहेक, साना–ठूला पसलमा पनि हाम्रा कलम, ब्रसजस्ता सामान उपलब्ध छन्।’

व्यवसायसँगै सामूहिक विकासको यात्रा

कतिपय कार्यक्रममा जाँदा मनुको भेट आफ्नै ग्राहकसँग हुने गर्छ। जब कसैले इको साथीका उत्पादन प्रयोग गरिरहेको देख्छिन्, उनलाई सन्तोष र गौरव महसुस हुन्छ। यस्ता क्षणहरूले उनलाई उनको व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभएर सामूहिक चेतना र विकासको यात्रा भएको भान हुन्छ।

इको साथी नेपालले वर्षमा चारवटा कार्यक्रम पनि सञ्चालन गर्छ, जसले वातावरणमैत्री जीवनशैलीबारे सचेतना फैलाउने गरेको छ। डा. कार्की भन्छिन्, ‘Bring your own mug’, ‘मेरो महिनावारी हरियो’ जस्ता अभियानहरू सञ्चालन गरिरहेका छौं। यी कार्यक्रमहरूमा स्टल राख्ने भएकाले धेरैलाई वातावरणमैत्री सामग्रीसँग जोड्न पनि हामीलाई सहयोग मिल्छ।’

इको साथी नेपालले पृथ्वी दिवसका अवसरमा बालबालिकाका लागि चलचित्र प्रदर्शन गर्दै आएको छ। साथै, यसले वातावरणमा संलग्न उद्यमीलाई दर्शकसँग जोड्ने पोडकास्ट पनि चलाउने गर्छ।

मनुका अनुसार वातावरणमैत्री व्यवसायको वृद्धि सुस्त भए पनि त्यसको प्रभाव गहिरो हुन्छ। उनको अनुभवमा सफलता कहिल्यै छिट्टै आउँदैन, र आए पनि दीगो हुँदैन। बरू, ढिलो भए पनि स्थिर प्रगति नै दीर्घकालिन हुन्छ। उनी भन्छिन्, ‘ग्राहकले एउटा मात्र ब्रस किने पनि परिवारमा त्यस बारे चर्चा हुन्छ। र यो नै दीर्घकालिन रूपमा ठूलो प्रभाव पार्ने सरूवात हो। मैले एउटा सोचमा परिवर्तन ल्याउन सकें, र त्यो सोचले भोलि गएर समाजमा परिवर्तनको सम्भावना बोकेको छ भने मेरो सबैभन्दा ठूलो सफलता यहीँ नै हो।’

लेख सेयर गर्नुहोस्