Nep
Eng
Nep
Eng

This post is also available in: English

उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

नेपाली कांगेस महासमिति सदस्यसमेत रहनुभएकी प्रतिमा कोइरालाले तिहारमा अचारको माग बढेसँगै पर्वलक्षित परिकार बनाउने र बेच्ने योजना बनाएको उल्लेख गर्नुभयो।
तस्बिर: रासस

 


 

बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन्। आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन्।

राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका अचारका परिकार बनाएर बजारीकरण गर्ने योजना बनाएको बताउनुभयो। “त्यसपछि घरमा विभिन्न थरीका अचार बनाउन थालेँ। विस्तारै बजारीकरणमा पहल थालेपछि अचारले राम्रो बजार पायो र यसलाई निरन्तरता दिन थालेकी हुँ”, उहाँले भन्नुभयो।

नेपाली कांगेस महासमिति सदस्यसमेत रहनुभएकी कोइरालाले तिहारमा अचारको माग बढेसँगै पर्वलक्षित परिकार बनाउने र बेच्ने योजना बनाएको उल्लेख गर्नुभयो। “सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनका विभिन्न परिकार बनाउन थालेँ। बजारमा माग पनि प्रशस्त हुन थाल्यो। त्यसपछि महिला दिदीबहिनीसँग सेल, अनर्सा, खजुरी, पत्रे र नमकिनसहित आचार उद्योग सञ्चालनका लागि ‘पञ्चधुरा होममेड अचार’ उद्योग दर्ता गरेका हौँ”, उहाँले भन्नुभयो।

विज्ञापनहरू

पूर्व–पश्चिम लोकमार्गसँगै बर्दिबास–१ मा सञ्चालित ‘पञ्चधुरा होममेड अचार’ उद्योगको पृष्ठभूमिबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “पहिले एक्लै थिएँ, अहिले आफूजस्तै केही गरौँ भन्ने सोचका साथीहरूको समूहमा सहभागी भएका छौँ।”

आफूले थालेको उद्योगबाट उत्पादित वस्तुको माग धान्न नसकेपछि कोइरालाले छरछिमेकका दिदीबहिनी जुटाएर समूह बनाउनुभयो। यो समूह बन्न झण्डै एक वर्ष लागेको उहाँको अनुभव छ। 

विसं २०८१ भदौमा समूह बनेपछि पहिलेको नाममा पछाडि ‘उद्योग’ थपिएको उहाँले जानकारी दिनुभयो। “एघार जना महिलाको समिति बन्यो। यत्रो जनशक्ति थप्दा पनि समूहका महिलालाई काम भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो।

कोइरालाका अनुसार अहिले आँप, अमला, खोर्सानी, लसुन, अदुवा, सस्र्यू, लप्सीलगायत विभिन्न किसिमका अचार उत्पदान हुँदै आएको छ। महिला उद्यमीलाई प्रोत्साहित गर्ने आर एण्ड डी संस्थाकी अगुवा सुनिता निमाफुकीले थप हौसला दिनुभएको उहाँको भनाइ छ।

“सबैतिरबाट हौसला मिल्यो, मन मिल्दा मेहनती साथी मिले, हामी अघि बढ्याँै”, कोइरालाले भन्नुभयो, “मेरो परिकल्पना अब उद्योग बन्यो, ‘म’ थिएँ, अब हामी भइयो, यसलाई अब हामी नमुना बनाएर देखाउँछौँ।” समूहमा आबद्ध भएपछि महिला आत्मनिर्भर बन्दै गएको उहाँले बताउनुभयो।

गृहिणीबाट सामूहिक प्रतिबद्धतामा स्थापित उद्योगलाई अष्ट्रेलियन दातृसंस्था आइसिमोडले अचार बनाउन, मसला पिँध्न, पिठो तयार गर्न र चिस्यान राख्न फ्रिजसहित आवश्यक उपकरण (यान्त्रिक साधन) उपलब्ध गराएको छ। विसं २०८१ भदौमा समूह बने पनि घरबाट सञ्चालन हुँदै आएको उद्योग गत साउनदेखि पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको घरभाडा लिएर सञ्चालित छ। अहिले उद्योगको प्रदर्शनी तथा बिक्रीकक्ष उत्पादित अचारका बट्टाले सजिएका देखिन्छन्।

उद्योगमा सेल र बदाम (चना) को घुगनी (तरकारी) खान टाढाटाढाबाट ग्राहक आउने गरेका समूहकी सदस्य शारदा कोइरालाले जानकारी दिनुभयो। बिहान बेलुका अचार बनाउने र दिउँसो सेल र चनाको घुगनी बनाएर बेच्न गरेको उहाँले बताउनुभयो। बर्दिबासस्थित मालपोत, यातायात, आन्तरिक राजस्व तथा नापी कार्यालय, नेपाल टेलिकम र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आउने सेवाग्राही र कर्मचारी नियमित ग्राहक बनेका उहाँको भनाइ छ।

“यहाँको सेल र चनाको तरकारीको स्वाद जिब्रोमै भुण्डिएको छ”, मालपोत कार्यालय परिसरमा लेखापढी काम गर्ने रामबाबु न्यौपानेले भन्नुभयो, “दिदीबहिनीले उदाहरणीय कामसँगै आयआर्जन पनि गर्दै जानुभएको छ।”

पञ्चधुरा ‘होममेड’ अचार उद्योगमा आबद्ध ११ जना महिलाले एक वर्षअघि प्रतिव्यक्ति रु १० हजारका दरले लगानी गरी कारोबार सुरु गरिएको समूहकी सचिव उषा ढकालले बताउनुभयो। उहाँका अनुसार यो समूह अहिले महिलाका लागि सिक्ने र सिकेको सीप काममा लगाउने केन्द्र बनेको छ।

“समूहमा भएपछि एकअर्काको सीप र आपसी सल्लाहबाट धेरै कुरा जानिने रहेछ”, समूहमा आबद्ध लक्ष्मी कोइरालाले भन्नुभयो, “आगामी दिनमा थप परिकार विस्तार गरी महिलाको सङ्ख्य पनि थप्दै जाने योजना छ।” उद्योगमा महिलाको सामूहिक आबद्धताले आफ्नो आवश्यकता पूरा गर्न सहज हुनुका साथै आत्मनिर्भर बन्दै गइएको समूहका महिला बताउँछन्। प्रतिमाका अनुसार समूहमा आबद्ध महिलाको केही गर्ने अठोट र त्यसअनुसारको जाँगर देखेपछि आइसीमोडले सहयोग गरेको हो।

“यहाँका महिलामा केही गरौँ भन्ने सङ्कल्प छ, हामी उहाँहरूको यो प्रयत्नमा सहयोगी बन्न पाउँदा खुसी छौँ”, आइसीमोड मधेस कार्यालयका कृषि उपनिर्देशक इजाबेला कोजेलले भन्नुभयो, “यो उद्योगले राम्रो सफलता पाउने हाम्रो विश्वास छ।”

समूहका महिलाको सङ्कल्प र लगन उदाहरणीय रहेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताउनुभयो। “दिदीबहिनीले उदाहरणीय काम गरी हौसला देखाउनुभएको छ, उद्योगलाई अझ सुदृढ बनाउन र अन्य महिलालाई पनि विभिन्न आर्जनमूलक सीप सिकाएर काममा जोड्नका लागि म समन्वय गर्नेछु”, उहाँले भन्नुभयो।

“उहाँहरूमा सुदृढ सङ्कल्प र कामप्रतिको निष्ठा देखिन्छ”, उपपमुख महतोले भन्नुभयो, “यो सिको अरु महिलाले पनि अनुसरण गरुन्, नगरपालिकामा महिलाले प्रतिबद्धतासहितको प्रस्ताव ल्याएमा हामी सहयोग र समन्वय गर्नेछौँ।”

“यो काममार्फत राजनीति पेसा नभएर सेवाको क्षेत्र हो भन्ने सन्देश दिदैँछौँ”, बर्दिबास नगरपालिकाको नगर कार्यसमिति सदस्य लक्ष्मी कोइरालाले भन्नुभयो, “आयआर्जनमूलक काम व्यावसायिक रूपमा गर्दा आर्थिकस्तर सुधार हुनुका साथै आत्मनिर्भर बन्न सकिन्छ।”

आफूहरूप्रति समुदाय र विभिन्न निकायमा बनेको विश्वास समूहको ताकत भएको आबद्ध महिलाको भनाइ छ। उद्योगको सफल सञ्चालन गरेर महिला यतिसम्म गर्न सक्छन् भन्ने देखाउन पनि आफ्नो सामथ्र्य समूहमा लगानी गर्ने महिलाले प्रतिबद्धता व्यक्त गरेका छन्।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस