नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ सुरु, वैदेशिक लगानी आकर्षणमा केन्द्रित

नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ ले लगानीकर्ता, नेतृत्वकर्ता र साझेदारहरूलाई एकै स्थानमा ल्याएर दिगो विकास प्रवर्द्धन गर्ने र सहकार्य निर्माण गर्ने उद्देश्य राखेको छ।
Source: Invest for Impact Nepal | LinkedIn

 


 

नेपालमा वैदेशिक लगानी प्रवाह बढाउने उद्देश्यसहित नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ मंगलबारदेखि काठमाडौंको पुल्चोकस्थित द प्लाजामा सुरु भएको छ। तीन दिनसम्म चल्ने यो फोरमले अन्तर्राष्ट्रिय लगानीकर्ता, विकास साझेदार, वैकल्पिक लगानीकर्ता र सरकारी निकायहरूलाई एउटै मञ्चमा ल्याएको छ।

इन्भेष्ट फर इम्प्याक्ट नेपाल को आयोजनामा र नेपाल बैंकर्स संघ तथा नेपाल प्राइभेट इक्विटी संघ को सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रममा यसपटक १४ वटा विकास वित्तीय र इम्प्याक्ट इन्भेष्टमेन्ट संस्थाहरू सहभागी छन्। अघिल्लो वर्ष आयोजित पहिलो संस्करणमा आठ संस्था सहभागी थिए।

यस वर्षको फोरममा वैकल्पिक लगानी क्षेत्रलाई पनि समावेश गरिँदा, नेपालमा वैदेशिक लगानीको नयाँ सम्भावनाहरू थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

कार्यक्रमले नेपालमा लगानीका सम्भावनाहरू, नीति संवाद, प्राविधिक सत्र, र क्षेत्रीय अवलोकन भ्रमणहरू समावेश गर्दै लगानीकर्तालाई व्यवहारिक जानकारी प्रदान गर्नेछ। सहभागीहरूले जुन ४ तारिख बिहान ९ बजेदेखि दिउँसो १:३० बजेसम्म गोप्य रूपमा परियोजनाहरूमा छलफल गर्न एक-एकजनासँग भेटघाटको समय पनि पाउनेछन्।

फोरमको अन्तिम दिन विभिन्न इम्प्याक्ट परियोजनाहरूको अवलोकन भ्रमण हुनेछ, जसले लगानीकर्तालाई वास्तविक परियोजनाहरू र तिनको प्रभाव प्रत्यक्ष रूपमा बुझ्न सहयोग पुर्‍याउनेछ।

फोरमले राष्ट्रिय प्राथमिकतासँग लगानी उद्देश्यहरू समायोजन गर्न, लगानीकर्ताबीच दिगो साझेदारी बनाउने र पूर्वाधार, ऊर्जा, तथा उद्यमशीलता क्षेत्रमा विदेशी पूँजी आकर्षण गर्न भूमिका खेल्ने विश्वास लिइएको छ।

थप पढ्नुहोस्

थप पढ्नुहोस्