मसी देखि सफलता सम्म: चन्द्रागिरि डिजिटल प्रिन्टिङ्ग प्रेस

"यसले हाम्रो जीवनमा यति महत्व राख्छ भनेर सोचेकै थिएँनौ तर कडा परिश्रमको फल हामीले पाएका छौँ। हामी जे गर्दैछौँ त्यसबाट सन्तुष्ट छौँ।"
Photo by Aashish Thapa

काठमाडौंको सतुङ्गलमा सात वर्षअघि २०७३ सालमा ‘चन्द्रागिरि डिजिटल प्रिन्ट’ नामक प्रिन्टिङ हाउस र फ्रेम होलसेल व्यवसाय सुरु भएको थियो ।

कला र डिजिटल प्रिन्टिङप्रतिको आफ्नो लगावबाट प्रेरित भई सबिना खड्गी आफ्नो श्रीमान् कृष्ण पराजुलीका साथ स्थानीय र कलात्मक समुदायलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ यस व्यवसायको स्थापना गरेकी थिईन्। र आजसम्म आईपुग्दा त्यहाँको स्थानीय प्रिन्टिंग र फ्रेमिङ व्यवसायमा आफ्नो छुट्टै स्थान चन्द्रागिरि डिजिटल प्रिन्टले बनाएको छ।

तस्बिर: आशिष थापा | जानकारी

ठूला सपना बोकी सानोबाट सुरु गरिएको चन्द्रागिरि डिजिटल प्रिन्टले चाँडै नै आफ्नो पहिचान बनाउन सफल भयो। दर्ता गरेपछि व्यवसाय सतुङ्गलमा रहेको कार्यशालाबाट सञ्चालन गरियो जहाँबाट सबिना र कृष्णले संचालन व्यवस्थापन गरे।

भरपर्दो आपूर्तिकर्ताहरूबाट गुणस्तरीय कच्चा पदार्थ खरिद उनीहरुले गरे। हाल सिसा र फ्रेमहरू टेकु, कुलेश्वर र हेटौंडाका पसलहरुबाट, र प्रिन्ट र फ्रेम जस्ता अन्य कच्चा पदार्थहरू भारत र चीनबाट आयात गर्ने गरिएको छ।

संक्षेपमा चन्द्रागिरी डिजिटल प्रिन्ट

व्यवसायको नाम: चन्द्रागिरी डिजिटल प्रिन्ट

उत्पादन र सेवाहरू: डिजिटल प्रिन्ट र फोटो फ्रेम र ग्राहक ईच्छित फ्रेमिङ सुविधा

प्रारम्भिक वर्ष : २०७३ साल (७ वर्ष)

संस्थापक र व्यवासाय धनि: सबिना खड्गी र कृष्ण पराजुली (श्रीमती र श्रीमान्)

कर्मचारीहरू: ४ जना

व्यापार दर्ता: प्यान मा दर्ता 

शाखा: सतुङ्गल (चन्द्रागिरि नगरपालिका); अर्को ठेगानामा अर्को कार्यशाला खोल्ने योजना 

मासिक बिक्री मात्रा: हाराहार २,००० पिस भन्दा बढि

मासिक राजस्व: ६ लाख रुपैयाँ

उपकरण: क्यामेरा, एप्सन प्रिन्टर, पेपर कटर, फ्लेक्स मेसिन, फ्रेम कटर, फ्रेम एसेम्बलिङ मेसिन

कच्चा पदर्थ: ठूलो साइजका प्रिन्टहरू (भारत र चीनबाट); सिसाको फ्रेम, फ्रेम बोर्डर र पाइप (टेकु, कुलेश्वर, हेटौंडाबाट)

ग्राहक: फोटो स्टुडियो, होटल र रेस्टुरेन्ट, सहकारी, इन्टेरिअर डिजाइन र सजावटी व्यवसायी, स्थानीय व्यक्ति र कलाकारहरू

उत्पादन प्रक्रिया: पहिले सिशा र फ्रेम पाइपहरू आवश्यक आकारमा काटिन्छन्, त्यसपछि डिजाइन अनुसार कुना काटिन्छ र प्रिन्ट फ्रेमसँग जोडिन्छ। तयार सामान प्याकिंग गरि ग्राहकसम्म पुर्याईन्छ।

व्यापार सन्तुष्टि: व्यवसायले हाम्रो जीवनमा यति महत्व राख्छ भनेर सोचेकै थिएँनौ तर कडा परिश्रमको फल हामीले पाएका छौँ। हामी जे गर्दैछौँ त्यसबाट सन्तुष्ट छौँ।

उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण, चन्द्रागिरि डिजिटल प्रिन्टले थुप्रै व्यक्ति, व्यवसाय, कलाकार, ग्यालरी तथा इन्टेरियर डिजाइनरहरू लगायतका ग्राहकहरूलाई आकर्षित गरेको छ।

सबिना र कृष्णको जस्तै कला र शिल्पकलाप्रति लगाव राखेका साजन, सुजन र विवेक सहित चार दक्ष कर्मचारीहरूको टोलिलाई यस व्यवसायले रोजगारी दिएको छ। प्रत्येक काम उच्च गुणस्तरको भएको सुनिश्चित गर्न सबै मिलेर काम गर्छन्।

आफ्नो विशेषज्ञता र समर्पणको फलस्वरुप, चन्द्रागिरि डिजिटल प्रिन्टले उत्कृष्ट नतिजा ल्याउनेको रूपमा ख्याति कमाएको छ। लक्ष्य र दृढ इच्छाका साथ काम गर्नाले ग्राहक र आय निरन्तर रूपमा बढ्दै गयो।

हाल व्यवसायले मासिक रु. ६ लाख सम्मको आम्दानी गर्दैछ, जुन उनीहरूले आफ्ना ग्राहकहरूको विश्वासको प्रमाण भएको महसुस गर्छन्।

सेवाहरु विस्तार र चन्द्रागिरि फोटो फ्रेमिङ स्थापना

आफ्नो प्रिन्ट पसल र फ्रेम होलसेल व्यवसाय बाहेक सबिना खड्गी र कृष्णा पराजुलीले आफ्नो समुदायमा व्यक्तिअनुरूपको फोटो फ्रेमिङ सेवाको माग बुझेर फोटो फ्रेमिङको व्यवसायमा पनि लागे।

तस्बिरहरूसँग जोडिएको भावनात्मक मूल्य बुझेर सबिना र कृष्णले यी बहुमूल्य सम्झनाहरूलाई सुन्दर ढंगले संरक्षण र प्रदर्शन गर्दै विशेषत: विवाहका लागि कस्टम फ्रेमहरू बनाउन थाले । राम्रोसँग बनाईएको फ्रेमले सामान्य तस्विरलाई पनि अमुल्य तुल्याउन सक्छ भन्ने विश्वास सबिना र कृष्णलाई थियो।

भविष्यका बारे सोच्दा, सबिना र कृष्णासँग चन्द्रागिरी डिजिटल प्रिन्टका लागि महत्वाकांक्षी योजनाहरू छन्। उनीहरु आफ्नो व्यवसाय विस्तार गर्ने, नयाँ बजार खोज्ने र यस क्षेत्रमा अग्रस्थानमा रहन नवीन प्रविधिहरू समावेश गर्ने परिकल्पना गरिरहेका छन्।

 


फोटो तथा लेख: आशिष थापा