Nep
Eng
Nep
Eng

This post is also available in: English

तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

कृषिमा आधारित आयआर्जनका अवसर बढाउँदै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मौरीघार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो।
तस्बिर: रासस

 


 

जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम सञ्चालन गरिएको छ।

स्थानीयस्तरमै सीप विकास गरी व्यावसायिक मौरीपालनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका २० किसानलाई तालिम दिइएको हो। हालै सम्पन्न तालिममा सहभागीलाई सात दिनसम्म आधुनिक प्रविधिमा आधारित मौरीघार निर्माण गर्ने विधि, मौरी व्यवस्थापन, मौरीका रोग तथा कीरा नियन्त्रण, मह उत्पादन र बजार व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको छ।

तिम्मा क्षेत्र प्राकृतिक हिसाबले मौरीपालनका लागि उपयुक्त मानिन्छ। यहाँ नजिकै जङ्गल, विभिन्न प्रजातिका फूल, बिरुवा तथा स्वच्छ वातावरण रहेकाले मौरीका लागि आवश्यक चरन क्षेत्र सहज रूपमा उपलब्ध छ। मौरीपालन व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेकाले यसतर्फ किसानलाई प्रोत्साहन गर्न तालिम दिइएको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो।

कृषिमा आधारित आयआर्जनका अवसर बढाउँदै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ मौरीघार बनाउने तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो। “तिम्मा क्षेत्रमा मौरीपालनको राम्रो सम्भावना छ। हाल यहाँ परम्परागत रूपमा मौरीपालन भइरहेको छ। अब आधुनिक घार निर्माण र व्यवस्थापनसँग जोड्न सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने हाम्रो विश्वास छ। सोहीअनुसार तालिम दिएका हौँ”, वडाध्यक्ष राईले भन्नुभयो।

स्थानीय तहले आगामी दिनमा मौरीपालनलाई थप प्रवर्द्धन गर्न आवश्यक प्राविधिक सहयोग, सामग्री व्यवस्थापन तथा बजार पहुँचमा सहयोग गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो।
स्थानीय मौरीपालक कृषक दीपेन्द्र राउतले तालिम लिएपछि अब आफैँ आधुनिक घार निर्माण गर्न सहज भएको बताउनुभयो। तालिमका अवसरमा मौरीपालनसँगै आधुनिक घार निर्माणसम्बन्धी व्यवहारिक सीप हासिल गरेको उहाँले जानकारी दिनुभयो।

व्यावसायिक मौरीपालनमार्फत मह उत्पादनसँगै मौरीबाट परागसेचनसमेत हुने भएकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने कृषि विज्ञहरूको भनाइ छ।

लेख सेयर गर्नुहोस्

तस्बिर: रासस