Nep
Eng
Nep
Eng

This post is also available in: English

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन्।
तस्बिर: एलिना पराजुली | विकिमीडिया कमन्स

 


 

केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ। बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन्। अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ। उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम भएको छ भने आम्दानीसमेत बढेको छ।

जिल्लाका हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन्। यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ।

कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो। उहाँका अनुसार कफीका लागि उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ। नगरपालिकाका सबै १४ वटै वडामा कफीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेका छन्।

विज्ञापनहरू

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकामा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन्। मकै, आलुजस्ता परम्परागत बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फउन्मुख भएका हुन्। खोक्सिका कफीखेतीका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिने स्थानीय कृषक मनोज राईले बताउनुभयो।

यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको स्थानीय कफी व्यवसायीको भनाइ छ। विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको बताइएको छ।

पछिल्लो समय किसान व्यावसायिक खेतीमा जुटेसँगै उत्पादनसमेत वृद्धि भएको कफी बिक्रेता सुनील श्रेष्ठले जानकारी दिनुभयो। राम्रोसँग फलेको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिने किसानको अनुभव छ। खेती विस्तार बढेसँगै यहाँबाट निर्यात हुने कफीको मात्रा पनि वृद्धि हुँदै गएको उहाँको भनाइ छ। 

कफीखेतीको विस्तारले किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई सुदृढ बनाउने स्थानीय जानकारको भनाइ छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: एलिना पराजुली | विकिमीडिया कमन्स