काठमाडौं अहिलेजस्तो थिएन, जति बेला पहिलो पटक सञ्जय प्रसादले यहाँका गल्लीहरूमा पाइला चाल्न थालेका थिए।
सञ्जय पहिलो पटक काठमाडौं आउँदा नै आफूभन्दा अघि आएका दाइ तथा आफन्तहरूले गरेकै व्यवसायमा हात हाल्ने सोचेर आएका थिए। सञ्जयका दाइहरू काठमाडौंलाई फलफूल खुवाउँथे। उनी पनि काठमाडौं आएपछि त्यही काममा लागे। २२ वर्षअघिबाट सुरु भयो-जय फलफूल पसलको यात्रा।
काठमाडौंमा यति धेरै घरहरू थिएनन्। सायद, बागमती यति धेरै फोहोर पनि भइसकेको थिएन। सडकमा गाडीहरू अहिलेको जस्तो भिडभाडयुक्त थिएनन्। मान्छेहरूकै संख्या पनि अहिलेको जस्तो धेरै थिएन।
तर, व्यवसायको अवस्था भने त्यो बेला अहिलेकोभन्दा धेरै राम्रो भएको सञ्जय बताउँछन्।
सञ्जयले फलफूल बेच्ने यात्राको सुरुवात बागबजारमा टोकरीमा केरा राखेर बेच्न थालेसँगै सुरु भएको थियो। दाईहरू तथा आफन्तहरू पनि यही व्यवसायमा संलग्न भएकाले उनी पनि यसैतर्फ होमिएको बताउँछन्।
बागबजार क्षेत्रमा टोकरीमा केरा बेचेर सुरु भएको यात्रा केही वर्षपछि भने रातो पुलमा पसलमा रूपान्तरित भयो। ठाउँ भाडामा लिएर उनले जय फलफूल पसलको नामबाट पसल सुरु गरेका थिए।

२०७० सालमा सडक विस्तारको क्रममा उनको पसल पनि भत्काउनु पर्ने भएपछि हाल उनी रातो पुल नजिकै मैतीदेवी मोडमा दुई वटा सटर भाडामा लिएर फलफूलसँगै तरकारी पनि बेचिरहेका छन्। यही वर्षबाट उनले तरकारी पनि बेच्न थालेका हुन्। पूर्वाधार त्यही, बजार त्यही भएकाले फलफूलसँगै तरकारीमा पनि विस्तार भएको उनी बताउँछन्।
‘यो पसलसम्म आइपुग्न धेरै दुःख छ’, सञ्जय सम्झिन्छन्,’कता कता कसरी कसरी काम गरियो। सबै कुराहरू कसरी गरियो भनेर सोच्दा अचम्म पनि लाग्छ।’
जय फलफूल पसलमा भने हाल ताजा मौसमी फलफूलका साथै जुस, फ्रुट सलादलगायत पनि उपलब्ध रहेका छन्।
सञ्जय भन्छन्, ‘फलफूल पसलमा के हुन्छ। यही फलफूल हो। जुस बन्छ। फ्रुट सलाद बन्छ। त्यही त हो।’
२२ वर्षअघिको फलफूल व्यवसाय: स्थानीय उत्पादनमै निर्भर
सञ्जयले २२ वर्षअघि र हालको फलफूलको बजार हेर्दा एउटा ठुलो अन्तर पाउँछन्। अहिले बजारमा उपलब्ध फलफूल लगभग धेरै जसो अन्य देशबाट आयात भएको हुन्छ।
तर, जब सञ्जयले व्यवसाय सुरु गरेका थिए, त्यो बेलाको अवस्था यस्तो थिएन। उनी भन्छन्, ‘सुरुवातमा फलफूल व्यापार गर्नेहरू अहिलेजस्तो थिएनन्। धेरै फलफूल हुन्थेन। प्रकारहरू धेरै थिएन।’
यी सबैका बिच अत्यन्तै महत्त्वपूर्ण पक्ष भने त्यत्ति बेला स्थानीय फलफूलकै व्यापार धेरै हुन्थ्यो। सञ्जयकाअनुसार आयात सहज नभएका कारण बजारमा स्थानीय र स्वदेशी फलफूलकै दबदबा थियो।
‘त्यति बेला फलफूल डोकोमै आउँथ्यो’, उनी भन्छन्, ‘पाँच सय रुपैयाँमा एक डोको फलफूल आउँथ्यो। १० देखि २० रुपैयाँ किलोमै बेचिन्थ्यो।’
यसरी ल्याएको फलफूल हप्ता दिनसम्म पनि टिक्थ्यो। रासायनिक औषधीको प्रयोग नभई प्राकृतिक र जैविक मलको प्रयोगबाट उत्पादन भएको फलफूल भएका कारण पहिलाको फलफूलको आयु धेरै हुने गरेको सञ्जयको बुझाई छ।
उनी भन्छन्, ‘पहिला ल्याएको फलफूल ५-६ दिन त मजाले टिक्थ्यो। अहिले त औषधिको प्रयोग भएकाले १-२ दिनमै बिग्रिन्छ। व्यापार पनि पहिलाको जस्तो सन्तोषजनक छैन।’
फलफूल पनि अहिले धेरै प्रकारको आउन थालेको र यसको स्रोत नेपाल नभई विदेश भएको सञ्जय बताउँछन्।
भन्छन्, ‘स्वदेशमै उत्पादित त निकै कम आउँछ अहिले। पहिलाको जस्तो छैन।’
गत आर्थिक वर्षमा नेपालले बाह्र अर्ब बारबारको त स्याउ मात्रै आयात गरेको छ।
आम्दानी बढ्यो, महँगी झन् बढ्यो
समयसँगै काठमाडौं रूप फेरिँदा यहाँ व्यापारको आकार बढ्न थालेको सञ्जय बताउँछन्। मानिसको संख्यासँगै फलफूलको खपत पनि एक हिसाबले बढेको छ।
आफ्नो आम्दानी पहिलाको भन्दा धेरै भएजस्तो देखिए तापनि महँगी भने आम्दानीको तुलनामा झन् धेरै बढेको सञ्जय बताउँछन्। जसले गर्दा उनलाई व्यवसाय सञ्चालन गर्न, काठमाडौंमा परिवार हुर्काउन र केही बचत गर्न हम्मे हम्मे पर्छ।
आफ्नो जस्तो अवस्था उपभोक्ताको पनि भएकाले फलफूलको खपतमा कमी आएको उनी ठान्छन्।
अहिले पनि दुई दशकदेखि चलिरहेको जय फलफूल पसललाई सामान ल्याउन खासै समस्या छैन। होलसेल व्यवसायीहरूको विश्वास जितेका कारण सञ्जयलाई कतिपय सामान उधारोमै ल्याएर, बिक्री भएपछि पैसा तिर्न सजिलो हुन्छ।
उनी भन्छन्, ‘हामी पुरानो मान्छे भएकाले उधारो चल्छ।’
सञ्जयले २०६० सालमा फलफूल व्यवसाय सुरु गर्दा पसलको मासिक भाडा मात्र १७ सय रुपैयाँ थियो।
सञ्जय सम्झन्छन्, ‘त्यो बेला पनि दैनिक पाँच हजार रुपैयाँ बराबरको व्यवसाय हुन्थ्यो। त्यसमा धेरै मार्जिन पनि हुन्थ्यो। तर, अहिले महँगीका कारण त्यस्तो छैन।’
सञ्जयको अनुभवले भन्छ– अहिले मान्छेको कमाई र खर्चको अनुपात उत्तिकै नबढेका कारण ग्राहलाई फलफूल किन्न पनि मुस्किल छ।
उनी पहिला पाँच किलो बिक्री हुन्थ्यो भने अहिले एक किलो पनि कठिन रहेको बताउँछन्।
‘महँगी यति धेरै छ, सबैले फलफूल किनेर खान सक्दैनन्। यसरी त किन्नेलाई पनि गाह्रो छ, बेच्नेलाई पनि,’ उनी जोड दिन्छन्।
जय फलफूल पसलमा हाल व्यापार सुस्ताएको छ। दैनिक १०–१५ हजारको व्यवसाय हुन्छ। त्यसमा २० प्रतिशत जति नाफा हुने सञ्जय बताउँछन्।
उनी भन्छन्, ’१० हजारको व्यवसाय हुँदा १,५०० रुपैयाँ नाफा बस्छ। पहिला योभन्दा राम्रो अवस्था थियो।’
तर, व्यवसायमा फलफूल कुहिने समस्या पनि उत्तिकै छ। केही प्रतिशत त्यहाँबाट पनि नोक्सान हुने सोचेर अघि बढ्नु पर्छ।
सञ्जय भन्छन्, ‘एउटा अनार कुहिनु भनेको १०० रुपैयाँको घाटा लाग्नु हो। यो कुरा हामीले कन्ट्रोल पनि गर्न सक्दैनौ। महँगा फलफूल कुहिँदा मार्जिन कम बस्छ।’
फलफूल व्यवसायको चुनौती
एकातिर व्यवसायमा आएको सुस्तता त छ नै, फलफूल व्यवसायमा अन्य पनि चुनौतीहरू उत्तिकै रहेको बताउँछन् सञ्जय।
‘सामान धेरै मात्रामा ल्याउनु पर्ने, तर खुद्रामा बेच्नु पर्ने भएकाले कुहिने र बिग्रिने डर धेरै हुन्छ। औषधी प्रयोग भएका फलफूल छिट्टै कुहिएर र बिग्रिएर जान्छन्। ५० किलो आँप ल्याउँदा १० देखि १५ किलो बिग्रिन्छ।’
बजार सुस्त हुँदा वा ग्राहकले थोरै मात्र फलफूल किनिरहेको बताउँछन् सञ्जय। ग्राहकले छानेर लिँदा बचेको फलफूलले घाटा थप्ने बताउँछन् उनी।

सञ्जयका अनुसार नयाँ व्यवसायीका लागि पनि फलफूल व्यवसायमा जम्न निकै गाह्रो छ।
‘फलफूल छिट्टै बिग्रिने भएकाले नयाँ व्यवसायीले धेरै कुरा बुझ्न आवश्यक हुन्छ।’
राज्यप्रति अपेक्षा र गुनासो
राज्यका तर्फबाट पनि फलफूल व्यवसायीलाई सहजीकरण गरिदिनु पर्ने कुरामा जोड दिन्छन् सञ्जय।
‘बल्खु, कालीमाटी जस्ता थोक बजारमै चेकजाँच भए व्यवसाय सहज हुने थियो। चर्को भाडा, बढ्दो महँगी र अत्यधिक करले काम गरेर खान गाह्रो भएको छ।’
२२ वर्षको अनुभव बोकेका सञ्जय अझै पनि फलफूल व्यवसायमै लागिपरेका छन्। व्यापार मन्द भए पनि परिवारलाई यही व्यवसायले धानेको छ।
सुरुवातमा केही हजारको लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले बिस्तार भएर लाखौँ लगानीको भएको छ। दुई दशकभन्दा लामो समयमा उनले काठमाडौंमा आएका परिवर्तन र उतारचढाव सबै देखेका छन्।
एक हिसाबले काठमाडौँको विकास र उनको फलफूल व्यवसाय सँगसँगै हुर्किएको छ भन्दा पनि फरक पर्दैन।
सञ्जयलाई अचेल भने बेलाबेला लाग्छ– सबै कुरा छाडेर गाउँ नै फर्किदिऊँ। तर, त्यसो गर्न पनि असहज छ।
आजसम्म उनले यही पसलको आम्दानीमा चार जना सन्तानलाई हुर्काउँदै र पढाउँदै छन्। परिवारका सबै सदस्य कुनै न कुनै रूपमा पसलमै सहयोग गर्छन्।
उनी भन्छन्, ‘अब यहि व्यवसायले यहाँसम्म ल्यायो। सकेसम्म त यहि नै गरिरहन मन छ।’