हिमालदेखि घरसम्म: देशी ग्रबले जडीबुटी जनतासम्म पुर्‍याउँदै

चार्टर्ड एकाउन्टेन्ट पेशामा रहेका कविन्द्रनाथ मोदीको आयुर्वेद र होमियोप्याथी प्रतिको रुचिले उनलाई देशी ग्रब स्थापना गर्न प्रेरित गर्‍यो—यस्तो कम्पनी जसले उनको वित्तीय विज्ञतालाई नेपालको जडीबुटी सम्पदा जोगाउने र दिगो, स्वास्थ्यकेन्द्रित उत्पादनहरू बजारमा ल्याउने लक्ष्यसँग जोड्दछ।
तस्बिर: देशी ग्रब

नेपालमा १,७०० भन्दा बढी औषधीय र सुगन्धित वनस्पतिहरू पाइन्छन्, जसमध्ये १०० भन्दा बढी व्यावसायिक रूपमा कारोबार गरिन्छ। विश्व बैंकको सन् २०१८ को अध्ययन अनुसार औषधीय र सुगन्धित वनस्पतिहरू सम्बन्धी उद्योगहरूले नेपालको कुल गार्हस्थ उत्पादनमा कम्तीमा ५% योगदान गर्छन्—साथै यो पहाडी तथा हिमाली क्षेत्रका ग्रामीण समुदायको आयको मुख्य श्रोत पनि बनेको छ।

यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपालले अधिकांश जडीबुटीहरू कच्चा वा न्यून प्रशोधित रूपमा मात्र निर्यात गर्छ, जुन प्रायः ब्रान्डबिहीन र थोकमा बेचिन्छन्।  यसैबीच, जडीबुटी उत्पादनहरू प्रतिको बलियो अन्तर्राष्ट्रिय मागले नेपालका लागि प्रशोधन, प्याकेजिङ, र ब्रान्डिङमार्फत आवश्यक तेल, चिया, सौन्दर्य प्रसाधन जस्ता जडीबुटी उत्पादनहरूमा आधारित ठूलो सम्भावना प्रस्तुत गरेको छ। तर, यो क्षेत्र कच्चा पदार्थहरूको अवैध निकासी र नेपालकै जडीबुटी स्रोतहरूबाट बनेका आयातित उत्पादनहरूमा निर्भर हुनुका कारण अझै सीमित अवस्थामा रहेको छ।

यिनै समस्याहरूको समाधान र अवसरहरूको उपयोग गर्ने उद्देश्यले देशी ग्रब जस्ता स्थानीय उद्यमहरू अगाडि आएका छन्, जसले जडिबुटीलाई स्वदेशमै जडीबुटी प्रशोधन गरी उच्च गुणस्तरीय उत्पादनहरू ग्राहकसम्म पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेका छन्।

कम्पनीको कथा सन् २०१९ को अक्टोबरमा सुरु हुन्छ—कोरोना महामारी सुरु हुनु केहीअघि। ग्रब टिमले एउटा स्थानिय मेलामा भाग लिए जहाँ उनीहरूले आफ्नो सुरुआती उत्पादनहरू—सिस्नुको सुप (जसलाई क्यान्सरविरोधी गुण भएको मानिन्छ) र करीपातको पाउडर—प्रदर्शन गरे। उनीहरूको पहिलो ग्राहक पूर्वराजकुमारी हिमानी शाह थिइन्, जसको उत्साहजनक प्रतिक्रियाले टोलीलाई व्यावसायिक रूपमा उत्पादन सुरु गर्न ठूलो प्रेरणा दियो।

सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरस फैलिन थाल्यो र अन्ततः विश्वव्यापी लकडाउन भयो। आयुर्वेद होस् या आधुनिक चिकित्सा, दुवैसँग महामारीको निश्चित उपचार थिएन। यसले मानिसहरूमा आयुर्वेदिक जडिबुटीहरूको प्रयोगबारे चेतनाको अभाव पनि देखायो। जसकारण धेरैले अदुवा, बेसार, मरिच, जिराजस्ता पदार्थहरू अन्धाधुन्ध प्रयोग गर्न थाले, जसको साइड इफेक्ट्स पनि देखा परे—जस्तै पाचनमा, शरीरको तातोपन असन्तुलन, र बवासीरजस्ता समस्या।

यस्तो अवस्थालाई मध्यनजर गर्दै देशी ग्रब टोलीले एउटा सुरक्षित स्वास्थ प्रतिरक्षा प्रणाली मजबुत पार्ने चिया तयार गर्‍यो—जसमा हर्रो, बर्रो, अमला, जेष्ठमधु, र गुर्जोको जराको सन्तुलित मिश्रण थियो। यो मिश्रण २ वर्षदेखि ९० वर्षसम्मका लागि सुरक्षित रहेको दाबी कम्पनीको छ। उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाएपछि चार्टर्ड एकाउन्टेन्ट पेशामा रहेका कविन्द्रनाथ मोदीले कम्पनीलाई औपचारिक रूपमा २०२१ मा दर्ता गरे।


“हामीले एक लाख रुपैयाँको प्रारम्भिक लगानी र दुईवटा उत्पादनबाट सुरु गरेका थियौं,” मोदी भन्छन्। “आज हामीसँग ४० भन्दा बढी उत्पादन छन् र २०२५ को अन्त्यसम्ममा १०० भन्दा बढी उत्पादन पुर्‍याउने लक्ष्य राखेका छौं।”

“जसरी फरक ठाउँका मानिसको शारीरिक शक्ति फरक हुन्छ, जडिबुटीको गुण पनि तिनको उत्पत्तिस्थान अनुसार फरक हुन्छ,” मोदी स्पष्ट पार्छन्। त्यसैले उनीहरूले मुख्यतया हिमाली क्षेत्रबाट जडिबुटी सङ्कलन गर्छन् र किसानहरूसँग सिधा सहकार्य गर्छन्।

बिचौलियाको भूमिका घटाएर गुणस्तर कायम राख्ने र किसानलाई उचित मूल्य दिन यो तरिका अपनाइएको हो। हुम्ला र जुम्लाका किसानहरूसँग सहकार्य गर्दै कम्पनीले उच्च हिमाली भूभागमा उम्रने गुणस्तरीय जडिबुटी प्रयोग गर्छ।

देशी ग्रबले केवल उत्पादन बिक्रीमा मात्र सीमित नरहेर उपभोक्तालाई शिक्षित गर्ने प्रयास पनि गर्छ। प्रत्येक प्याकेजमा सामग्रीको सूची दिइएको हुन्छ र आफ्नै बगैंचामा जडिबुटी खेती गर्न प्रेरित गरिन्छ। “यो तरिकाले ग्राहकलाई सशक्त बनाउँछ र पारदर्शिता कायम राख्छ,” मोदी बताउँछन्।

कम्पनीका अनुसार आफ्नो लोकप्रिय उत्पादनहरूमध्ये १० भन्दा बढी प्रकारका हर्बल चिया छन्—जसमा कुनै पनि रासायनिक तत्व, कृत्रिम रंग, वा संरक्षकहरू प्रयोग गरिएको छैन। गुलाफ, क्यामोमाइल, ब्लु पी, पेपरमिन्ट, थाइम, लेमनग्रास जस्ता फ्लोरल चिया सुरक्षित रूपमा प्याक गरिन्छन्। पिप्ली, असुरो, कुटुकी, किरकुट रिङ्गी, र स्टेभिया जस्ता जडिबुटी प्रयोग गरेर तयार गरिएका फोक्सो र कलेजो सफा गर्ने चिया प्रतिरोधात्मक शक्ति वृद्धि, शरीर शुद्धिकरण, र अङ्गहरूको स्वास्थ्य सुधारमा लक्षित छन्।

उत्पादनहरूमध्ये भाङ्ग (अंग्रेजीमा हेम्प) को बीउ तेल र हेम्पओ तेल पनि छन्—जहाँ “ओ” को अर्थ अन्य हो, जसमा भाङ्गको तेललाई जंगली लसुन, डटेलो र हिमाली बन्य चेरीजस्ता अन्य वनस्पतिको तेलसँग मिसाइएको हुन्छ।

भाङ्गको बीउ तेल टिएचसी (टेट्राहाइड्रोक्यानाबिनोल) मुक्त हुन्छ, अर्थात् यसमा मानसिक प्रभाव पार्ने कुनै नशालु तत्व हुँदैन। यो तेल कोल्ड प्रेसिङ्ग प्रविधिबाट (त्यो विधि जसमा बीउ वा फलफूललाई तातो प्रयोग नगरी, कम तापक्रममा थिचेर तेल निकालिन्छ) तयार गरिन्छ, जसले १:३ को उत्तम ओमेगा फ्याटी एसिड अनुपात प्रदान गर्छ, सम्पूर्ण ९ वटा आवश्यक एमिनो एसिड दिन्छ, र मानसिक स्वास्थ्य, मुटु स्वास्थ्य तथा छालाको हेरचाहका लागि उपयोगी हुन्छ।

मोदीका अनुसार, हेम्पओ विशेष गरी पीडाको निवारणका लागि तयार गरिएको तेल हो। “अन्य तेलजस्तो धेरै प्रयोग गर्नु पर्दैन—सानो मात्रामा नै प्रभावकारी हुने भएकाले यो दिगो र किफायती हुन्छ,” उनी भन्छन्।

“यो नै हाम्रो मुख्य विशेषता हो—हाम्रा उत्पादनहरू सानो मात्रामा नै असरदार हुने बनाइएका छन्, जसले स्वास्थ्यलाई सहज र किफायती बनाउँछ,” मोदी थप स्पष्ट पार्छन्।

तर, देशी ग्रबको यात्रा सजिलो थिएन। छैन। आवश्यक प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्न सरकारी प्रक्रिया लामो, ढिलो, र झन्झटिलो भएको मोदी बताउँछन्। “सरकारी प्रयोगशालाका केही मेशिनहरूले राम्रो काम गर्छन् भने केहीले आवश्यक मापदण्ड पुरा गर्दैनन्। निजी संस्थाहरूले छिटो सेवा दिन्छन् तर महँगो पर्छ।”

त्यसैले कविन्द्रनाथले सरकारलाई स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने, सरल प्रमाणिकरण प्रक्रिया लागू गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको जडिबुटीको हिस्सेदारी बढाउनेतर्फ ध्यान दिन आग्रह गर्छन्।

अरू चुनौती भनेको देशको यातायात र ढुवानी संरचना हो, किनभने अधिकांश कच्चा सामग्रीहरू हुम्ला, जुम्लाजस्ता कठिन भूगोलमा पर्ने ठाउँहरूबाट सङ्कलन गरिन्छ, जहाँ हवाई यातायातमा भर पर्नु पर्छ। धेरै आपूर्तिकर्ता प्यान वा भ्याटमा दर्ता नभएकाले कागजी प्रक्रिया थप जटिल हुन जान्छ।

मोदीका अनुसार देशी ग्रबमा पोषण वा गुणस्तरमा कुनै सम्झौता हुँदैन। ताजापन र सुरक्षाका लागि भारतबाट ल्याइएको फुड ग्रेड ग्लास प्याकेजिङ्ग प्रयोग गरिन्छ—जसले लागत बढाउँछ। साथै यातायात खर्च उच्च भएकाले कम्पनीले सानै मुनाफामा भएपनि काम गर्छ। उदाहरणका लागि, ६० ग्रामको हर्बल चिया, जसबाट करिब १०० कप बन्न सक्छ, ६०० रुपैयाँमा बिक्री हुन्छ।

“हाम्रो उद्देश्य मात्र मुनाफा कमाउनु होइन—जनतालाई जडिबुटीको साँचो मूल्य सिकाउनु हो,” मोदी भन्छन्।

कम्पनीले जापानी ‘कैजन’ दर्शनलाई अनुसरण गर्छ—अर्थात निरन्तर सुधार। उनीहरूको रणनीति ‘संगठित र दिगो वृद्धि’ मा आधारित छ। हरेक महिना कम्तीमा दुई नयाँ उत्पादन बजारमा ल्याउने लक्ष्यसहित अनुसन्धान र विकासमा मुनाफा पुन: लगानी गरिन्छ, जसले कम्पनीलाई सान्दर्भिक बनाइराख्छ।

भाङ्गको तेल र चियाका अतिरिक्त, देशी ग्रबका अन्य उत्पादनहरूमा एप्रिकट बीउको तेल, अनुहारमा प्रयोग हुने इलिक्सिरहरू, जडीबुटीबाट बनेका तेलहरू, ‘नवत्ता’ कपालका लागि तेल, रोल-ऑन उपचारहरू, क्लिन एयर इलिक्सिर, तथा आयुर्वेदिक मसाज तेलहरू समावेश छन्।

५ लाखदेखि १ करोडसम्म, अब १५ करोडको लक्ष्य

चार वर्ष भित्रमा देशी ग्रबको वार्षिक कारोबार ५ लाख रुपैयाँबाट १ करोड रुपैयाँ नाघेको छ। अब कम्पनीले अर्को ३ देखि ५ वर्षमा १५ करोडको कारोबार पुर्‍याउने लक्ष्य राखेको छ।

यसका लागि कम्पनीले अर्को वर्षबाट निर्यात सुरु गर्ने योजना बनाएको छ। हाल भारतमा आवश्यक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया र परीक्षण कार्य जारी छ, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सहमति प्राप्त गर्न सहयोग पुर्‍याउनेछ। साथै, गुणस्तर कायम राख्दै उत्पादन क्षमतामा वृद्धि गर्न कम्पनीले नयाँ तेल प्रशोधन यन्त्र, पिसाइ मेसिन र प्याकेजिङ उपकरणमा लगानी गरिरहेको मोदी बताउँछन्।