स्टार्टअप डिस्कभरी एशिया (एसडीए)को क्लाइमेट च्याम्पियन प्रतियोगिता गत कार्तिकमा सम्पन्न

जलवायु परिवर्तन सम्बन्धि विभिन्न प्रविधियुक्त समाधानहरुको प्रतियोगितामा एग्री डाइरेक्ट ग्लोबल’ले शीर्ष सम्मान जितेको थियो जसले जैविक फोहोरलाई प्रोटिनयुक्त पशु आहारमा रूपान्तरण गर्छ।
एग्री डाइरेक्ट ग्लोबल; स्टार्टअप डिस्कभरी एशिया (एसडीए) का विजेता

गत कार्तिक २८ मा एग्री डाइरेक्ट ग्लोबलले नेपालमा स्टार्टअप डिस्कभरी एशिया (एसडीए) द्वारा आयोजना गरिएको क्लाइमेट च्याम्पियन प्रतियोगिताको शीर्ष विजेताको रूपमा उभिएको छ।  सानेपाको इडेन एम्फीथिएटरमा आयोजित कार्यक्रमले निर्णायकहरुको प्यानलमा आफ्नो जलवायु परिवर्तन सम्बन्धि समाधानहरू प्रस्तुत गर्न अन्तिम सात स्टार्टअपहरू उभिएका थिए।

एग्री डाइरेक्ट ग्लोबल प्रतियोगितामा सबैभन्दा नवीन, स्केलेबल र प्रभावकारी स्टार्टअपको रुपमा सम्मानित भएको थियो जसले ‘ब्ल्याक सोल्जर फ्लाई’ नामक किटको लार्वाको प्रयोग गरेर जैविक फोहोरलाई प्रोटिनयुक्त पशु आहारमा रूपान्तरण गर्छ। यो समाधानले फोहोर व्यवस्थापन र दिगो पशु दाना उत्पादन दुवैलाई सम्बोधन गर्दछ।

जलवायु कार्यमा केन्द्रित नेपाली स्टार्टअपहरूलाई सशक्त बनाउन डिजाइन गरिएको प्रतियोगितामा १२२ आवेदकहरूको आवेदन पाएको थियो।

अन्य विजेताहरूमा सबैभन्दा प्रभावकारी स्टार्टअपको रूपमा ‘सकल बायो इन्जाइम नेपाल’ थियो भने आरभीएम नेपाल सबैभन्दा स्केलेबल स्टार्टअपको रुपमा सम्मानित भएको थियो। 

सकल बायो इन्जाइम नेपालले जैविक फोहोरबाट बनेको वातावरणमैत्री क्लिनरको विकास गरेको छ भने आरभीएम नेपालले एआई नियन्त्रित चिस्यान सुविधालाई थर्मल उर्जा भण्डारणसँग जोडेको छ। 

एग्री डाइरेक्ट ग्लोबलले नगद रु १ लाख जितेको हो भने सकल बायो इन्जाइम नेपाल र आरभीएम नेपालले प्रति रु ५०,००० नगद पुरस्कार पाए।

अन्य सहभागीहरुमा ‘क्लाइमेट्रेस’ ले कार्बन उत्सर्जनको निगरानी गर्दै त्यसलाई कम गर्न मद्दत गर्न सास प्लेटफर्मको प्रस्तुति गरेको थियो। त्यस्तै इन्द्र बराह पाइप उद्योगले प्लास्टिकको फोहोरलाई कृषि र सिँचाइका लागि दिगो पाइपमा पुन: निर्माण गर्ने; ‘वायु दृष्टि’ले नेपालमा वातावरणीय तथ्यांकको उपलब्धता र जलवायु साक्षरता सुधार गर्न काम गर्ने; र ‘ग्रेभोल्युसन’ले चिसो, हरियाली शहरहरू सिर्जना गर्न वनस्पतिहरूलाई सहरी डिजाइनहरूमा एकीकृत गरेर शहरी क्षेत्रको तातोपनाको प्रभावसँग लड्ने लक्ष्य राखेको छ।

प्रतिस्पर्धाको क्रममा आयोजकले जलवायु-केन्द्रित स्टार्टअपहरूकालागि वित्तीय पहुँचमा सहयोग गर्ने नयाँ प्लेटफर्म ‘अल्फा एन्जलस’ को अनावरण पनि गरेको थियो।

यो प्रतियोगिता नेपाली स्टार्टअपहरूलाई स्थानीय र विश्वव्यापी रूपमा जलवायु परिवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्न आवश्यक स्रोतहरू, दृश्यता र सहायता प्रदान गर्ने आयोजकको बृहत उदेश्यको एक हिस्सा हो।