विगत वर्षको तुलनामा गएको वर्ष मह उत्पादनमा उल्लेखनीय गिरावट आएको देखिएको छ। नेपाल मौरीपालक महासङ्घका अनुसार आर्थिक वर्ष २०८१ मा मह उत्पादन १,०७० टनले घटेर ३,८७५ टनमा सीमित भएको छ, जबकि २०८० मा उत्पादन ४,९४५ टन रहेको थियो।
मह उत्पादनमा आएको गिरावटका कारणबारे जानकारी दिँदै महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेले अघिल्लो वर्षको मह बिक्री नभएको, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली तथा मिसावटयुक्त महको बिगबिगी जस्ता समस्या प्रमुख भएको बताए। उनका अनुसार यस्ता चुनौतीहरूले किसानको उत्साह घटाएको र व्यवसायिक मौरीपालनबाट किसान पलायन हुने जोखिम बढाएको छ।
किसानको सङ्ख्या बढे पनि उत्पादनमा गिरावट
महासङ्घका तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा मौरीपालक किसानको संख्या बढेर ८,१०० बाट ८,३९८ पुगेको छ। यद्यपि, व्यावसायिक मौरीपालन गर्ने किसानको संख्या भने घटेर १,९६५ बाट १,५६८ मा झरेको छ। मेलीफेरा जातको मौरी पालन गर्ने अधिकांश व्यावसायिक किसानहरूको संख्या घटेको हो।
दोस्रोतर्फ, घरेलु स्तरमा पालिने सेरेना मौरी पालनमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष ६,१३५ किसानले सेरेना मौरी पालेका थिए भने यो वर्ष संख्या बढेर ६,८३० पुगेको छ। २०८१ मा कुल ९१,४३५ मेलीफेरा र १,८०,५७८ गोला सेरेना मौरी पालन गरिएको महासङ्घले जनाएको छ।
मौज्दात महमा समेत गिरावट
मह उत्पादन घटेसँगै मौज्दात महको परिमाण पनि उल्लेखनीय रूपमा घटेको छ। २०८० मा मौज्दात महको मात्रा ३,१४३ टन रहेकोमा २०८१ मा घटेर केवल १९७ टन मात्रै रहेको छ। यसले बजारमा महको अभाव हुने सम्भावनासमेत बढाएको छ।
अध्यक्ष घिमिरेले लगानीको अभाव, बजारको सुनिश्चितता र नीति–गत स्पष्टताको कमीले मौरीपालन व्यवसाय संकटमा परेको चेतावनी दिएका छन्। उनले सरकार तथा सम्बन्धित निकायहरूलाई किसानको संरक्षण र मह उत्पादन प्रवर्द्धनतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन्।