बुवा-आमाले गर्दै गरेको तरकारी खेतीलाई निरन्तरता दिंदै मनोज मेहता

उनी भन्छन्, “लगनशीलताका साथ कृषि गर्न सकियो भने धेरै फाईदा छ ।”

(यो कथा नेपाल सरकार कृषि विभागको वेबसाइटमा ७ फाल्गुन २०७७ मा प्रकाशित भएको हो ।)


 

कतारमा नौ वर्ष कामदारको रुपमा रहेका भोक्राहा-२, सुनसरीका मनोज कुमार मेहता शुरुका वर्ष सम्झदा अझै पनि अत्तालिन्छन् । 

घरबाट रु. २ लाखको ऋण गरेर गएको र पहिलो वर्ष जम्मा ४० हजार रुपियाँ बचाउन सक्दाको पिडा उनी पोख्छन् । समयक्रमसंगै राम्रै कमाई गरेता पनि उनी आफ्नै देशमै बसि केहि गर्नु पर्छ भनेर फर्केर आए ।

विदेशबाट फर्केर आएपछि उनले आफ्नो बुवा-आमाले गर्दै गरेको तरकारी खेतीलाई निरन्तरता दिए । 

हाल ७ कठ्ठा जग्गामा उनले विभिन्न तरकारी खेती गरिरहेका छन् । उनी भन्छन्, “लगनशीलताका साथ कृषि गर्न सकियो भने धेरै फाईदा छ ।” भविष्यमा आफ्नो तरकारी खेतीलाई विस्तार गरेर लैजाने कुरामा उनी जोड दिन्छन् ।

विदेशमा जान चाहने नयाँ युवाहरुको लागि मनोज भन्छन्, “विदेशको कमाई भनेको सोहि समयको लागि मात्र हो, दिगो रुपमा आम्दानी गर्नकोलागि आफ्नै देशमा लगानी गर्नुपर्छ । पहिले पहिले सरकारबाट धेरै सहयोग थिएन तर अहिले कृषकहरुले पनि सरकारबाट धेरै साथ र अनुदान पाइरहेका छन्, त्यसैले कृषि पेशा एउटा निकै राम्रो लगानी गर्न र आम्दानी लिन सकिने ठाँउ हो ।”