बसिको बल्चा: लाजिम्पाटको एक सानो कटेज क्याफे संचालन गरिरहेका पूर्व कृषक

लाजिम्पाटको शान्त आवासीय पर्खालहरुको बिचमा महर्जन दम्पतीद्वारा सञ्चालित एक सानो कटेज रेस्टुरेन्टको कथा।
Basiko Balchha Café's banner

लाजिम्पाटको नर्सरी रोडमा नवनिर्मित वडा कार्यालय भवनपारिको साँघुरो गल्लीको अन्त्यमा – नेवारी भाषा नजान्नेहरुलाई अनौठो नाम गरेको क्याफे, बसिको बल्चा  रहेको छ।

सडकको नाम प्रतिविम्बित हुनेगरी, २.५ आनामा फैलिएको क्याफे परिसरमा भित्ते लतादेखि अम्बा, सुन्तला र भोगटे रूखहरु जस्ता विभिन्न प्रकारका बोटबिरुवाहरू लगाईएका छन्। तिनले छाड्ने सुवास भान्साकोठामा पाक्दै गरेको परम्परागत नेवारी वा कान्टिनेन्टल परिकारको गन्धसँग सम्मिश्रित भई क्याफेको शान्त वातावरणलाई प्राकृतिक ताजगी दिईरहेको अनुभूति आगन्तुकहरुले गर्न सक्छन्।

 

 

यस व्यवसाय पछाडि छन् महर्जन दम्पती — दिनेश र उनकी श्रीमती समिता। साना व्यवसायहरूको कथा लेख्ने शृङ्खलाको एक भागको रूपमा दिनेश महर्जनसँगको यस अन्तर्वार्तामा हामीले खेतीपातीमा उनको डेड दशक लामो संलग्नता, कोभिड-१९ महामारी र लकडाउनको कठिन समयमा उनको संघर्ष, र बसिको बल्चाको कथाबारे कुराकानी गर्‍यौं।

थुप्रै मार्ट, रेस्टुरेन्ट, दूतावास र होटेलहरू रहेको एक व्यस्त आवासीय केन्द्रमा परिणत हुनु अघि, दिनेशको बाल्यकालको सम्झनामा रहेको लाजिम्पाट एक खेतबारी थियो, जब काठमाण्डौको शहरी फैलावटले यसलाई छोएको थिएन। लाजिम्पाट क्षेत्रको पुरानो नाम ‘बसिको’ रहेको र अझै पनि असनका वृद्ध बासिन्दाहरूले यसलाई यहि नामले बोलाउने गरेको मलाई दिनेशले बताउछन्। तदनुसार, उनको क्याफेको नाम “लाजिम्पाट कटेरो क्याफे” मा अनुवाद हुन्छ।

एक वर्ष अघि स्थापना गरिएको यस क्याफे महर्जन दम्पतीको आतिथ्य क्षेत्रमा पहिलो उद्यम हो। यसअघि दिनेश एक किसान–व्यवसायीका रूपमा कीर्तिपुरमा भाडाको २३ रोपनी जग्गामा बेमौसमी तरकारी खेति गर्ने फार्म संचालन गर्दै आएका थिए।

 

“धेरै समय कृषि पेशामा संलग्न भएता पनि, यसमा मैले खास्सै उपलब्धि हासिल गर्न सकिन”, दिनेश भन्छन्। कोभिड-१९ माहामारीको कठिन समयमा सामना गर्नुपरेको चुनौतीहरूले गर्दा फार्म संचालनमा राखीरहनु आर्थिक रूपमा सम्भव रहेन, र फार्म २०२२ को हिउँदमा बन्द गरियो।

परिस्थिति चाँडै नै सामान्य हुने अपेक्षाका साथ लकडाउनको प्रारम्भिक महिनाहरूमा दिनेश जसो-तसो फार्म जोगाउने प्रयासमा रहे। सबै खेती गतिविधिहरूमा रोक लागेको भए पनि उनले आफ्ना कर्मचारीलाई तलब दिने देखि लिएर जग्गा भाडा तिरिरहे। यद्यपि, महामारी साम्य भएन, र अन्त्यसम्म आइपुग्दा उनको फार्म जिर्ण भईसकेको थियो।

महर्जन निवाससँग जोडिएको सानो जग्गा, जसमा बसिको बल्चा उभिएको छ, पहिले उनीहरुको तरकारी बारी थियो। फार्म बन्द भएपछि, यो सानो टुक्रा जमिनमा क्याफे खोलेर व्यवसाय गर्न सकिने सम्भावनाबारे दिनेश सोच्न थाले।

वडा कार्यालयको भवनको निर्माण सुरु भइसकेको थियो, र पछि स्थानान्तरण भएपछि त्यहाँ चहलपहल बढ्ने, र ग्राहकहरुको निरन्तर आगमन हुने कुरा सुनिश्चित भयो। आफ्नै घरछेउ एउटा सानो, थोरै लगानीमा सुरु गर्न सकिने व्यवसाय चलाउँदाको सुविधा र लागत प्रभावकारिताले यो सोचमा उनीहरु अझ विश्वस्त भए।


किशोरावस्थामा जमलको होटेल यलो प्यागोडामा कुकको तालिम लिएका दिनेशले इन्टरनेस्नल सेक्युरिटी असिस्टेन्स फोर्स (आई.एस.ए.फ) अन्तर्गत युरोपेली र उत्तर अमेरिकी देशहरूको अन्तरसरकारी सैन्य गठबन्धन नर्थ एट्लान्टिक ट्रीटि अर्गनाईजेसन (नेटो) का लागि फूड स्टोरको सिफ्ट इन्चार्जको जागिरको अनुभवबारे मलाई बताए।

उनका जिम्मेवारीहरूमध्ये एक त्यहाँ रहेका कर्मचारीहरूलाई खुवाउन खानाको योजना र तयारिमा सेफ र कुकहरूसँग दैनिक बैठक गर्नु थियो। भान्साका कर्मचारीहरूसँगको नजिकको सम्बन्ध र तिनीहरूको काममा सक्रिय संलग्नतामार्फत दिनेशले पक्वान र भान्सा व्यवस्थापन सम्बन्धि सीप सिक्ने मौका पाए जुन दुई दशक भन्दा बढी पछि आफ्नो क्याफेमा उनले अभिव्यक्त गर्न पाएका छन्।

फार्ममा संरचनाहरु बनाउँदाको निर्माणको अनुभव भएका दिनेशले निर्माणको काम अघि बढाए। पाँच महिनाको कडा परिश्रम गरेर बनाईएको क्याफेका संरचनाहरू: दुई छुट्टै खाने ठाउँ, भान्साकोठा र शौचालय, सबैका वास्तुकार र मिस्त्री उनि स्वयं हुन्। “मलाई हथौडा थमाईदिने पनि कोही थिएन”, उनी सम्झिन्छन्। यो कुरा सुनाउँदै गर्दा उनको आँखा गर्वले चम्किएको देख्न सकिन्थ्यो।

 

महिनौको मेहनत र रु. १३ लाखको लगानी पछि बसिको बल्चाले २०७९ साल भाद्रमा भोका बटुवाहरुका निम्ति आफ्नो ढोका खुला गर्यो। हाल, क्याफेमा प्रति महिना रु २.५ लाख वरिपरि कारोबार भईरहेको छ। “हामी अझै परीक्षणमा छौं। अहिले भने हामी क्याफेको नाम कमाउनमा बढी केन्द्रित छौं।”

बसिको बल्चालाई एक स्वस्थ र किफायती खाना पाउन सकिने क्याफेका रूपमा स्थापित गर्नु उनको प्राथमिकता रहेको छ। “नाफा पछि स्वाभाविक रूपमा बढ्नेछ”, उनी हाँस्दै भन्छन्।