पेमा लामाको गाई फार्म तथा आधुनिक तरकारी व्यवसाय

ईजरायली कृषिमा ७ वर्षको तालिम र अनुभव पछि नेपालमा कृषि व्यवसायमा संलग्न भएका पेमा लामाले ९० रोपनी जग्गा भाडामा लिई ६ जनाको साझेदारीमा गाई फार्म र आधुनिक तरकारी व्यवसाय गर्छन् ।
Photo by cottonbro studio from Pexels

यो कथा नेपाल सरकार कृषि विभागको वेबसाइटमा १२ फाल्गुन २०७७ मा प्रकाशित भएको हो ।


 

तारकेश्वर न.पा. ६, काभ्रेस्थली, काठमाडौँ निवासी ४५ वर्षिया पेमा लामा ७ वर्ष सम्म ईजरायली कृषिमा तालिम तथा अनुभव बटुलेर स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने लागेर कृषि व्यवसायमा संलग्न छन् । 

उनले ९० रोपनि जग्गा भाडामा लिएर ६ जनाको साँझेदारीमा (४ जना – पेमा लामा, कीर्तिमान लामिछाने, शिवहरी भण्डारी, बीर बहादुर गुरुङ्ग विदेश गई फर्कीनु भएको र अरु २ जना नेपालमा नै काम गरिरहेका व्यक्ति) गाई फार्म तथा आधुनिक तरकारी व्यवसाय अघि बढाएका हुन् । उनका अनुसार करीब १ करोड भन्दा माथिको लगानी रहको यस व्यवसायमा उनीहरुले साविक तरकारी विकास निर्देशनालय र PACT बाट गरी १ करोड बराबरको अनुदान प्राप्त गरेका थिए ।

१६० वटा प्लास्टिक टनेल, १ वटा १००० मिटर स्क्वेरको High-tech greenhouse, थोपा सिँचाई, प्लास्टिक मल्चिङ्ग जस्ता आधुनिक प्रविधि सहितको यस व्यवसायमा सुरुवाति अवस्थामा ठूलो लगानि खर्चिएकोले बार्षिक रुपमा ८०-९० लाख बराबरको कारोबार हुने गरेतापनि तत्काल खासै नाफा गर्न नसकिरहेको तर भोलिका दिनहरुमा भने व्यवसाय नाफा मूलक बन्नेमा आशावादी छन् । 

मलको लागि गाई (९-१० वटा) पनि सँगसँगै पाल्ने गरेको जसबाट ५०-६० लिटर दुध दैनिक उत्पादन हुने गर्छ । सिजन अनुसारका सबै खालका तरकारी जस्तै बोडी (३ टन), काउली (५ टन), टमाटर (२०० टन) तथा साग सब्जी आदि उत्पादन हुने गरेको र नारायनगढ, कालीमाटी, पोखरा, बुटवल जस्ता बजारमा आफ्नो उत्पादनले ठाउँ लिने गरेको जानकारी दिए । यस व्यवसायलाई सहज रुपमा अघि बढाउन ३ जना स्थायी कर्मचारी र दैनिक २५ जनालाई आंसिक रोजगारीको अवसर पनि प्रदान गरेका छन् ।

कृषि वस्तुमा उचित मूल्य निर्धारण हुनुपर्ने, सहि कृषकले मात्र अनुदान पाउनुपर्ने जस्ता आवश्यकता पहिचान गरेका उनले यसै वर्ष आफूहरुले थप २०-२५ रोपनि क्षेत्रफलमा फार्म विस्तार गर्ने योजना रहेको बताए । 


 

नेपाल सरकार कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/१२