डोटीको बडीकेदार गाउँपालिकामा स्थानीय महिलाहरूले गाउँमै अल्लो प्रशोधन र कपडा उत्पादन सुरु गरेका छन्। जंगलमा खेर गइरहेको वनस्पति अल्लोलाई आम्दानीको स्रोत बनाउने उद्देश्यले उनीहरूले यो पहल थालेका हुन्।
बडीकेदार गाउँपालिकाको साझेदारीमा पशुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले सञ्चालन गरेको एक महिनाको तालिमपछि १५ जना महिलाले अल्लो प्रशोधन तथा कपडा बुनेर विभिन्न सामग्री उत्पादन गर्न थालेका हुन्। पालिकाको उद्यम विकास शाखाको आर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा करिब २० लाख रुपैयाँ लगानी गरिएको छ।
उद्यम विकास शाखाका प्रमुख भूपेन्द्रबहादुर बोहराका अनुसार, पालिकाले कपडा बुन्ने तान, अल्लो प्रशोधनका उपकरणलगायत आवश्यक सामग्री उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादनको काम सुरु भएको हो।
गाउँपालिका अध्यक्ष भैरव साउदका अनुसार, हाल अल्लोको धागो र कपडाको माग बढिरहेकोले पालिकाले आवश्यक सहयोग पुर्याएको हो। कोट, टोपी, झोला, जुत्तालगायत सामग्री उत्पादन गर्न तालिम दिई महिलालाई व्यावसायिक उत्पादनतर्फ उन्मुख गराइएको छ।
स्थानीय सहभागी महिलाहरुका अनुसार,यस कार्य महिलाहरूको आयआर्जनको आधार बनाएको छ। आवश्यक तालिम र उपकरण प्राप्त भएपछि १५ जना महिलालाई यसमा संलग्न गराइएको छ। दीगो व्यवस्थापनका लागि सम्बन्धित निकायबाट थप सहयोग र बजार विस्तारको अपेक्षा पनि गरिएको छ। गाउँपालिका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लो उद्योगलाई पूर्णकालीन व्यवसायको रूपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताइन्।
यो पहल ग्रामीण नवप्रवर्तन, महिला सशक्तीकरण र स्थानीय स्रोतको उपयोगमार्फत आत्मनिर्भरता हासिल गर्ने उत्कृष्ट उदाहरण बन्न थालेको छ। उचित सहयोग र विस्तारको साथ, यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने र महिलालाई स्थायी रोजगारी दिने सम्भावना बोकेको छ।