हेटौँडा-१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आउनुभएको छ। उहाँ यसै पेसाबाट आत्मनिर्भर बन्दै आउनुभएको हो। उहाँको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा ‘उत्तम खुवा घर’ सञ्चालनमा छ।
खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्नुहुन्थ्यो। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लाग्नुभएको उहाँ बताउनुहुन्छ।
खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुग्नुभएको उहाँले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आउनु भएको छ। उहाँको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनिर, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ।
खुवा व्यवसायमा राम्रो आम्दानी देख्नुभएका उहाँले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गर्नुभएको छ। उहाँले भन्नुभयो, “खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ, सोहीअनुरूप किसानलाई रु दश लाख लगानी गरिसकेको छु।”
परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उहाँले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहनु भएको छ। खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि उहाँको आकर्षण तरिकाको पसल छ। पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उहाँको भनाइ छ।
खुवा पेसा सम्हालेदेखि उहाँले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताउनुभयो। खुवासँगै खाजा नास्ता लगायतबाट मासिक रु दश लाखको कारोबार हुने गरेको श्रेष्ठले बताउनुभयो। मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताउनुभयो।
अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उहाँको भनाइ छ। आफूसँगै परिवारको पनि सहयोग लिएर उहाँले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताउनुभयो।
खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उहाँले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुने बताउनुभयो।
कान्तिलोक पथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ। खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ।