काठमाडौं। आजको युगमा नेपालमै बसेर पनि अन्य जुनसुकै देशको काम गर्न सहज छ। इन्टरनेटको माध्यमबाट नयाँ रोजगारीका अवसरहरू सिर्जना भएका छन् भने रोजगार बन्नकालागि नयाँ नयाँ बाटाहरू खुलेका छन्। तर, त्यस बाटोमा हिँड्न कहाँबाट सुरुवात गर्ने भन्नेबारेमा भने धेरैलाई ज्ञान छैन।
ताप्लेजुङस्थित आइटी एकेडेमीले यही नयाँ बाटाहरूमा कहाँबाट सुरुवात गर्ने र कसरी काम गर्ने भन्ने शिक्षा र सीप दिइरहेको छ। मुख्य गरी इन्टरनेटको माध्यमबाट उपलब्ध भएर गर्न सकिने कामहरूमा कसरी आफूलाई तयार पार्ने भनेर आइटी एकेडेमीले काम गरिरहेको छ।
आइटी एकेडेमी — ताप्लेजुङको स्थापना सन् २०२३ मा ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको हो। यो डेनमार्कको सहयोगमा सञ्चालित ह्युमन प्राक्टिस फाउन्डेसन र स्थानीय विद्यालय श्री भानु जन माध्यमिक विद्यालयको सहकार्यमा स्थापना भएको हो।

सहकार्यको सुरुवात भने केही वर्षअघि भएको थियो। उक्त संस्थाले ताप्लेजुङमा लामो समयदेखि गुणस्तरीय शिक्षाकालागि आवश्यक पूर्वाधारहरूमा सहयोग गर्दै आएको थियो। तर, केही वर्षअघि भने जर्मनका एक नागरिकलाई एउटा प्रश्नले सताउन थाल्यो।
“१२ कक्षा सकाएपछि यी विद्यार्थीहरू कहाँ गइरहेका छन्? के गरिरहेका छन्?”
डेनमार्कका नागरिक वाल्डेमर स्मिथले यही प्रश्नको उत्तर खोज्ने क्रममा कतिले खेतीपाती गरेर जीवन चलाइरहेको, कोही खाडी मुलुक गएको त केही भारतमा न्यून ज्यालामा श्रम गरिरहेको भेटाए।।
यी सबैमा एउटै समानता देखियो। जुन थियो, न्यून पारिश्रमिक।
सीमित युवाहरू मात्र उच्च शिक्षाकोलागि अघि बढ्न सकिरहेका थिए। यि समस्यालाई समाधान गर्न समयानुकूल सीप सिकाउने उद्देश्य सहित “आइटी एकेडेमी, ताप्लेजुङ” को स्थापना भयो।
सीप सिकाउने, रोजगार बनाउने
एकेडेमीको मूल उद्देश्य भनेको युवाहरूलाई डिजिटल सीप प्रदान गर्दै रोजगारी सिर्जना गर्नु हो। यसले ताप्लेजुङ तथा अन्य पूर्वी पहाडी क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउने सपना बोकेको छ।
आइटी एकेडेमीका प्रमुख बसन्त लिम्बु भन्छन्, “हामीले देखेको सपना भनेको विदेश जानुको बाध्यता अन्त्य गरेर युवालाई आफ्नै गाउँघरबाटै अन्तर्राष्ट्रिय काममा संलग्न गराउनु हो।”
वसन्त लिम्बुका अनुसार हाल एकेडेमीमा दुई तहको तालिम सञ्चालन भइरहेको छ।
पहिलो तह (लेभल वान) जसमा ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ र वेबसाइट बनाउने (वेब डेभलपमेन्ट) तालिम समावेश गरिएको छ।
दोस्रो तह—सन् २०२६ देखि सुरु गर्ने तयारीमा रहेको यस तालिममा ग्राफिक्स डिजाइनको एडभान्स स्तर, भिडियो एडिटिङ, एनिमेसन, साथै वेबसाइट बनाउने सम्बन्धि ब्याकएन्ड प्रोग्रामिङ र साइबर सेक्युरिटीजस्ता कोर्स समावेश हुनेछन्।
समुदाय स्तरमा फैलिँदै प्राविधिक सीप
आइटी एकेडेमीको स्थापना श्री भानु जन माध्यमिक विद्यालयको सहकार्यमा भएता पनि यसबाट सम्पूर्ण ताप्लेजुङसँगै आसपासका अन्य जिल्लाहरू पनि लाभान्वित भइरहेका छन्। विद्यालयकै जग्गामा स्थापना भए पनि यसको सञ्चालन समुदाय स्तर मै आधारित छ। यही स्वरूपमा निरन्तर अघि बढ्ने तयारी पनि रहेको लिम्बु बताउँछन्।
बसन्तका अनुसार विभिन्न विद्यालयका विद्यार्थीहरूलाई प्राविधिक सीपमा पहुँच दिन थालेको यो एकेडेमीले हालसम्म १७१ जनालाई तालिम प्रदान गरिसकेको छ। जसमध्ये झण्डै ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गरिरहेका छन्।

सुरुवाती दुई वर्षमा पाइलट प्रोजेक्टका रूपमा एकेडेमीले निःशुल्क तालिम दिएको थियो। हालसम्म आठ वटा ब्याचको अध्यापन भइसकेको छ। अहिले वेब डेभलपमेन्ट र ग्राफिक्स डिजाइनिङ गरी दुई ब्याचमा कक्षा सञ्चालनमा छन्, जहाँ दुबैमा २१–२१ जना विद्यार्थी सहभागी छन्।
‘पूर्वाधार र प्रविधिको हिसाबले दुर्गम मानिने ताप्लेजुङमा बसेर घरमै काम गर्ने वातावरण र सीप विकास हुनु आफैमा असाधारण उपलब्धि हो’, लिम्बु भन्छन्, ‘ग्रामीण पृष्ठभूमिबाट आएका युवाहरूले अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गर्न सफल भएका छन्।’
सीप केन्द्रित तालिमले रोजगारी सिर्जना गर्न सक्ने बताउँछन् वसन्त लिम्बु। उनका अनुसार एकेडेमीले महिलाहरूको सशक्तीकरणमा पनि उल्लेखनीय योगदान पुर्याउने छ।
उनी भन्छन्, ‘साना बच्चा हुर्काउने जिम्मेवारीले अफिस जान नसक्ने महिलाहरूले अब घरमै बसेर डिजिटल सीपको प्रयोग गरी आम्दानी गर्न सक्छन्।’
८५ प्रतिशत छात्रवृत्ति सहित तालिम
ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा सञ्चालित आइटी एकेडेमीले विश्वव्यापी रूपमा मान्यता प्राप्त प्राविधिक तालिमहरू प्रदान गर्ने गरेको वसन्त बताउँछन्।
‘पहिलो तहका विद्यार्थीहरूलाई ८५ प्रतिशत छात्रवृत्तिको सुविधा उपलब्ध गराउँदै आएका छौं,’ उनी भन्छन्, ‘आइटी एकेडेमी ताप्लेजुङको टेक्निकल पार्टनरका रूपमा डेनमार्ककै लर्नियो एकेडेमी आबद्ध छ। लर्नियो एकेडेमीका कोर्सहरू हाल २२ देशमा सञ्चालनमा छन्। आइटी एकेडेमीले लर्नियोसँग सहकार्य गर्नुको प्रमुख उद्देश्य यही अन्तर्राष्ट्रिय पहुँच र ग्लोबल मान्यता प्राप्त सर्टिफिकेट उपलब्ध गराउनु हो।’
“विद्यार्थीहरूले यस्ता सर्टिफिकेट प्राप्त गरेपछि उनीहरूको पोर्टफोलियो पनि बलियो हुने र क्लाइन्टले हेर्दा उनीहरूको सीप प्रमाणित भएको देखिन्छ, जसले काम पाउन र गर्न सहज बनाइरहेको छ।

आइटी एकेडेमीमा ६ महिने पहिलो तहको कोर्स सञ्चालनमा छ। जसअन्तर्गत पहिलो चार महिना हार्ड स्किल अर्थात् प्राविधिक सीपहरू सिकाइन्छ भने बाँकी दुई महिनामा रोजगारदातासँग कसरी व्यवहार गर्ने, फ्रीलान्सिङ प्लेटफर्म कसरी चलाउने लगायतका सीप सिकाइन्छ।
छात्रवृत्तिको व्यवस्था भएकाले विद्यार्थीले पहिलो तहका कोर्सका लागि केवल ५० अमेरिकी डलर तिर्नुपर्छ। कोर्स सकिएपछि एकेडेमीले तीन महिनाको निःशुल्क इन्टर्नसिपको समेत व्यवस्था मिलाइदिन्छ। त्यसपछि विद्यार्थीहरूलाई १२५ डलर पारिश्रमिकमा छ महिनासम्म पार्ट–टाइम काम गराउने व्यवस्था पनि एकेडेमीले नै गरेको छ, जसकालागि दैनिक चार घण्टा समय दिनुपर्ने हुन्छ।
लिम्बुका अनुसार यदि कुनै विद्यार्थीले आफ्नो सीपलाई अझ निखार्न चाहन्छ भने उनीहरूले दोस्रो तह कोर्समा प्रवेश गर्न सक्नेछन्। लिम्बु भन्छन्, “दोस्रो तह सकिसकेपछि विद्यार्थीहरू आफैँ आत्मनिर्भर बन्ने र राम्रै मासिक आम्दानी गर्न सक्ने अवस्थामा पुग्ने भएकाले लेभल टुमा छात्रवृत्तिको व्यवस्था गरिएको छैन।”
दोस्रो तह अन्तर्गत एडभान्स ग्राफिक्स डिजाइन, एनिमेसन, भिडियो एडिटिङ, ब्याकइन्ड प्रोग्रामिङ र साइबर सेक्युरिटी जस्ता कोर्सहरू समावेश छन्। यसका लागि शुल्क ३५० अमेरिकी डलर तोकिएको छ।
सरकारको ४० लाख सहयोग
आइटी एकेडेमी सञ्चालनमा आए यता ताप्लेजुङका विभिन्न क्षेत्रमा सामाजिक र आर्थिक प्रभाव परेको छ। सरकारले स्थानीय स्तरमै गएर सीप सिकाउने व्यवस्था अझै प्रभावकारी रूपमा विस्तार गर्न नसकेको अवस्थामा, गैरसरकारी क्षेत्रको यस पहलले धेरैको जीवनमा नयाँ आशा र अर्थ थपेको लिम्बु बताउँछन्।
उनका अनुसार एकेडेमीको कामप्रति स्थानीय सरकारको पनि चासो बढ्दो छ। एकेडेमीको काम र उद्देश्य प्रति विश्वास गर्दै कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आइटी एकेडेमीलाई तालिम तथा दिगो विकासका लागि करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
लिम्बु भन्छन्, “आइटी एकेडेमीको दृष्टि र उद्देश्यमा सरकारले देखेको विश्वास नै यो बजेट विनियोजनको मुख्य कारण हो“।
वसन्त लिम्बुका अनुसार सरकारले बनाएको बेरोजगार सूचीलाई आधार मानेर स्थानीय तहले कम्तीमा १०० दिने सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ। उनी भन्छन्, ‘सरकारका रोजगार कार्यक्रमहरू युवामैत्री र सीपमा आधारित हुनु पर्छ। यदि सरकारले आजको आवश्यकता अनुसार सीप सिकाउने कार्यक्रमहरू ल्याउन सकेन भने भोलिका मतदाता युवाहरू बिदेसिनेछन्। तब उनीहरूलाई भोट हाल्ने कसले?’
लिम्बुका नजरमा युवालाई देशमै रोजगारी दिन सक्ने आधार भनेकै उनीहरूलाई सीप सिकाउनु हो।
विदेशी सहयोगमा बसाएको जग, अब आत्मनिर्भर बन्ने चुनौती
प्राविधिक शिक्षा र डिजिटल सीपको क्षेत्रमा उल्लेखनीय प्रभाव पार्दै आएको आइटी एकेडेमी ताप्लेजुङले सामना गरिरहेको मुख्य चुनौती भनेको दिगो व्यवस्थापन हो।
विदेशी संस्थाहरूको सहयोग प्रायः निश्चित समयकालागि मात्र हुने हुँदा दीर्घकालीन दिगोपन एकेडेमीकालागि चुनौती बनेको लिम्बु बताउँछन्। उनका अनुसार ह्युमन प्राक्टिस फाउन्डेसनसँग आइटी एकेडेमीको सम्झौता सन् २०२८ सम्मको लागि मात्र हो। एकेडेमी स्थापना भएको वर्ष २०२३ मा फाउन्डेसनले एकेडेमीमा हुने सम्पूर्ण खर्च शत प्रतिशत व्यहोरेको थियो। २०२४ मा पनि त्यो सहयोग यथावत् नै रह्यो।
तर, २०२५ देखि सहयोग क्रमशः घट्दै गएको छ, जसमा २०२५ मा ७५ प्रतिशत, २०२६ मा ५० प्रतिशत, र २०२७ मा २५ प्रतिशत मात्र रहनेछ। यसरी सन् २०२८ मा सम्झौता सकिएपछि आइटी एकेडेमीलाई फाउन्डेसनको सहयोग सकिनेछ र एकेडेमी पूर्ण रूपमा आत्मनिर्भर बन्नुपर्नेछ।
यद्यपि आइटी एकेडेमीका प्रमुख लिम्बु यस यात्रा प्रति आशावादी छन्। समुदाय स्तरमा रोजगारी सिर्जना हुने गरी सीप सिकाउन खुलेको आइटी एकेडेमीलाई आगामी दिनमा पनि निरन्तरता हुने उनी बताउँछन्। उनी भन्छन्, ‘हामीले हालसम्म छाडेका छापका कारण आगामी दिनमा पनि स्थानीय तथा प्रदेश सरकारको सहयोग रहनेछ भन्नेमा हामी विश्वस्त छौं।’
आइटी एकेडेमी — ताप्लेजुङमा हाल १० जना कर्मचारी कार्यरत छन्। जसमा संस्थाको नेतृत्व लिम्बुले गरिरहेका छन्। एकेडेमीमा वेब डेभलपमेन्ट, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ लगायतका विषयगत कर्मचारी, विद्यार्थी को–अर्डिनेटर, सुरक्षा गार्ड, कार्यालय सहयोगीजस्ता प्रशासनिक कर्मचारीहरू आबद्ध छन्। यसका साथै पार्टनर संस्था लर्नियो एकेडेमीले आवश्यकता अनुसार भर्चुअल शिक्षण सेवा उपलब्ध गराउँदै आएको छ।
घरमै बसेर आम्दानी
संस्थाको औपचारिक स्थापनाअघि नै उनी यसको तयारी चरणदेखि सक्रिय रूपमा संलग्न रहँदै आएका हुन्। ताप्लेजुङका विभिन्न क्षेत्रमा लामो समयदेखि सक्रिय वसन्त लिम्बु आइटी क्षेत्रमा विशेष रुचि राख्थे। उनको शैक्षिक पृष्ठभूमि पनि आइटीसँग नै सम्बन्धित छ। पत्रकारिता क्षेत्रमा समेत लामो अनुभव बटुलेका लिम्बुले गाउँका युवाहरूमा १० देखि ५ बजेसम्मको जागिर प्रतिको वितृष्णा र घरमै बसेर काम गर्ने आकर्षण बढिरहेको देखेका थिए।
त्यही समयमा ताप्लेजुङमा आइटी एकेडेमी स्थापना हुने तयारी भइरहेको थियो। लिम्बुको रुचि र दृष्टिकोण दुवै यस संस्थासँग मेल खाएपछि उनी पनि यस एकेडेमीमा जोडिए। गाउँघरमा युवाको कमी हुनु, भएकाहरूले पनि सीप केन्द्रित काममा संलग्न नहुने अवस्था देखेका उनी अहिले भने समुदायमा आएको परिवर्तन देखेर खुसी हुन्छन्।
‘हामीले तालिम दिएका धेरै विद्यार्थीहरूले घरमै बसेर राम्रो आम्दानी गरिरहेका छन्, यो देख्दा म निकै खुसी छु,’ लिम्बु भन्छन्। उनका अनुसार सीप प्रति युवाहरूको आकर्षण दिनप्रतिदिन बढ्दो छ। सिप सिकेर अगाडि बढेकाहरूको जीवनस्तरमा आएको सुधारले नयाँ आउने विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिलेको उनी बताउँछन्।
आजभन्दा एक दशक अघिको समयमा घरमै बसेर पैसा कमाउने कुरा कल्पना बाहिरको थियो। त्यति बेलाको परिवेश सम्झिँदै लिम्बु भन्छन्, ‘त्यो बेला सीप सिक्न काठमाडौँ जानुपर्ने बाध्यता थियो। गाउँघरमा प्रविधिमैत्री तालिमको न त पहुँच थियो, न त वातावरण। फ्रिल्यान्सिङ भन्ने शब्द नै धेरैको कानमा परेको थिएन।’
तर , अहिलेको समयमा केही वर्ष अघि नसुनिएको र नदेखिएको सीप गाउँमै सिक्ने अवस्था आइटी एकेडेमीले सिर्जना गरिदिएको छ। लिम्बु भन्छन्, ‘यदि यस्ता तालिमहरू केही वर्ष अगाडि नै गाउँ आएका भए हिजोका धेरै युवाहरूको जीवन अर्कै मोडमा हुन्थ्यो होला। यद्यपि ढिलो भए पनि परिवर्तन सुरु भएको छ र अब यो परिवर्तनले भविष्यमा ठुलो छाप छोड्नेछ।’
बसन्तका अनुसार आजका बालबालिकालाई भोलिको बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने हो भने सीप सिकाउने काम विद्यालय तहबाटै सुरु गर्नुपर्छ। उनी भन्छन्,’अब प्रतिस्पर्धा देशभित्र मात्र होइन, ग्लोबल मार्केटमै हो। अब हामीले वस्तु मात्र होइन, सेवा बेच्नुपर्ने समय आइसकेको छ।’