निजी इक्विटी कोष अवसर इक्विटीले सफ्टवेयर विकास कम्पनी रारा डिजिटल ल्याबमा लगानी सम्झौता गरेको छ ।
रारा र यसका सहायक कम्पनीहरू — बिआइसी टेक्नोलोजी, गोक्यो ल्याब्स र निओसीस टेक्नोलोजी — सहितले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा ग्राहकहरूलाई वित्तीय लेनदेनको व्यवस्थापनमा केन्द्रित सफ्टवेयर उत्पादन र समाधान प्रदान गर्दछ ।
अवसर इक्विटीले आफ्नो लिंक्डइन पोष्टमा उल्लेख गरे अनुसार अवसरको विविधीकृत कोषमार्फत गरिने लगानीले रारा र यसका सहायक कम्पनीहरूलाई नयाँ ग्राहकहरू प्राप्त गर्न, नयाँ बजारमा विस्तार गर्न र उत्पादन विकासलाई सुदृढ गर्न मद्दत गर्नेछ ।
रारा र यसका सहायक कम्पनी सहितले विभिन्न सफ्टवेयर उत्पादन र समाधान बजारमा ल्याइसकेको छ:
सुमो लेजर: उच्च मात्रा सम्हाल्नका लागि डिजाइन गरिएको रियल-टाइम लेनदेन व्यवस्थापन प्रणाली, जुन बैंक, वित्तीय संस्थान, रेमिट्यान्स सेवाहरू र फिनटेक कम्पनीहरूका लागि उपयुक्त छ ।
टिग्ग: साना र मझौला उद्यमहरूका लागि विशेष रूपमा तयार गरिएको क्लाउड-आधारित लेखा समाधान ।
गोक्यो रेकन्सिलर: बैंक, वित्तीय संस्थान, वित्तीय प्रविधि कम्पनी र बीमा प्रदायकहरूकालागि लक्षित वित्तीय हिसाब मिलान सफ्टवेयर ।
मायरा: बचत र कर्जा सहकारी संस्थाहरूकालागि विकास गरिएको समग्र क्लाउड-आधारित कोर बैंकिङ प्रणाली ।