शाखाकरण र फ्रान्चाइजिङ मार्फत आफ्नो व्यवसाय विस्तारण

“नयाँ दृष्टिकोणहरू व्यवसाय विस्तार र विकासको लागि महत्त्वपूर्ण छन् - शाखाकरण र फ्रान्चाइजिङ तीमध्ये एक हुन्”
Franchise isometric composition with location and finance symbols vector illustration

भाटभटेनीले कसरी नेपालभर आफ्नो व्यवसाय विस्तार गर्यो यसो विचार गर्नुस्। सायद यो उदाहरण अलि ठुलै भयो ।

नाङ्ग्लो ले केहि सम्झायो? वा बर्गर हाउस? वा बाजेको सेकुवा?

खानपीनको क्षेत्रमा अन्य धेरै नामहरू छन् । यी सबै भौगोलिक विस्तार मार्फत व्यवसायको पहुँच विस्तार गर्ने उदाहरणहरु हुन् ।

व्यवसायहरू एउटै भौगोलिक क्षेत्र भित्र पनि विस्तार हुन्छन्, जस्तै केटिएम सिटि (KTM Cty) जसको काठमाडौं उपत्यका र बाहिर पनि शाखाहरु छन् ।

एउटा अर्को पद्दति पनि छ जसमा कुनै एउटा व्यवसायले आफ्नो स्थापित ब्रान्ड, प्रणाली र प्रक्रियाहरू पालना गर्ने शर्तमा नयाँ स्थानहरूमा व्यापार सञ्चालन गर्ने अधिकार प्रदान गरि आफ्नो सफल मोडल दोहोर्याउने अवसर दिन्छ — जसलाई फ्रान्चाइजिङ भनिन्छ ।

फ्रेंचाइजीङ्गको कुरा गर्दा हिमालयन जाभा एक सफल उदाहरण हो । अन्य ब्रान्डहरू जस्तै बोता म:म, डल्ले, केन्टकी फ्राइड चिकेन, र स्यानको कट्टी रोल उल्लेखनीय उदाहरणहरू हुन् ।

प्रतिस्पर्धात्मक व्यापार परिदृश्यमा, व्यवसाय विस्तार एक चुनौतीपूर्ण कार्य हुन सक्छ ।

उद्यमी र व्यवसाय मालिकहरू बृद्धिलाई गति दिन र बजारमा आफ्नो उपस्थिति बढाउन शाखाकरण र फ्रेन्चाइजिङको सम्भावनाको लाभ उठाउन सक्छन् ।यी दुईबीच केहि समानता भएपनि संरचना र सञ्चालनमा अभिभावक कम्पनीको नियन्त्रणको हद अनुसार यी भिन्न छन् ।

अभिभावक कम्पनीको स्वामित्वमा रहनेगरि नयाँ आउटलेटहरू वा शाखाहरू स्थापना गर्नुलाई ब्रान्चिङ भानिन्छ ।

यसरी स्थापना गरिएका शाखाहरु अभिभावक कम्पनीकै ब्रान्ड र व्यवसायिक मोडल अन्तर्गत संचालन गरिन्छ र तिनीहरुको पूर्ण स्वामित्व र नियन्त्रण पनि अभिभावक कम्पनि निहित हुन्छ ।

यस विस्तार रणनीतिमा, शाखाहरुको स्थापना र सञ्चालनको पूर्ण वित्तीय जिम्मेवारी र तिनीहरुसँग सम्बन्धित नाफा र जोखिम अभिभावक कम्पनीले वहन गर्छन ।

अर्कोतर्फ, फ्रान्चाइजिङको मोडलमा भने अभिभावक कम्पनी (फ्रान्चाइजर) ले स्वतन्त्र उद्यमीहरू (फ्रान्चाइजीहरू) लाई फ्रेन्चाइजरको स्थापित ब्रान्ड र व्यवसाय मोडेल अन्तर्गत आफ्नै व्यवसायहरू सञ्चालन गर्न अधिकार दिन्छ।

फ्रेन्चाइजरद्वारा तय गरिएको मापदण्ड, प्रक्रिया र ब्रान्ड दिशानिर्देशहरू पालना गर्दै त्यसरी स्थापना गरिएका शाखाहरुको स्वामित्व र संचालन जिम्मेवारी फ्रान्चाइजीको हुन्छ । सबै फ्रान्चाइज शाखाहरुबीच स्थिरता सुनिश्चित गर्नका निम्ति फ्रेन्चाइजरले तिनीहरु उपर एक तहको नियन्त्रण कायम राख्ने हुन्छ ।

फ्रान्चाइजीहरूले आफ्नै शाखामा लगानी र त्यसको व्यवस्थापन गर्छन् भने फ्रेन्चाइजरले सामान्यतया त्यस्ता एकाईहरुबाट प्रारम्भिक शुल्क र रोयल्टीका रूपमा रकम लिने हुन्छ, र मार्केटिङ, प्रशिक्षण, र संचालनमा सहायता दिन सक्छन् ।

शाखाकरण भन्नु विभिन्न ठाउँमा कम्पनीकै स्वामित्वमा रहेका नयाँ व्यवसायहरू स्थापना गर्नु हो भने फ्रान्चाइजिङ मार्फत व्यवसाय मालिकहरू आफ्नो सफल व्यापार मोडल अरु ठाउँमा दोहोर्याउन सक्छन् ।

यस ब्लगमा हामी कसरी शाखाकरण र फ्रान्चाइजिङले व्यवसायलाई बढ्न मद्दत गर्न सक्छ भन्ने बारे पनि हेर्नेछौँ ।

ल सुरु गरौँ!

विस्तारको अवसर दिनुस्

आफ्नो ब्रान्ड निर्माण गरेपश्चात अब अझ ठुलो ग्राहकवर्गमा पुग्ने लक्ष्य राख्नुपर्छ ।

व्यवसायहरूले प्रमुख शहरहरूमा शाखाहरू स्थापना गरेर ठुलो ग्राहकवर्गमा पहुँच पुर्याउँदै आफ्नो बजारी हिस्सा बढाउन सक्छन् ।

माथि उल्लेखित सबै उदाहरणहरूले शाखाकरण रणनीति लागू गरेका छन् । यी ब्रान्डहरूले विभिन्न शहरहरूमा उल्लेखनिय बजार हिस्सा कब्जा गर्ने उद्देश्यले धेरै आउटलेटहरू स्थापना गरेर ग्राहकहरूलाई सुविधा प्रदान गर्दै आएका छन् ।

अर्कोतर्फ भने फ्रान्चाइजिङद्वारा व्यवसायहरूले आफ्नो स्थापित ब्रान्ड, प्रणालीहरू र प्रक्रियाहरू अन्तर्गत काम गर्ने अधिकार अरु व्यवसायीहरुलाई प्रदान गरेर आफ्नो सफल मोडेललाई नयाँ स्थानहरूमा बढाउन सक्छन् ।

 

स्थानीयकृत अनुकूलन

फ्रान्चाइज गर्ने व्यवसायहरूले क्षेत्रीय बजारको आवश्यकता र माग अनुसार आफ्ना उत्पादन र सेवाहरूमा बदलाव ल्याइरहेका हुन्छन् ।

स्थानीयकरण सफलताको लागि आवश्यक छ किनकि यसले कम्पनीहरूलाई नेपाली ग्राहकहरूको विशेष माग र रुचि, सांस्कृतिक र खरिद व्यवहार अनुरुप आफ्नो व्यवसाय ढाल्न सक्षम बनाउँछ ।

नेपालमा सफलतापूर्वक स्थानीयकरण गरेको एक प्रसिद्ध अन्तर्राष्ट्रिय फास्ट-फूड व्यवसाय केएफसी (KFC) हो । केएफसीको स्पाइसी चिकेन र जिंजर बर्गरले ग्राहकहरूलाई आँफूसँग चिरपरिचित स्वाद दिन्छ । केएफसीले आफ्ना मूलभूत मेनुका साथै स्थानीय स्वादका खानाहरु पनि राखेको छ ।

यसबाहेक, मूल्य निर्धारण पनि स्थानीयकृत अनुकूलनको अर्को पक्ष जसमा स्थानीय खर्च शक्ति, प्रतिस्पर्धा र अन्य आर्थिक पक्षहरुलाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ । क्षेत्रीय बजार अनुरूप प्रतिस्पर्धात्मक मूल्य निर्धारणले बिक्री बढाउन र विस्तारलाई बढावा दिन सक्छ ।

 

जोखिम तथा लागत न्यूनीकरण

फ्रान्चाइजिङले व्यवसाय मालिकहरूलाई उनीहरूको सञ्चालन विस्तारमा संलग्न जोखिम र खर्चहरू कम गर्ने मौका दिन्छ । कुनै कम्पनीले फ्रान्चाइज गर्ने हुँदा फ्रान्चाइज खरिद गर्ने स्वतन्त्र व्यवसायीहरुले यसको वित्तीय र परिचालन भार बेहोर्ने हुन्छन् ।

यस व्यवस्था मार्फत, फ्रान्चाइज लिने व्यवसायीहरुले एउटा प्रख्यात ब्रान्ड र सफल व्यवसायिक रणनीतिको फाइदा लिन अवसर दिँदै अभिभावक कम्पनीको वित्तीय जोखिम पनि कम हुन्छ ।

 

ब्रान्ड पहिचान बढाउँदै

शाखाकरण र फ्रान्चाइजिङले ब्रान्ड पहिचान र उपस्थितिमा महत्त्वपूर्ण योगदान दिन्छ । व्यवसायहरू शखीकरणको माध्यमबाट विस्तार गर्दा, विभिन्न स्थानहरूमा भौतिक उपस्थिति स्थापित गरेर आफ्नोब्रान्डको बारेमा चेतना जगाउन सक्छन् ।

फ्रान्चाइजिङले पनि ब्रान्डबारे चेतनाबढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ किनकि एक्तर्फ फ्रान्चाइजीहरूले स्थापित ब्रान्ड नाम अन्तर्गत स्वतन्त्र व्यवसायहरू सञ्चालन गर्दा ब्रान्डको प्रतिष्ठा र रहिआएको ग्राहकवर्ग को फाईदा लिईरहेको हुन्छन र त्यो संगसंगै अर्कोतर्फ त्यस ब्रान्डको पहिचान बढाउने भूमिका पनि खेलिरहेको हुन्छ ।

एउटा उल्लेखनीय उदाहरण लोकप्रिय फास्ट-फूड चेन पिज्जा हट हो, जसले नेपालमा आफ्नो उपस्थितिलाई फ्रान्चाइजिङ मार्फत विस्तार गरेर आफ्नो ब्रान्ड दृश्यता बढाउँदै ठूलो ग्राहकसंख्या प्राप्त गरेको छ ।

 

स्थानीय विशेषज्ञतामा पहुँच

फ्रान्चाइजिङ मार्फत व्यवसायहरुले स्थानीय बजारको स्थिति र आनीबानी सँग परिचित स्थानीय व्यवसाय संचालकहरुको सीप र अनुभवको फाईदा लिन सक्छन् । फ्रेन्चाइजिङ गरेरै नेपालको एक प्रख्यात रेष्टुरेन्ट चेन बाजेको सेकुवाले अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो ।

स्थानीय फ्रान्चाइजीहरूसँग साझेदारी गरेर बाजेको सेकुवाले ग्राहकको प्राथमिकता र अन्य प्रतिस्पर्धात्मक ज्ञानको फाइदा उठायो. यही सहयोगी रणनीतिले नयाँ बजारहरूमा सहजरूपले स्थापना हुने सुनिश्चित गरेर ब्रान्डको विस्तारलाई गति दियो ।

तसर्थ, कसिलो रणनीति विकास, त्यसको कार्यान्वयन, स्थानीयकरणका साथ नेपालको प्रतिस्पर्धी बजारमा फस्टाउन र विस्तार गर्न खोजिरहेका व्यवसायहरूका लागि शाखा विस्तार र फ्रान्चाइजिङको पद्दति उपयोगी साबित हुन सक्छ ।

शाखाकरण र फ्रान्चाइजिङ बारे केही महत्त्वपूर्ण कुराहरू ध्यानमा राख्नुपर्ने हुन्छ । वर्षौं देखिको स्थिर संचालनमा रहेर ब्रान्ड मूल्य स्थापना भएको र त्यसपछि पनि पर्याप्त अनुसन्धान, बजार परीक्षण, र कोष संकलन गरे मात्र यो पद्दति उपयुक्त हुन्छ ।