नेपाल बैंकर्स संघ वैश्विक एसएमई फाइन्यान्स फोरममा सामेल

फोरमसँगको यो नयाँ साझेदारीले साना तथा मझौला उद्यम (एसएमई) वित्तपोषणलाई सुदृढ गर्ने, वित्तीय समावेशितालाई अगाडि बढाउने र बैंकिङ इकोसिस्टमलाई सुधार्नेछ।

नेपाल बैंकर्स संघ आधिकारिक रूपमा एसएमई फाइन्यान्स फोरममा सामेल भएको छ। उक्त फोरम साना तथा मझौला व्यवसायका लागि वित्तीय सेवाहरू उपलब्ध गराउने एक प्रमुख अन्तरराष्ट्रिय नेटवर्क हो। जी-२० र विश्व बैंकले सहयोग गरेको यस फोरममा १९० देशहरूका ३०० भन्दा बढी सदस्य र साझेदार संस्थाहरू आबद्ध रहेका छन्।

यस वित्तीय सञ्जालले विभिन्न प्रकारका संस्थाहरूलाई एकतृत गर्दछ। जसमध्ये वित्तीय र विकास संस्था, गैर-बैंक वित्तीय संस्था, फिनटेक, भुक्तानी प्लेटफर्म, विकास एजेन्सी, क्रेडिट ग्यारेन्टी कम्पनी, बीमा प्रदायक, बैंकिङ, लगानी कोष र एसएमई संघ, र शैक्षिक संस्थाहरू समावेश छन्। यस फोरमले साना व्यवसायका लागि वैश्विक समाधानयुक्त एसएमई-केंद्रित वित्तीय सेवाहरू प्रदान गर्दै एसएमई वृद्धिलाई सहयोग पुर्याउँछ।

यदि तपाईं एक सुरुवाती वा स्थापित एमएसएमई हुनुहुन्छ भने फोरमको वेबसाइट भिजिट गर्न नबिर्सनुहोला।

तपाईं ११,००० भन्दा बढी एसएमई वित्त विशेषज्ञहरूसँग जोडिन फोरमको लिंकड़इन समूहमा पनि सामेल हुन सक्नुहुन्छ।

व्यवसायिक उत्पादन र समाधानहरूभित्र नवप्रवर्तन केन्द्र, समाधान क्लिनिक, सहकर्मी समूह नेटवर्क, अध्ययन भ्रमण, विशेष उपकरण र तालिम, सदस्य पोर्टल रिपोजिटरी, साझेदारी गरिएका पहल साथै २००+ प्रकाशन पुस्तकालय, ५००+ भिडियो, वेबिनार, समाचार पत्रिका, तालिम, वार्षिक पुरस्कार, वार्षिक कार्यक्रम जस्ता सार्वजनिक उपयोगी सेवाहरू [फोरमका सदस्यका लागि मात्र उपलब्ध] पर्दछन्।

सो अवसरमा फोरमका प्रमुख कमार सलीमले नेपाल बैंकर्स संघलाई फोरममा स्वागत गर्दै खुशी व्यक्त गरे। संघ सदस्य भएपश्चात वर्तमान बजार प्रवृत्तिमा एसएमई वित्तीय पहुँचलाई अझै प्रोत्साहित गर्ने उनले बताए।

“हामी विश्वास गर्दछौँ कि — नेपालका नियामक निकाय र बैंकहरू साना र मझौला व्यवसाय (एसएमई) को लागि वित्तपोषण सुधारमा सक्रिय रूपमा ध्यान केन्द्रित गरिरहेका बेला प्रतिष्ठित एसएमई फाइन्यान्स फोरममा सामेल हुनुले बैंकिङ क्षेत्रलाई महत्वपूर्ण फाइदा पुर्याउनेछ” नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले भने।

नेपाल बैंकर्स संघसँगको यो नयाँ साझेदारीले एसएमई वित्तपोषणलाई प्रोत्साहन दिने, वित्तीय समावेशितालाई अगाडि बढाउने प्रतिबद्धतासहित बैंकिङलाई सुदृढ बनाउने, र देशमा एसएमईका महत्त्वपूर्ण सेवाहरूमा वित्तीय पहुँचलाई विस्तार गर्ने आशा गरिएको छ।

यस सञ्जालबाट सरोकारवालाहरुलाई विश्वभरका उत्कृष्ट अभ्यासहरूबाट सिक्ने, व्यापार वृद्धिका लागि उत्पादनमा नवप्रवर्तन गर्ने, जोखिम न्यूनीकरण उपकरण प्राप्त गर्ने, साझेदारीहरू बनाउने, लगानीकर्ताहरूलाई आकर्षित गर्ने, र विश्वव्यापी नवप्रवर्तनकर्ताहरूको सहकर्मी समूहमा पहिचान प्राप्त गर्ने जस्ता फाइदा हुने फोरमको भनाइ छ।