चाबहिलस्थित भत्केको पुल नजिकै फलफूलका बिरुवा, सुन्दर फुलहरू र हरिया बोटबिरुवाले भरिएको एउटा नर्सरी छ, जसको नाम हो “माया नर्सरी”।
२०६० सालमा बुबा विष्णु कृष्ण प्रजापतिले सुरु गरेको यो नर्सरी हाल उनका छोरा बिकेश प्रजापतिले सम्हाल्दै आएका छन्।
बिकेश सानै देखि बुबासँग नर्सरीमा जाने र त्यहाँको कामकाजमा संलग्न हुने गर्दथे। बुबाबाट नर्सरीका काम कारबाही सिकेका बिकेशले आफैले नर्सरीको पूरा जिम्मेवारी लिन थालेको पनि एक दशक बितिसक्यो। अहिले बुबा विष्णु कृष्ण प्रजापतिले दुबो लगाउने, बगैँचा निर्माण गर्नेजस्ता गार्डेनिङका साइटहरू सम्हाल्छन् भने छोरा बिकेश प्रजापतिले नर्सरीको व्यवस्थापन सम्हाल्दै आएका छन्।
६० सालमा पनि थियो बोटबिरुवाको माग
२०६० साल देखि नै नर्सरीमा संलग्न रहँदै आएको बत्ताउँछन् बिकेश। त्यत्ति बेला पनि काठमाडौँ उपत्यकाका घरहरूमा फुलहरू लगाउने तथा बगैँचा बनाउनका लागि नर्सरीलाई खटाउने गरिएको बिकेश सम्झिन्छन्।
“त्यति बेला काठमाडौँमा घरहरू फराकिला थिए”, उनी सम्झन्छन्, “खुला ठाउँ पनि उत्तिकै थियो जहाँ धेरैले दुबो लगाउने गर्थे। दुबोको बजार राम्रो थियो।”
माया नर्सरीको स्थापनाकाल देखि दुई दशक पर आइपुग्दा बजार र ग्राहकका रोजाइमा धेरै फरकपना आइसकेको छ। पहिला ठुलो मात्रामा दुबोको व्यापार गर्ने माया नर्सरीमा अहिले फुलहरू र घर भित्र राख्ने बोटबिरुवाको माग धेरै छ।

बोटबिरुवा बेच्ने देखि हेरचाह गर्ने सम्मका काम
सुरुवाती दिनहरुमा बोटबिरुवा मात्र बेच्ने नर्सरीले हाल मानिसहरूको व्यस्ततालाई आफ्ना अवसरका रूपमा लिन थालेको छ।
हराभरा वातावरण रुचाउने तर व्यस्तताका कारण आफै समय दिन नपाउनेहरूलाई केन्द्रित गरेर माया नर्सरीले गार्डेनिङ, बिरुवाको हेरचाह, बोटबिरुवा भाडामा दिने जस्ता सेवाहरूलाई बढाएको छ।
“सबैलाई बोटबिरुवाको हेरचाह गर्न आउँदैन”, बिकेश भन्छन्, “मलजल कसरी गर्ने, पानी कति समयको अन्तरालमा हाल्ने, कस्ता बिरुवालाई घाम चाहिन्छ, कस्तोलाई शीतल चाहिन्छ भन्ने कुराहरू थाहा पाउनु पर्छ। यी सबै सुविधा हामी आफै दिँदै आएका छौँ।”
हाल माया नर्सरीले चाबहिलस्थित बगैँचाबाट बोटबिरुवा बेच्नुका साथ साथै घर, अफिस आदिमा गार्डेन बनाउने देखि लिएर होटेल, म्युजिक भिडियो वा सिनेमाको सुटिङ, कार्यक्रम, आदिकालागि आवश्यक बोटबिरुवा भाडामा दिँदै आएको छ। नर्सरीले ग्राहकलाई बोटबिरुवा पठाउँदा, यदि तिनको हेरचाहकालागि कामदार आवश्यक परे, कामदारको व्यवस्था पनि गरिदिन्छ। तर, ती कामदारको पारिश्रमिक ग्राहक स्वयंले नै दिनुपर्छ। बिकेश भन्छन्, “उक्त शुल्क नर्सरीले लिँदैन, कामदारकै हुन्छ।”
बिरुवाहरू भाडामा दिँदा सुरुमा त ग्राहकले बिरुवाको पूरा मूल्य तिरेर लैजाने गर्छन्। र, माया नर्सरीका कामदारहरू बेलाबेलामा गएर बोटबिरुवाको हेरचाह गर्दछन्। बिकेश भन्छन्, “हामी बेलाबेला गएर बिरुवाहरू फेरबदल गर्छौ, मलजल गर्छौ, पानी हाल्छौ।”
माया नर्सरीको यस्तै सेवाको एउटा ग्राहक हो—साङ्ग्रिला बैङ्क।
साङ्ग्रिला विकास बैङ्कका सबै शाखामा माया नर्सरीले आफ्नो टिममार्फत बोटबिरुवाको व्यवस्थापनको जिम्मा लिएको छ।
यसरी सेवा दिँदाको शुल्क भने कामअनुसार फरक फरक हुन्छ।
यदि कुनै बिरुवा परिवर्तन गर्नुपर्ने भयो भने, त्यसका लागि प्रतिबिरुवा ५०० रुपैयाँ शुल्क लाग्ने बत्ताउँछन् बिकेश। तर, जहाँ नर्सरीले नियमित हेरचाह गरेको हुन्छ, त्यहाँ बारम्बार बिरुवा फेर्ने आवश्यक पर्दैन। कुनै कारणवश बिरुवामा कुनै क्षति भएमा त्यसमा भने ग्राहकले नै त्यसको लागत बेहोर्नुपर्ने हुन्छ।
“कहिलेकाहीँ, बिरुवा सुक्न वा बिग्रन सक्छ”, बिकेश भन्छन्, “यस्तो अवस्थामा ग्राहकले नयाँ बिरुवा किन्नुपर्छ।”
माया नर्सरीले घर, अफिस, बैङ्क लगायतका स्थानहरूमा बोटबिरुवालाई मलजल गर्ने गरी हप्ताको एक पटक वा आवश्यकताअनुसार सेवा प्रदान गर्छ। यसकालागी स्टाफले ३,५०० रुपैयाँ सेवा शुल्क लिने गरिएको बिकेश बताउँछन्।
आयातमा आधारित नेपालको नर्सरी उद्योग
नेपालमा जे जति पनि नर्सरीहरू छन्, त्यसमा उपलब्ध हुने प्राय: फुल बिरुवाहरु नेपालमा उपलब्ध नहुने बिकेश बताउँछन्। मौसमी फुलदेखि अन्य किसिमका बोटबिरुवाको बिउँहरू विदेशबाट आयात हुन्छन्। यसरी आयात गर्नकालागि व्यवसाय सञ्चालन गर्नेहरू नर्सरी सङ्घमा आबद्ध भएको हुनुपर्छ।
बिकेशका अनुसार माया नर्सरीमा उपलब्ध रहेका फुल बिरुवा तथा बिउँहरू पनि बाहिरी देश बाटै ल्याउने गरिएको छ।
“अमेरिका, नेदरल्याणड जस्ता देशबाट हामीले बिउ अर्डर गर्छौं”, उनी भन्छन्, “धेरै जसो भारतबाट आउँछ। सिजन अनुसारका फूलहरू ल्याउने हुँदा, त्यही अनुसार ल्याउने गरेका छौँ।”
माया नर्सरीको स्थापनाकाल देखि नै यहाँ बोटबिरुवा आयात हुँदै आएका हुन्। धेरै जसो बोटबिरुवा कलकत्ताबाट ल्याउने गरेको बत्ताउँछन् बिकेश ।
साढे तिन रोपनी जग्गामा पाँच लाखको लगानी
२०६० सालमा बिकेशका बुबाले रु पाँच लाख लगानी गरेर माया नर्सरी सुरु गरेका थिए। त्यति बेला नर्सरीको क्षेत्रफल साढे तीन रोपनीमा फैलिएको थियो।
काठमाडौँमा बढ्दो सहरीकरणका कारण घरहरू फैलिँदै गए त खाली जग्गा जमिन खुम्चँदै गयो। माया नर्सरीको क्षेत्रफल पनि हाल १२ आनामा फैलिएको छ।
“सुरुवाती दिनमा ३ रोपनी जग्गाको भाडा रु ५,००० थियो, जुन बिस्तारै बढ्दै गयो”, उनी भन्छन् “एक समयमा पुगेपछि महँगिएको भाडदारमा ३ रोपनी जग्गा लिइराख्न नसकिने महसुस भएरै यता १२ आनामा सरेका छौं।”
माया नर्सरीले हाल ५ जनालाई रोजगारी दिइरहेको छ। जसमध्ये ३ जना बाहिरी कामकाजमा हिँड्ने गरेका छन् भने २ जना नर्सरीका कामकाजमा संलग्न छन्। अन्य कामदार बाहेक बिकेशको परिवारले पनि पूरा समय नर्सरी मै दिने गरेका छन्। उनका बुबा, आमा र उनी आँफै नर्सरीका काममा खटिएका हुन्छन्।
“मेरा दुई भाइहरू छन्”, बिकेश भन्छन्, “उनीहरू आफ्नै क्षेत्रमा क्रियाशील छन्। मलाई भने बुबाले सुरु गर्नु भएकै व्यवसायलाई निरन्तरता दिने मन भयो।”
माया नर्सरीमा नर्सरीबाट दैनिक ४,००० को कारोबार हुन्छ। बाहिरी फिल्डमा जाने, गार्डेनिङ आदिको माग भने घटबढ भइरहने बत्ताउँछन् बिकेश।

कोरोना महामारीले सबै व्यवसायमा असर गरिरहँदा बिकेशको नर्सरी पनि त्यसबाट अछुतो रहन सकेन। उनको व्यापार पनि कोरोना महामारी यता केही सुस्ताएको छ। उनी भन्छन्, “नेपालमा आर्थिक मन्दी छाए सँगै मान्छेहरूको प्राथमिकता रहरबाट हटेर अत्यावश्यक वस्तुमा सरेको छ। यसले गर्दा व्यापार घटेको छ।”
मौसमी फूलको व्यापार धेरै, घरभित्र राखिने बिरुवाको मार्जिन बढि
माया नर्सरीमा धेरै व्यापार मौसमी फुल र विरुवाहरुको हुन्छ। तर, तिनमा खासै धेरै मार्जिन नबस्ने बत्ताउँछन् बिकेश।
“कारोवार त मौसमी बिरुवाको धेरै भए पनि सजावटकालागि राखिने बोटविरुवामा आम्दानी धेरै हुन्छ”, उनी भन्छन्।
बगैँचा बनाउने, दुबोहरु लगाउने जस्ता काममा भने नर्सरीले वर्ग फिट हेरेर मूल्य निर्धारण गर्छ। बिकेश भन्छन्, “एक स्क्वायर फिट दूबोको ३० रुपैयाँ पर्न जान्छ। त्यहाँ दूबो लगाउनेको पारिश्रमिक र यातायात खर्चहरु जोड्दा ५० रुपैयाँ हुन जान्छ।”

बोटबिरुवाले पनि खोज्छन् हेरचाह
धेरै समय बोटविरुवासँग बिताएका बिकेश विरुवालाई पनि हेरचाह आवश्यक पर्ने बताउँछन्।
“बिरुवामा मुख्यत पानी चाहिन्छ”, उनी भन्छन्, “बोटबिरुवा पनि सजिव हुने हुँदा उनीहरुलाई खाना चाहिन्छ र उनीहरुको खाना भनेकै मल हो। दुई, तीन महिनाको अन्तरालमा मल हाल्नु पर्छ।”
उनका अनुसार घरभित्र राख्ने बिरुवाहरूलाई हप्तामा एक पटक वा १० दिनमा पानी आवश्यक हुन्छ भने मौसमी फूल, बिरुवाहरूलाई नियमित रूपमा पानी हाल्नुपर्छ। उनी भन्छन् “मौसमी फुल त घाममै हुन्छन्। तर घरभित्र राख्ने विरुवालाई पनि कहिलेकाही घाम र हावा दिनु पर्छ। प्रत्यक्ष घामपार्न नहुने विरुवालाई छायाँ पारेर घाम दिनुपर्छ।”
कति ग्राहकले हेरचाह गर्ने तरिका थाहा नहुँदा बोटबिरुवा मर्ने गरेको गुनासो पनि लिएर आउछन्। बिकेशले उनीहरुलाई हेरचाहको तरिकाहरु सिकाउँछन्। उनी भन्छन्, “कतिले बिरुवा छिटो बढ्छ सोचेर दैनिक पानी हाल्नु हुन्छ। त्यस्तोमा हामी कसरी बिरुवाको ख्याल राख्ने सिकाउँछौ।”
बिकेश आफुले गरिरहेको काम प्रति सन्तुष्ट छन्। उनलाई नर्सरीमा फुल, बोटविरुवा र हरियालीसँग काम गर्न निकै रमाइलो लाग्छ।
“गर्न सक्ने हो भने त विदेश भन्दा नेपाल मै बसेको राम्रो हो”, उनी भन्छन् “तर व्यवसायमा सरकारको साथ सन्तोषजनक नहुँदा धेरै युवा विदेशिएकाछन्। सरकारले पनि युवालाई प्रोत्साहन गर्ने र व्यवसायिक वातावरणको सिर्जना गरिदिने हो भने त नेपालमै राम्रो अवसर छ।’