वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफन्डको १ करोड युरो इक्विटी लगानी

वर्ल्डलिंकले आफ्नो नयाँ लगानीमार्फत वर्तमान फाइबर नेटवर्कलाई विस्तार गर्न र डिजिटल कनेक्टिविटीमार्फत शहरी-ग्रामीण खाडललाई पुर्ने लक्ष्य राख्दछ।

फिनल्यान्डको सरकारी स्वामित्वमा रहेको विकास वित्तपोषक संस्था फिनफण्डले वर्ल्डलिंक कम्युनिकेसन्समा १ करोड युरोको इक्विटी लगानी गरेको छ। यस लगानीले हालको फाइबर संजाल  विस्तार गर्न र देशमा पहिलो टियर ३ डाटा सेन्टर निर्माण गर्न मद्दत पुर्याउने योजना रहेको छ।

ब्रोडब्यान्ड इन्टरनेट अझै पनि कुल जनसंख्याको आधाभन्दा बढीलाई पहुँचयोग्य त छैन नै, शहरी र ग्रामीण क्षेत्र बीच ठूलो खाडल पनि रहेको छ। विश्वस्तरीय डाटा सेन्टरले प्रयोगकर्ताहरूलाई उच्च गतिको इन्टरनेट कनेक्टिविटी प्रदान गर्नुका साथै अर्थतन्त्र वृद्धिमा मद्दत पुर्याउनेछ।

वर्ल्डलिंक कम्युनिकेसन्सको थालनी अमेरिकी इन्टरनेट डायल-अप लिंकमार्फत ‘स्टोर-एण्ड-फर्वार्ड’ इमेल सेवाबाट भएको थियो। निरन्तर व्यापार वृद्धिको चाहनाले कम्पनीलाई पूर्ण इन्टरनेट सेवा प्रदान गर्ने दिशामा अघि बढायो।

आज, नेपालमा ३५% ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको यस कम्पनीले ५,००० व्यक्तिहरूलाई आय सृजनाका अवसरहरू प्रदान गर्दछ। देशका ७७ मध्ये ७३ जिल्लामा सेवा विस्तार गरेर ९ लाखभन्दा बढी घरधुरीमा पुगेको वर्ल्डलिंक देशको सबैभन्दा ठूला इन्टरनेट र संजाल सेवा प्रदायकहरूमध्ये एक बनेको छ।

“फिनफण्डले डिजिटल पूर्वाधारमा गरेको लगानीले समुदायहरूलाई उच्च गतिको, सस्तो र भरपर्दो इन्टरनेट उपलब्ध गराउने लक्ष्य राख्दछ, र वर्ल्डलिंकले आफ्नो सेवाहरूलाई नेपालका ग्रामीण एवं दुर्गम क्षेत्रहरूमा विस्तार गरेर नेपालमा डिजिटल खाडल घटाउने कार्य गर्दै आएको छ,” फिनफण्डका सीनियर इन्भेस्टमेन्ट म्यानेजर, डिजिटल पूर्वाधार र समाधान पोर्टफोलियो प्रमुख कूट्टि किल्पेलाइनेनले प्रेस विज्ञप्तिमा भने। “फिनल्याण्डको प्रभावकारी लगानीकर्ता भएको कारण हामीलाई गर्व छ कि वर्ल्डलिंकले आफ्नो इन्टरनेट सेवाहरूलाई सुधार गर्न नोकीयाको उन्नत प्रविधि प्रयोग गर्छ।”

वर्ल्डलिंक कम्युनिकेसन्स र नोकीया बीचको सहकार्यले भरपर्दो तरिकामा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।

वर्ल्डलिंकको विस्तारसँगै, ग्राहकहरूले गुणस्तरीय इन्टरनेट सेवाको फाइदा उठाउने अपेक्षा गरिएको छ, जसले अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम कम्पनी, र निजी र सार्वजनिक क्षेत्रका संस्थाहरूलाई पनि प्रतिस्पर्धात्मक रुपमा सेवा सुदृढ गर्न उत्प्रेरित गर्नेछ ।

उनीहरूको विस्तारले हालको सीमित कनेक्टिविटीलाई वृद्धिको बाधा मान्ने लघु, साना तथा मझौला उद्यमलाई पनि मद्दत पुर्याउनेछ। विशेष गरी पिछडिएका क्षेत्रका उद्यमरूलाई स्थानिय र अन्तराष्ट्रिय  स्तरमा आफ्नो पहुँच बढाउन सहयोग पुर्याउनेछ।