साना तथा मझयौला उद्यमको क्षेत्रमा क्षमता भएपनि एमएसएमइहरुले सामना गर्नुपर्ने विविध चुनौतिहरुमध्ये एक वित्तिय अभाव हो। तर सफलता र वृद्धिको बाटोमा अर्को ठुलो बाधक भने यी उद्यमहरुको आन्तरिक वित्तिय योजना र व्यवस्थापनको ठाउँमा रहेको कमि-कमजोरी देखिन्छ।
बजारको अवस्था अस्थिर र प्रतिकूल हुँदा पनि उचित वित्तिय योजाना गर्दा व्यवसायहरुले वित्तिय तरलता सन्तुलनमा राख्न सक्छन्। अन्यथा व्यापारिक अवसरहरु गुमाउनु, आयमा हानि पुग्नु देखि लिएर व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आउनसक्ने सम्भावना रहन्छ। र यस्ता घटना असामान्य पनि छैनन्।
एक व्यापार संचालक भएको हकमा दुर्घटना, बन्द-हड्ताल, आर्थिक मन्दी, आदि-इत्यादी जस्ता आकस्मिक र अनुमान गर्न नसकिने परिस्थितिको सामना गर्न तपाईं तयार रहनुपर्छ। येस्तै जटिल व्यवसायिक र आर्थिक परिवेशमा विवेकशील निर्णय गर्दै आफ्नो व्यवसायलाई दिगो वृद्धिको बाटोतिर उन्मुख गराउन पनि वित्तिय योजना अपरिहार्य छ।
वित्त आफ्नो नियन्त्रणमा रहँदा र आफूसंग पर्याप्त नगद अधिशेष हुँदा अरु विभिन्न अवसरहरु प्रस्तूत हुन्छन्, जस्तै
- अरु नयाँ उत्पादन वा व्यवसाय थप
- व्यापारिक गतिविधि सहज र सुमधुर बनाउन पुन: लगानी
- लगानीलाई प्यासिभ इन्कममा परिणित गर्नु (सबै हिसाब नबुझी प्रलोभित भई यसम हम्मिनु चाँही हुन्न)
- नयाँ क्षेत्रमा व्यवसाय विस्तारण
- सस्तो हुँदा कच्चा पदार्थ बिक्रि तथा भण्डारण
एमएसएमइ का लागि वित्तिय व्यवस्थापन गर्नु पछाडिको उद्देश्य र यसको महत्व दर्शाउने केहि उदाहरण हेँरौ:
स्रोत विनियोजन: दरिलो वित्तिय व्यवस्थापन गर्दा एमएसएमइहरुले आफ्ना सीमित स्रोतसाधन कुशलतापुर्वक परिचालन गर्न सक्छन। जस्तै, कुनै एउटा सानो उत्पादन व्यवसायले मूल्य निर्धारण तथा आपूर्ति निर्णय, उपयुक्त उत्पादन तहको छनोट तथा कुशल स्टक व्यवस्थापन गर्न सक्छन्। यसले स्रोतहरु पूर्णरुपले उपयोग हुने कुरा निश्चित गर्छ, जसको परिणामस्वरुप क्षय कम भई राजस्वमा वृद्धि हुन जान्छ।
नगद प्रवाह व्यवस्थापन: व्यवसायहरुलाई निरन्तर नगद प्रवाह कायम राख्न समस्या हुन सक्छ। वित्तिय नियन्त्रणका विधि कार्यन्वयन गर्दा एउटा सानो खुद्रा व्यवसायले पनि आफ्ना चालु खर्च पुर्याउन, समयमा सप्लायरलाई भुक्तानी गर्नुपर्ने रकम जुटाउन, र बिक्रीवितरणमा आउने मौसमी बदलाव झेल्नका लागि आफुसँग पर्याप्त हाते नगद हुने कुरा निश्चित रहनछ । परिणाम स्वरूप व्यवसायीहरुले आफ्नो कम्पनीको फाईन्यन्सेस अझ राम्ररी व्यवस्थापन गर्न सक्दछन् र व्यवसाय विस्तार गर्ने ठाउँ पनि रहन्छ।
कोषमा पहुँच: नेपालका एमएसएमईहरू अपुग कोल्याटरल र खराब क्रेडिट इतिहास जस्ता धेरै समस्याहरूको कारण थप फईन्यान्सिङ्ग पाउन कठिनाईको सामना गरिरहेको हुन्छन्। उदाहरणका लागि, कुनै एउटा आई.टि (IT) कम्पनीले लगानीकर्ताहरूलाई लोभ्याउन वा वित्तीय संस्थाहरूबाट लगानी पाउन विस्तृत व्यापार योजना, सही वित्तीय अनुमान, र कसीलो वित्तीय नियन्त्रण जस्ता पैसा व्यवस्थापनका रणनीतिहरू परिचालन गरि थप वित्तीय सेवाहरू प्राप्त गर्ने सम्भावनाहरू सुधार गर्न सक्छ। यसो गर्दा हुन जाने वित्तिय पारदर्शिता र व्यवस्थापनका कारण त्यस कम्पनीले सहज रुपमा फन्डिङ्ग पाउन सक्छ।
जोखिम न्यूनीकरण: अस्थिर बजार, आर्थिक उतार-चढाव, नियमहरूमा परिवर्तन र तिनको पालनाका मुद्दाहरू सामान्यतः व्यापारहरुले अनुभव गर्नसक्ने केहि जोखिम र चुनौतीहरू हुन्। वित्तीय व्यवस्थापनले एमएसएमईहरूलाई यस्ता जोखिमहरुको पहिचान गरी तीनका न्यूनीकरणमा सहयोग गरेर वित्तीय जोखिम र चुनौतीहरूबाट बच्न मद्दत गर्न सक्छ।
जोखिम व्यवस्थापन र वित्तीय स्थिरताको लागि तपाईंले आफ्नो उत्पादन र ग्राहक वर्गमा विविधता ल्याउनुपर्ने हुन्छ। यो सँगसँगै नियामहरुमा हुने परिवर्तनहरुसँग जानकार रहँदै एउटा आपतकालीन कोषको पनि सिर्जना गर्नुहोस्। बजारी अवस्था र परिवर्तनहरू अनुगमन गर्नुका साथै ग्राहक र सप्लायरसँग बलियो सम्बन्ध निर्माण, र परिवर्तित नियमहरुको अनुपालन प्रक्रिया सहज र छरितो हुनजाने प्रणाली विकास गर्नु पनि आवस्यक हुन्छ।
विविधीकरण गर्दा तपाईंले कुनै एउटा बजार वा ग्राहक वर्गमा मात्र भर पर्नुपर्ने हुँदैन। साथै, आकस्मिक कोष सिर्जना गरेको खण्डमा तपाईंलाई अप्रत्याशित परिस्थितिहरूमा आर्थिक समस्या र चुनौतीहरू सामना गर्न मद्दत पुग्छ।
जस्तै, कुनै एउटा कृषि फर्मले प्राकृतिक प्रकोप, मूल्य उतार-चढाव, वा उपभोक्ताको मागमा परिवर्तन हुँदा परिआउने समस्याहरुलाई सामना गर्न बाली बीमा, उत्पादन विविधीकरण, र बजार प्रवृत्ति र मूल्य अनुगमन जस्ता जोखिम व्यवस्थापनका विधिहरु प्रयोगमा ल्याउन सक्छ।
नाफा सुधारीकारण: कुनै पनि व्यवसायीक संगठनको मुख्य प्राथमिकता नाफा हुन्छ, जुन पूर्णरुपमा त्यस व्यवसायले आफ्ना स्रोतहरू कत्तिको उचित प्रयोजनमा ल्याएको छ भन्ने कुरामा भर पर्छ। वित्तीय व्यवस्थापन गर्दा लागत-मात्रा-नाफा विश्लेषण, बजारी अनुपात र प्रवृत्ति विश्लेषण, र बजेट नियन्त्रण जस्ता प्रभावकारी वित्तीय नियन्त्रणका उपकरणहरू प्रयोगमा ल्याएर कम्पनीको नाफा बढाउन सहयोग पुर्याँउछ ।
जस्तै, नेपालको कुनै एउटा सानो पर्यटन कम्पनीले आफ्नो कारोवारको स्थिति मूल्याङ्कन गर्न, लगानीका अवसरहरू खोज्न र नयाँ बजारमा बढ्ने वा नयाँ सेवाहरू प्रदान गर्ने योजनाहरू विकास गर्न सक्छ। फलस्वरूप एमएसएमईहरूले बजारमा आफ्नो हिस्सा बढाउन बजारी विस्तारका अवसरहरू समाउन सक्नेछन्।
उचित परिचालन: वित्त व्यवस्थापन कुनै पनि व्यवसायको लागि आवश्यक छ। वित्त प्रबन्धकहरूले पूँजीको विनियोजन र प्रयोगको मूल्याङ्कन गर्दै महत्त्वपूर्ण निर्णयहरू गर्नुपर्ने हुन्छ।
स्टक, सामग्री वा अरु साना व्यापारमा लगानी गर्ने प्रक्रिया पछाडीका सम्पूर्ण महत्वपूर्ण तत्वहरु ध्यानमा राख्नुपर्ने हुन्छ। विभिन्न वित्तिय विकल्पहरू लागू गर्दा एउटा कम्पनीले आफ्नो स्रोतहरू प्रभावकारी रूपमा परिचालन गर्दै समग्र वित्तीय स्थिति सुदृढ गर्न सक्छ।
वित्तीय व्यवस्थापनका तत्वहरू:
वित्तीय व्यवस्थापनका तीनवटा प्राथमिक तत्वहरू हेरौँ
वित्तीय योजना: तपाईंको व्यवसायको लागि छोटो तथा दीर्घकालीन वित्तीय लक्ष्यहरू निर्धारण गर्नु वित्तीय योजनाको भाग हो। यस अन्तर्गत बिक्रि अनुमान, खर्च मूल्याङ्कनका साथै आर्थिक लक्ष्य पूरा गर्न बनाईने योजना पर्दछन्। उचित वित्तीय योजना तयार गर्न तपाईंले निम्न आधारभूत प्रश्नहरूलाई सम्बोधन गर्न आवश्यक छ:
- के तपाइँको व्यावसायिक उद्देश्य र लक्ष्यहरू निश्चित र निर्धारित छन्?
- तपाईंको ब्रान्डको दीर्घकालीन लक्ष्यहरू के हुन्?
- व्यवसाय टिक्नका लागि कस्तो प्रकारको फन्डीङ्ग आवश्यक छ?
- तपाइँको कम्पनीको आफ्नै के-कस्ता नियम र नीतिहरू छन्?
वित्तीय नियन्त्रण: वित्तीय नियन्त्रण अन्तर्गत कुनै पनि व्यवसायले आफ्नो उद्देश्यहरू पूरा गर्न सक्छ भन्ने कुरा सुनिश्चित गर्नु पर्दछ।
यसका लागि सामान्यतया जोखिम व्यवस्थापन, वित्तीय पूर्वानुमान, नाफा र लागत नियन्त्रण जस्ता विविध वित्तीय उपकरणहरू प्रयोगमा ल्याईन्छ।
वित्तीय निर्णय: कम्पनी सञ्चालन र पूँजी लगानीको लागि ऋण र ईक्वीटिबीचको सहि अनुपात छनोटले नै सबै वित्तीय निर्णयहरूको सुरूवाती बिन्दु तय गर्छ। तसर्थ, निर्णयकर्ताहरूले सबै वित्तिय कारकहरु बुझी राम्रो योजना बनाएर मात्र स्रोत विनियोजन, नाफा वितरण र अन्य मुद्दाहरूको सम्बोधन गर्नुपर्छ।
प्रविधि र वित्तिय व्यवस्थापन: प्रविधिको प्रयोगले व्यापारिक प्रक्रिया सुव्यवस्थित बनाउनु, खर्च घटाउनु, हिसाबकिताब सुधारनुका साथै वित्तिय स्थितिको तात्कालीक जानकारी पाउन सकिन्छ। लेखा सफ्टवेयर र क्लाउड-बेस्ड उपकरणहरुको प्रयोग तपाईंले आफ्नो व्यवसायको वित्तीय प्रक्रियाहरूमा दक्षता, शुद्धता र नियन्त्रण ल्याउन प्रविधि प्रयोग गर्न सकिने केही तरिकाहरू हुन्।
वित्तीय व्यवस्थापनमा के पर्छ?
वित्तीय योजनाहरू बनाउने र निर्णयहरू लिने धेरैजसो काम वित्तिय प्रबन्धक वा अन्य मुख्य व्यवस्थापन टोली जस्ता शिर्ष-तह व्यवस्थापिकाले गर्दछ। यस्ता टोलीले गर्ने महत्वपुर्ण कार्यहरु मध्ये केहि निम्न अनुसार छन् :
पूंजी अनुमान: एक वित्तीय प्रबन्धकले संगठनलाई कति पूँजी चाहिन्छ भनेर निर्धारण गर्छन्। यसमा अनुमानित लागत, राजस्व, योजना, र अनुमानित घाटा कभर हुन्छ।
सर्वोत्तम पूँजी संरचना निर्धारण: पूंजी अनुमान पूरा भएपछि, तपाईंले
उपयुक्त पूंजी संरचना निर्धारण गर्नु आवश्यक छ। यस चरणमा कम्पनीको पूँजी र उठाइएको कुनै पनि बाह्य कोषलाई ध्यानमा राख्दै छोटो अवधिका र दीर्घकालीन, दुवै प्रकारका ऋण जाँच्न आवश्यक हुन्छ।
कोषको छनोट: ठूलो रकमको आवश्यकता पर्दा पूँजी संरचना विस्तार गरिनुपर्छ। यसका लागि कम्पनीसँग स्टकको शेयर जारी गर्ने र ऋण दायित्वहरू जस्ता विभिन्न प्रावधान छन्। लागू ब्याज दर, रीटर्न, र जोखिमहरू मध्यनजर गर्दै यी सम्भावनाहरूको मूल्याङ्कन गर्न महत्त्वपूर्ण हुन्छ।
लगानी: कम्पनीले कोष वा नाफा थुपार्ने मात्र गर्ने हुदैँन। राजस्व सृजना गर्नु दिगो विकासका लागि अझ बढी महत्त्वपूर्ण हुन्छ। वित्तीय प्रबन्धकले सफल व्यवसायहरूका लागि रकम छुट्याउन वा सुरक्षित लगानीको साथ उचित प्रतिफल पाउने किसिमको लगानी गर्नुपर्छ।
मुनाफा बाँडफाँड: कुनैपनि व्यवसायलाई नाफा वितरणले ठुलो प्रभाव पार्ने हुन्छ। तपाईंको व्यवसायले पैसा कमाउन सुरु गरेपछि प्रभावकारी रूपमा नाफा बाँडफाँड गर्न महत्त्वपूर्ण छ। त्यसका लागि कर्मचारी बोनस, लाभांश, लगानीकर्ताको प्रतिफल, भविष्यको विस्तारको लागि कोष, र अन्य मूल नगद प्रवाह जस्ता पक्षहरु ध्यानमा राखी गरिएको प्रफिट विनियोजनले कर्पोरेट लक्ष्यहरू प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्छ।
नगद व्यवस्थापन: नगद व्यवस्थापनको जिम्मेवारी वित्तीय व्यवस्थापीकासँग निहित हुन्छ। कर्मचारीका तलब, कार्यसंचालनका खर्च, र अन्य दैनिक र मासिक प्रशासनिक खर्चहरुको व्यवस्थापनमा वित्त विभाग सक्रिय र जिम्मेवार छ भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।
वित्तीय नियन्त्रणहरू: वित्त प्रबन्धक बजेट, कोष विनियोजन, र छोटो र दीर्घकालीन सबै वित्तीय मामिलाहरू नियन्त्रण गर्न जिम्मेवार हुन्छन्। यसका लागि वित्तीय पूर्वानुमान, अनुपात विश्लेषण, लागत कटौती, र लाभ-नियन्त्रणका विधि सबै वित्त नियन्त्रणको लागि प्रयोग गर्न सकिन्छ।
व्यवसायहरूको वित्तीय व्यवस्थापनका लागि सुझावहरू:
यदि तपाईं आफ्नो व्यापार विस्तार अथवा नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ र सो व्यवसाय साना तथा मझयौलो उद्यममा पर्छ/पर्नेछ भने कुनैपनि निर्णयहरु लिनुअघि आफुलाई यी प्रश्न सोध्नुहोस्:
- मेरो व्यापारलाई कति पूँजी/प्रारम्भिक लगानी चाहिन्छ?
- के मेरो योजनामा परिआउन सक्ने अप्रत्याशित खर्च सम्बोधन गरिएको छ?
- प्रारम्भिक लगानी कहाँबाट आउनेछ?
- तपाईंको हालको नगद स्थिति के छ?
- नाफा र नगद प्रवाह एउटै कुरा हैनन्। यिनको अर्थ र अन्तरता आफुलाई जानकार गराउनुस्।
- व्यक्तिगत वित्त र व्यापार वित्त पनि एउटै कुरा हैनन्। तिनीहरूबीच नाझुक्कीनुहोस।
- के तपाईं भाडा, कर्मचारी तलब, प्रशासनिक खर्च जस्ता मासिक आवर्ती खर्चहरू पुर्याउन पर्याप्त नगद प्रवाह आगमन गराउन सक्नुहुनेछ?
- बुटस्ट्र्याप: मेरो लागत कटौतीका विकल्पहरू के-के छन्? – वार्षिक भाडा कति हुनेछ? कार्यालयका लागि के म सह-कार्य गर्ने साझा स्पेस रोजूँ वा एउटा सानो व्यक्तिगत अफिस लिउँ? कि घरबाट नै काम गर्न सकिएला? के मलाई सुरुका दिनहरूमा सबै फर्निचर आवस्यक हुन्छ? के मलाई मार्केटिङ एजेन्सी चाहिन्छ कि प्रारम्भिक केहि वर्षहरूमा सोशल मिडिया मार्केटिङबाट नै काम चलाउन सकिन्छ? कि यसका लागि साथीहरूबाट सहयोग मागूँ? कुन क्षेत्रमा कसरि मैले टेक्नोलोजीको फाइदा लिन सक्छु?
- मैले उधारो लिनु पर्दाका विकल्पहरू के-के छन् र सबैभन्दा प्रभावकारी उधारो विकल्प के हो?
- ब्याज दरहरू विचार गर्नुहोस्। बैंकबाट ऋण लिने प्रक्रिया गाह्रो छ भन्दैमा अनौपचारिक श्रोतहरुबाट उच्च-ब्याज दरमा ऋण लिने काम नगर्नुहोस्।
- सम्बन्धहरू पनि विचार गर्नुहोस्। यो एउटा सहज विकल्पको रुपमा प्रस्तुत भएपनि समयमै ऋण तिर्न सक्ने निश्चित नभएसम्म आफ्ना साथी र आफन्तहरूबाट उधारो नलिनुस्। तपाईंले पैसा साथसाथै मीत्रजन र आफन्त दुवै गुमाउन सक्नुहुन्छ।