Nep
Eng
Nep
Eng

लघु, साना तथा मझौला उद्यममा कानुनीदेखि लेखाको सन्दर्भमा के के कुरामा ध्यान दिने?

“विगत ८ वर्ष यही क्षेत्रमा काम गरिरहेको अनुभवमा हामीले भेट्ने पहिलो त्रुटि भनेको औपचारिक रूपमा दर्ता नहुनु नै हो। अहिले हेर्ने हो भने कतिपयले वार्डमा मात्रै दर्ता गर्ने र अन्त नगर्ने गरेको पाइन्छ। साथै, करको दायरामा पनि नगएको अवस्था छ। “

 


 

विशाल बराल विगत ८ वर्षदेखि लेखा व्यवसायमा संलग्न छन्। हाल विशाल एन्ड असोसियट्ससँग आबद्ध रहेका उनी सिएका रूपमा विभिन्न अनुभवहरू बटुलेका छन्। बरालसँग नेपालमा लघु, साना र मझौला उद्यमसँग सम्बन्धित रहेर जानकारीका लागि युवराज भट्टराईले गरेको कुराकानीको सम्पादित अंश।

अहिले नेपालमा एमएसएमई (लघु, साना र मझौला उद्यम) हरूको अवस्था तपाईँ कसरी विश्लेषण देख्नुहुन्छ?

अहिले नेपालको एमएसएमईहरुको कुरा गर्दा पहिला चाहिँ परम्परागत रूपमा कामहरू हुन्थ्यो। अहिले केही हदसम्म यसमा सुधार आएको छ। 

अहिले उनीहरू कर्पोरेट शैलीमा जाने प्रयासहरू गरिरहेका छन्। तर, अब त्यसो भनिरहँदा पूर्ण रूपमा राम्रो भइरहेको छ भन्ने पनि होइन। यसमा नि धेरै सुधार गर्नुपर्ने कुराहरू छ।

तर, पहिलाको तुलनामा चाहिँ अहिले उनीहरू यो आधुनिक डिजिटल कुराहरूदेखि सामाजिक सञ्जालदेखि लिएर सबै कुराहरूमा एउटा टेक्नोलोजी चाहिँ अनुसरण गर्ने प्रयासमा छन्। तर, जुन गतिमा हुनुपर्ने त्यो चाहिँ भइसकेको छैन।

के तपाईँले उद्यमीहरू औपचारिक व्यवसाय संरचनातर्फ बढी आकर्षित भइरहेको देख्नुभएको छ?

पहिलाको तुलनामा चाहिँ भइरहेको छ। किनकि अब करको कानुनदेखि अन्य सबै कुराहरूले उनीहरूलाई कर्पोरेट तथा पारदर्शी रूपमा अघि बढ्न दबाब सिर्जना गरेको छ। तर, हाम्रो अनुभवमा त्यसमा पनि जुन हिसाबले हुनुपर्ने हो, त्यसरी भएको छैन। 

व्यवसायहरू औपचारिक संरचनाअन्तर्गत आइरहँदा यसका फाइदाहरू के कस्ता छन् ?

पहिलो कुरा त जुन अनौपचारिक अर्थतन्त्र थियो, त्यसलाई चाहिँ औपचारिक हुने प्रक्रियाको रूपमा यसलाई बुझ्छु मैले। 

जस्तो कि हजुरको व्यवसाय दर्ता भइसकेपछि व्यवसाय एउटा सरकारी डेटाबेसमा समावेश हुन्छन्। अर्को कुरा तपाईँ प्यानमा आइसकेपछि त्यसमा आयकरदेखि ट्याक्स रिटर्नका कुराहरू भर्नुपर्ने हुन्छ। कर बुझाउनुपर्ने हुन्छ। यसले गर्दा सरकारको ढुकुटीमा पैसा आउने नै भयो। अर्को कुरा चाहिँ हाम्रो औपचारिक अर्थतन्त्रको भ्यालु एडिसन पनि त्यहाँबाट हुने देखिन्छ।

त्यसैले, जुन हिसाबले व्यवसायहरू औपचारिक संरचनातर्फ आइरहेका छन्, औपचारिक अर्थतन्त्रका लागि यो एकदमै सराहनीय छ। अर्को कुरा करका कानुनहरूले गर्दा व्यवसायहरूलाई औपचारिक अर्थतन्त्रमा दस्तावेजिकरण भएर औपचारिक रूपमा नै अघि बढ्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। 

यसले व्यवसायलाई कस्तो फाइदा गर्छ?

एउटा त यसले व्यवसायलाई बैंक तथा वित्तीय संस्थाबाट नयाँ कर्जा लिनका पनि यो एउटा भ्यालुएसन हुन्छ।

अर्को कुरा एउटा योगदान पनि हुन्छ। व्यवसायहरूले आफूले कर तिरिरहेको छु भनेर सरकारको ढुकुटी अथवा हाम्रो अर्थतन्त्रमा केही योगदान गर्‍यौ भन्ने कुरा पनि हुन्छ। औपचारिक संरचनामा आउँदा त्यो योगदानको पहिचान हुन्छ। 

साथै, आयस्रोतलाई औपचारिक बनाएपछि यसले व्यवसाय र व्यवसाय गर्नेलाई पनि भ्लायुएसन गर्ने अवस्था बन्छ।

तपाईँको अनुभवमा, नेपाली उद्यमहरूले सबैभन्दा धेरै गर्ने आम त्रुटिहरू, विशेष गरी अनुपालन (compliance) र वित्तीय व्यवस्थापनका क्षेत्रमा, कुन–कुन हुन्?

विगत ८ वर्ष यही क्षेत्रमा काम गरिरहेको अनुभवमा हामीले भेट्ने पहिलो त्रुटि भनेको औपचारिक रूपमा दर्ता नहुनु नै हो। अहिले हेर्ने हो भने कतिपयले वार्डमा मात्रै दर्ता गर्ने र अन्त नगर्ने गरेको पाइन्छ। साथै, करको दायरामा पनि नगएको अवस्था छ। 

अर्को कुरा जुन ट्रान्जेक्सन थ्रेसहोल्ड (कारोबारको सीमा)को विषय छ, त्यसमा ३० लाखभन्दा बढी भएमा पनि भ्याटमा नजाने जस्तो अवस्था छ। 

त्यसपछिका कुराहरूमा बैंकिङ कारोबार नगर्ने र प्रायः नगद कारोबारहरू गर्ने गरेको पाइन्छ। यसो गर्दा म्यानिपुलेट गर्न पनि सजिलो हुने भयो। 

त्यससँगै भेटिने अन्य गल्तीहरूमा प्रोपर खाताहरू नराख्नु पनि हो। अकाउन्टिङ सिस्टमहरूको सन्दर्भमा उहाँहरूले एउटा परम्परागत रूपमा कागजातमा लेखेर खाता मेन्टेन गरेको पाइन्छ। यो पनि हामीले देखेको एउटा गल्ती हो। कारोबारलाई डिजिटल्ली अथवा प्रोपर अकाउन्टिंग प्रणालीमा राख्न नसकेको हामीले देखिरहेका हुन्छौ। 

धेरै साना व्यवसायहरूका लागि कर तथा कानुनी अनुपालन जटिल र डर लाग्दो विषय हुन्छ। सुरुदेखि नै व्यवसायलाई कानुनी रूपमा सही बाटोमा राख्न उनीहरूले के–के व्यवहारिक कदम चाल्न सक्छन्?

पहिलो कुरा त व्यवसाय गर्ने एक जना पेशागत विज्ञको सहयोग लिनुपर्छ। फाइनान्स सेक्टर अथवा करको क्षेत्रमा काम गर्ने पेशागत विज्ञको सहयोग लिनुपर्छ। सुरुवातमा यो खर्च अलिकति बढी देखिए तापनि दीर्घकालीन रूपमा त्यो खर्च एकदम इफेक्टिभ हुन्छ।

जस्तो कि अहिले हामीले सस्तोको लागि आफ्नै तरिकाले गर्दै गर्छौँ। तर, भविष्यमा यिनै कानुनका कुराहरू नबुझेका कारण समस्या हुन्छ। यी कुराहरूमा कहिले पनि एक्सक्युज हुँदैन। भोलीका दिनमा कानुन कम्प्लाई नगरेर जुन जरिवाना आउन सक्छ, त्यो सुरुवातमा हुने खर्च भन्दा धेरै हुन्छ। 

त्यही भएर सुरुवातमा एक जना फाइनान्स एक्सपर्ट अथवा ट्याक्स सम्बन्धी फाइनान्स एक्सपर्टलाई लिएर काम गर्नुपर्छ भन्ने म देख्छु।

अर्को कुरा भनेको कर सम्बन्धी कुराहरूमा पनि जानकारी राख्दै अघि बढ्नुपर्छ। 

यी सबैभन्दा पहिला चाहिँ एक जना विज्ञको सहयोग लिएर अगाडि बढ्न म व्यवसाय गर्नेहरूलाई अनुरोध गर्छु। 

आर्थिक अनिश्चितता वा संकटका समयमा उद्यमहरूलाई स्थिर र दिगो बनाउन सहयोग गर्ने कुन–कुन सरल वित्तीय बानीहरू अपनाउन सकिन्छ?

त्यसका लागि व्यवसायको प्रक्षेपण अर्थात् फोर्कास्ट गर्न सक्नुपर्छ। अर्थतन्त्रको चक्रहरू बुझेर अघि बढ्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा कुरा गर्ने हो भने घरजग्गाको क्षेत्रमा एकदमै कम कारोबार भइरहेको छ।

त्यसैले आफ्नो क्षेत्रको व्यवसायमा के के भइरहेको छ भन्ने जस्ता कुराहरू बुझेर अघि बढ्नुपर्छ। अर्को कुरा भनेको अनावश्यक फिक्स्ड एसेटमा लगानी कम गर्नुपर्छ। यीसँगै करको कुराहरू र कानुनको कुराहरू बुझ्दै अघि बढ्नुपर्छ।

नेपालमा साना व्यवसायहरूका लागि ॠण र पुँजीको पहुँच अझै पनि चुनौतीपूर्ण छ। उद्यमीहरूले आफ्नो व्यवसायलाई “बैंक–रेडी” बनाउन के गर्न सक्छन्?

अब बैंक भनेको नाफा नै लिएर काम गर्ने हो। उहाँहरूले ॠण दिने भनेको नै त्यहाँबाट के रिटर्न आउँछ भनेर हो। उहाँहरूले पनि नाफाकै लागि लगानी गर्नुहुन्छ।

बैंकको कर्जाका लागि कन्भिन्स गराउन व्यवसायीले आफ्ना अकाउन्ट्सका खाताहरूदेखि सबै रेकर्डहरू चुस्त दुरुस्त राख्नुपर्छ। व्यवसायको फाइनान्स पर्फमेन्स तथा विश्लेषण पनि गरिन्छ। एसेसमेन्ट गरिन्छ। यसका लागि सबै आवश्यक कागजात, लेखासम्बन्धी सबै खाताहरू व्यवस्थित गरेर राख्ने र रेकर्डहरू बैंकलाई उपलब्ध गराउन सक्ने हुनुपर्छ। 

अर्को कुरा व्यवसायले कर तिरेको छ वा छैन, कानुनी कुराहरूलाई अनुपालन गरेको छ वा छैन भन्नेजस्ता कुराहरू पनि बैंकहरुले निश्चित गर्न खोज्छ।

त्यसको लागि व्यवसायीहरूले कानुनी कुराहरू सबै अनुपालना गरेर अगाडि बढ्नु पर्ने हुन्छ। 

यिनै कारणले गर्दा हामी साना व्यवसायहरूलाई मुख्य गरी अकाउन्टिङका कुराहरू व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने र राख्ने तथा करका कुराहरू सबै परिपालन गर्न भन्छौँ। त्यसो गरेर मात्रै बैंकहरूलाई कन्भिन्स गराउन सजिलो हुन्छ। 

चार्टर्ड एकाउन्टेन्ट र पेशेवर परामर्शदाताहरूले नेपालमा लघु, साना तथा मझौला उद्यम क्षेत्र सुदृढ पार्न कसरी अझ सक्रिय भूमिका खेल्न सक्छन्?

चार्टर्ड एकाउन्टेन्टको रूपमा चाहिँ मैले अनुभवहरूको कुरा गर्दा साना व्यवसायीहरूलाई कानुनको कुराहरू, जस्तो कि व्यवसाय दर्ताका कुरा, करका कानुनहरूको कुराहरूको विषयमा काम गर्न सुझाव दिन्छु। साथै, व्यावसायिक परियोजनाका विषयमा काम गर्न भन्छु। कुनै बैंकमा बुझाउनु पर्ने हुनसक्छ, त्यसका लागि वित्तीय फोर्कास्ट (फाइनान्स प्रोजेक्सन) को विषयमा उहाँहरूलाई सहयोग गर्न सक्नुपर्छ। 

मुख्य कुरा चाहिँ उहाँहरूलाई कानुनको कुराहरू कसरी अनुपालन गर्ने भन्ने विषयमा विशेष रूपमा काम गर्न सकेमा व्यवसायीहरूलाई अघि बढ्न सहयोग गर्न सकिन्छ जस्तो लाग्छ।

अहिलेको बदलिँदो कानुनी र नीतिगत वातावरणमा नयाँ व्यवसाय सुरु गर्न चाहने उद्यमीहरूका लागि तपाईँको मुख्य सल्लाह के छ?

पहिला त कुन किसिमको व्यवसाय गर्न खोजिएको छ, त्यसमा दर्ताको कुराहरूमा ध्यान दिनुपर्छ। कहाँ गर्ने, कुन नियामक निकायमा दर्ता गर्ने, कसरी स्वीकृति लिने, कहाँ लिनेजस्ता कुराहरू पहिला बुझ्नुपर्छ। 

अब व्यवसाय दर्ताको कुरा गर्दा वार्डमा होला, त्यसपछि घरेलु कार्यालयमा होला। त्यसपछि करको कुराहरू होला। यी कुराहरू पनि पहिला बुझ्न सकियो भने फाइदा हुन्छ। 

त्यसपछिको कुराहरू भनेको योजनाको कुराहरू हो। कारोबारहरू सबै बैंकमार्फत गर्नुहोला भन्छु। कारोबार बैंकबाट हुँदा भोलीको दिनमा कर वा अन्य नियामक निकायले हेर्न सक्छ, इन्स्पेक्सन गर्न सक्छ। ती कुराहरूमा एकदमै सहजतापूर्वक अगाडि बढ्न सकिन्छ। त्यसैले बैंकिङ कारोबारहरू गर्नुहोला। 

त्यसपछिको कुरा भनेको कर्जाको कुराहरू हुन्छ। बैंक वित्तीय संस्थाबाट ॠण लिनको लागि चाहिँ प्रोपर बुक्स अफ अकाउन्ट्सहरु मेन्टेन गर्नुभयो भने व्यवसायीहरूलाई त्यस्तो समस्या पर्ला जस्तो मलाई लाग्दैन। व्यवसाय सहज तरिकाले चाहिँ अगाडि बढ्न सक्छ।

नेपालमा प्रायः एउटा व्यवसायमा लगानी भयो भने सबैतिर त्यसकै लहर आउने गर्छ। चिया पसल खुले चियाकै अन्य पसलहरू खुल्छन्। नयाँ क्षेत्रमा लगानी जान नसकी रहेको हो?

यो कुरा एकदमै जायज हो। अहिलेको अवस्था यस्तै छ। हाम्रो काठमाडौँदेखि अन्य क्षेत्रमा पनि चिया पसलको एउटा ट्रेन्ड आइरहेको छ।

यसमा के गर्नुपर्‍यो भने नयाँ क्षेत्रहरू पहिचान गर्नुपर्छ। सम्भावित क्षेत्रहरू हाम्रा युवा उद्यमीले पहिचान गर्न सक्नु भयो र अलिकति मिहेनत गरेर त्यसमा काम गर्न सकेर केही इनोभेसन गरेर अघि बढ्न सक्नु भएमा राम्रो हुन्छ। किनकि एउटै क्षेत्रमा जाँदा एक दिन त्यसको अधिकतम बिन्दु (स्याचुरेसन पोइन्ट) आउँछ। हरेक क्षेत्रमा त्यो बिन्दुको अवस्था हुन्छ। अब चियाकै उदाहरणमा हेर्दा यो लगभग त्यो लेभलमा पुगिसकेको छ। 

अब त्यस्तै खालको ट्रेन्डमा जानुभन्दा केही नयाँ गरेर अगाडि बढ्नु भयो भने त्यसबाट चाहिँ जुन एउटा सुरुको उद्यमीले नाफा कमाउन सक्ने हुन्छ नि, त्यो चाहिँ हजुरहरुले चाहिँ गर्न सक्नुहुन्छ। 

नेपालको सन्दर्भमा लघु, साना तथा मझौला उद्यमको अवस्था र यसलाई लिएर राज्यले गरिरहेको काम कस्तो देख्नुहुन्छ?

अब नेपालको सन्दर्भमा चाहिँ लघु, साना तथा मझौला उद्यमले अर्थतन्त्र र रोजगारीमा ठुलै प्रतिशत कभर गर्छ। करिब ७० प्रतिशत रोजगार सिर्जना गरेर योगदान गरिरहेको छ। त्यसैले यो सरकारले पनि ध्यान दिनुपर्ने क्षेत्र हो। 

जति पनि नयाँ उद्यमहरू लिएर आउने युवापुस्ता हुनुहुन्छ, उहाँहरूको लागि पर्याप्त पुँजीको कुराहरू आउँछ। सबैका लागि पुँजी उपलब्ध गराउन नपुग्ला। तर, त्यसका लागि पनि राज्यले भूमिका खेल्न सक्छ। अनुपालनको कुराहरू देखि व्यवसायमा एउटा ट्रेड अफ गरेर अगाडि बढ्नु भयो भने नेपालमा लघु, साना तथा मझौला उद्यमको राम्रो भविष्य छ। यसलाई लार्ज स्केलमा पनि लिएर जान सकिन्छ। यसमा उज्ज्वल भविष्य हुने म देख्छु।

लेख सेयर गर्नुहोस्