Nep
Eng
Nep
Eng

This post is also available in: English

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

छविलाल पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन्।
तस्बिर: रासस

 


 

फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ।

कालीगण्डकी नदी किनारमा रहेको उहाँको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गर्नुभएको हो। दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उहाँ अहिले गाउँको उदाहरणीय किसान बन्नुभएको छ।

पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन्। सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुुसी हुनुहुन्छ।

उहाँले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गर्नुभएको छ।पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गर्नुभयो।

यसैगरी, उहाँले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गर्नुभएको छ। आठ रोपनी क्षेत्रफलमा काक्रोखेतीगर्नुभएको छ। उहाँले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गर्नुभएको छ। कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पुर्याएको छ।

त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग/करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो।

लेख सेयर गर्नुहोस्

तस्बिर: रासस