Nep
Eng
Nep
Eng

This post is also available in: English

प्रविधि विस्तारबाट गहुँको उत्पादन बढाइने

रुपन्देहीमा आयोजना गरिएको उन्नत गहुँखेती प्रविधि तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागिता थियो।
तस्बिर: डा. रुडिगर वेन्जेल, पार्किम | विकिमीडिया कमन्स

 


 

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका किसान अजयकुमार यादव परम्परागत तरिकाले गहुँखेती गर्दै आउनुभएको थियो। भारतीय सीमा क्षेत्रसँग नजिक भएकाले उहाँले भारतबाट गहुँको बीउ ल्याएर प्रयोग गर्दै आउनुभएको छ। आवश्यक प्राविधिक ज्ञानको अभावमा पर्याप्त उत्पादन लिन पनि सक्नुभएको थिएन। गहुँ उत्पादन राम्रो आम्दानी लिने सोचका साथ यादव राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको उन्नत गहुँखेती प्रविधि तालिममा सहभागी हुनुभयो।

तालिमका क्रममा उहाँले उन्नत जातको प्रमाणित बीउ छनोट गर्ने विधि, छर्ने तरिका, सन्तुलित मलखाद व्यवस्थापन, समयमै सिँचाइ, रोग तथा कीरा व्यवस्थापन र उत्पादन वृद्धि गर्ने आधुनिक अभ्यासबारे प्राविधिक ज्ञान हासिल गर्नुभयो। एकहप्ते तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्नेमात्र होइन, गाउँका अन्य किसान दाजुभाइलाई समेत सिकाउने प्रतिबद्धता यादवले व्यक्त गर्नुभएको छ।

रुपन्देहीमा आयोजना गरिएको तालिममा २४ जिल्लामा २५ जना किसानको सहभागिता थियो। तालिममा किसानबाहेक १५ जना सम्बन्धित विषयका विद्यार्थीहरू पनि तालिममा सहभागी थिए। एक हप्तासम्म किसानलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट उन्नत गहुँखेती प्रविधि तालिम सिकाइएको थियो। तालिममा सहभागी अधिकांश किसानलाई नयाँ विकास गरिएका गहुँका जातबारेसमेत थाहा थिएन। अधिकांशलाई कुन जातको गहुँको बीउ छरेको भन्ने पनि थाहा नभएको अनुभव सुनाए।

विज्ञापनहरू

तालिमा उपयुक्त जात छनोट कसरी गर्ने, बीउ उपचार, समयमै रोपाइँ, लाइनमा छर्ने विधि सिकाइएको थियो। माटो परीक्षण गरेर सन्तुलित मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ व्यवस्थापन, रोग र कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र भण्डारणजस्ता कुरा किसानलाई सिकाइएको भैरहवा राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक डा रोशन बस्नेतले बताउनुभयो।

नेपाल कृषि अनुसन्धान परिषद् बाली तथा बागवानी अनुसन्धान निर्देशक डा टेकप्रसाद गोतामेलेका अनुसार राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले खाद्य सुरक्षासँगै पोषण सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्लो छ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरेको छ। हाल थप चार जात सिफारिसको चरणमा रहेको र १३ वटा पुराना जात सिफारिस सूचीबाट हटाइएको छ।

उहाँले अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० तथा पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गा जात विकास गरेको जानकारी दिनुभयो। यी जातमा जिङ्क र आइरनको मात्रा बढी पाइने तथा रोग, कीरा र जलवायु परिवर्तनको असर सहन सक्ने क्षमता उच्च रहेको दाबी गरिएको छ। नयाँ जातबाट प्रतिहेक्टर साढे पाँच टनसम्म उत्पादन लिन सकिने वैज्ञानिकहरूको दाबी छ। वैज्ञानिकहरूका अनुसार उन्नत जात प्रभावकारी रूपमा किसानसम्म पुर्याउन सके र मलखाद तथा सिँचाइको उचित व्यवस्थापन गर्न सके देश गहुँमा आत्मनिर्भरमात्र होइन, निर्यात गर्ने अवस्थासम्म पुग्न सक्छ।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: डा. रुडिगर वेन्जेल, पार्किम | विकिमीडिया कमन्स