नयाँ पुस्ता माझ कफिले आफ्नै एक स्थान बनाएको छ। दिनको सुरुवात गर्न होस् वा व्यस्त दिन पछिको थकान मेट्न, धेरैका लागि कफि सजिलो सहारा बनेको छ। चाहे साथीभाइसँगको अनौपचारिक भेट होस् वा व्यवसायिक छलफल, कफि र क्याफे नै पहिलो रोजाइ बन्छ।
कालिकास्थानस्थित ‘हिमालयन कफि बिन्स’ कफि प्रेमीहरूका लागि यस्तै एउटा गन्तव्य बनेको छ। २०१६ देखि सञ्चालनमा आएको यस क्याफेले करिब एक दशकदेखि कफि पारखीहरूलाई विविध प्रकारका कफि उपलब्ध गराउँदै आइरहेको छ।
रामेछापका जनक बुढाथोकीले हिमालयन कफि बिन्सलाई दानादेखि कपसम्म पुर्याउने सपना बोकेर ‘हिमालयन कफि बिन्स’ सुरु गरेका थिए। एक दशक लामो यो यात्रामा उनले कफिका दाना (कफि बिन्स) रोस्ट गर्ने (भुट्ने) देखि क्याफे सञ्चालन गरेर अनुभव बटुलेको सुनाउँछन्। उनी भन्छन्, “आफूले जागिर गर्दै जाँदा कफि बारे बुझियो। त्यसपछि देशमै केही गर्नुपर्छ भन्ने लागेर मैले हिमालयन कफि बिन्स सुरु गरें।”
तर, यो यात्राको सुरुवात भने धेरै पहिला भएको थियो। उनी अध्ययनका सिलसिलामा काठमाडौं आएका थिए। कामको खोजीमा हिँड्दा उनी ‘हिमालयन जाभा’ नामक क्याफेमा पुगे, जहाँ उनले पहिलो पटक कफि संस्कृतिलाई नजिकबाट बुझ्ने मौका पाए। त्यहाँ उनले कफि तयार गर्ने सीप मात्र नभई, कफिसँग जोडिएका विविध पक्षबारे ज्ञान हासिल गरे। कफि कति डिग्रीमा भुट्ने, कफिको स्वादलाई यथावत राख्न कसरी कफि बनाउनेजस्ता कुराहरुमा आफूले जान पाएको उनी बताउँछन्।
करिब ५–६ वर्षसम्म कफिको क्षेत्रमा अनुभव सँगालेपछि जनकले स्वदेशमै आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरे। आफूसँग भएको सीप र अनुभवलाई निरन्तरता दिँदै उनले ‘हिमालयन कफि बिन्स’ को स्थापना गरे। तर, उनलाई कफिको दाना मात्रै बेच्नु थिएन वा क्याफे मात्रै सञ्चालन गर्नु थिएन्। उनलाई कफि बन्नेदेखि त्यसलाई कपमा राखेर कफि पारखीसम्म पुर्याउने एउटा थलो सञ्चालन गर्नु थियो।
त्यसैले उनले कफिको दाना बेच्नेदेखि त्यसलाई अनुभव पनि गर्न सक्ने एउटा स्थान सिर्जना गरे। अनि सुरु भयो, हिमालयन कफि बिन्स।
व्यवसायको थालनीसँगै उनले एकै साथ क्याफे सञ्चालन र रोस्टेड बिन्सको बिक्री वितरण सुरु गरेका थिए। रेष्टुरेन्टहरुमा कफिको दाना बेच्नेदेखि आफैंले क्याफे सञ्चालन गरेर त्यसको शाखा खोल्नेसम्ममा एक दशकको यात्रा पुरा गरेको बताउँछन् जनक।
कफिमा ब्राण्ड बनाउनको संघर्ष
कुनै पनि व्यवसायलाई ब्राण्डमा रूपान्तरण गर्न सजिलो हुँदैन। यसका लागि व्यवसायीले धेरै पक्षमा सजग रहनुपर्छ। जनकका अनुसार व्यवसायको सफल सञ्चालनका लागि व्यवस्थापनदेखि स्टक व्यवस्थापनसम्म सबै पक्षमा ध्यान दिन आवश्यक हुन्छ। उनी भन्छन्, “केवल कफिको स्वाद मात्र होइन, त्यस पछाडि रहने व्यवस्थापन, आपूर्ति र कर्मचारी समन्वय सबैमा व्यवसायी सजग हुनुपर्छ।”
कफि व्यवसाय सुरु गर्दा जनकले ठुलै लगानी गरे। उनका अनुसार टर्कीबाट ल्याएको टपर कम्पनीको रोस्टिङ मेसिन (कफि भुट्ने मेसिन) मै २०–२२ लाख रुपैयाँ लागेको थियो। कफि बनाउने मेसिनमा पनि ४–५ लाख रुपैयाँको लगानी भएको थियो। कुल मिलाएर झन्डै ३० लाख रुपैयाँको सुरुवाती लगानीमा ‘हिमालयन कफि बिन्स’ सञ्चालनमा ल्याएको उनी सम्झिन्छन्।
यसबीचमा जनकले व्यवसायमा धेरै प्रयोग गरे। सुरुमा काठमाडौं मलको पछाडि रहेको क्याफे पछि कालिकास्थान सारिएको हो। कालिकास्थानमा कफि रोस्ट गरेको हुनेदेखि त्यहि कफि कपसम्म पनि आइपुग्छ।
केही रेस्टुरेन्टहरूमा उनले प्रतिशतको आधारमा साझेदारीमा काम गरे, जहाँ उनी आफैंले कफिको पक्ष हेर्थे। तर, समयसँगै त्यो शैलीमा व्यवसाय सञ्चालन गर्न सहज थिएन। कालान्तरमा उनले केही स्थानबाट आफ्नो सेवा हटाए। केही ठाउँमा भने हाल पनि हिमालयन कफि बिन्सको सेवा कायम नै छ।
उनी भन्छन्, “अहिले अरु रेष्टुरेन्टसँग काम गर्ने भन्दा पनि आफ्नै क्याफेलाई विस्तार गर्ने गरि काम गरिरहेको छु। कालिकास्थानपछि सनसिटीमा पनि हिमालयन बिन्सको शाखा खुलेको छु।”
कफि पारखीका लागि मात्रै नभएर हिमालयन कफि बिन्समा कफि बनाउने तालिम पनि हुन्छ। कालिकास्थानस्थित ‘हिमालयन कफि बिन्स’ मा दिइँदै आएको बारिस्ता प्रशिक्षण कार्यक्रमलाई अब थप व्यवस्थित बनाउने तयारी भइरहेको बताउँछन् उनी। जनक भन्छन्, “हामी अब ‘बिरुवादेखि कपसम्म’ को सम्पूर्ण प्रक्रिया समेट्ने गरी नयाँ कक्षा सञ्चालनको तयारीमा छौं। हामी कफि रोस्ट गर्नेदेखि कफि बनाउन सिकाउनेसम्मका सुविधा दिइरहेका छौं।”
नेपाल र भारतमा उत्पादित कफिको बढ्दो माग
कफिका लागि नेपालमा पर्याप्त मात्रामा कफि उपलब्ध छैन। जनकका अनुसार उत्पादनको सीमितताका कारण हाल भारतबाट आयातित कफिको पनि अत्याधिक प्रयोग हुँदै आएको छ।
क्याफे संस्कृतिको विस्तारसँगै माग बढेपछि नेपालमै उत्पादन भएको कफि नेपाली उपभोक्ताका लागि नै अपुग हुन थालेको जनक बताउँछन्। उनका अनुसार नेपालमा उत्पादन हुने कफि अधिकतम ६ महिनाका लागि मात्र पर्याप्त हुन्छ। बाँकी समयको माग पूर्ति गर्न आयातमा निर्भर रहनुपर्ने अवस्था छ।
‘हिमालयन कफि बिन्स’ मा पनि अहिले नेपाल र भारत दुवैबाट आयात गरिएका बिन्स प्रयोग गरी कफि रोस्ट गरिन्छ। जनक भन्छन्, “अहिले भारतबाट पनि कफि आउने भएकाले माग अनुसारको आपूर्ति गर्न सकेका छौं।”
हाल हिमालयन बिन्सका रोस्टेड कफि उत्पादनहरू काठमाडौं, ललितपुर र भक्तपुरसँगै बुटवल, पोखरा, धनगढी जस्ता विभिन्न शहरसम्म विस्तार भइसकेका छन्। आफूहरुले ‘हिमालयन कफि बिन्स’ कै ब्रान्ड नाममा तयार कफि बिक्री गर्ने गरेको उनी बताउँछन्। क्याफे, रेस्टुरेन्टदेखि निजी आवास र कार्यालयसम्म कफिको नियमित आपूर्ति भइरहेको छ।
हिमालयन बिन्समा हाल दैनिक २०० देखि ३०० केजीसम्म कफि बिन्सको रोस्टिङ गरिने गरिएको छ। र मासिक रूपमा चार टन (४०० किलो) जति रोस्टिङ हिमालयन कफि बिन्सले गर्ने गर्छ।
कफिको आत्मा नै बिन्सको छनोट
जनकका अनुसार कफि व्यवसायमा सबैभन्दा महत्त्वपूर्ण तत्व भनेकै बिन्स हो।
“पहिलो कुरा त बिन्स नै राम्रो हुनुपर्छ, दोस्रो भनेको रोस्टिङ ,” उनी भन्छन्, “१० सेकेन्ड बढी भुट्दा पनि कफिको स्वादमा फरक पर्छ।”
कफिको स्वाद कस्तो आउनेछ भन्ने कुरा बिन्सको गुणस्तर, रोस्टिङको सन्तुलन र बारिस्ताको सीप, यी तीनै कुरामा भर पर्छ।
“यी मध्ये कुनै एक पाटो कमजोर भयो भने, कपमा आउने कफिको स्वाद त्यत्तिकै मधुरो हुन्छ,” जनक भन्छन्।
कफि यात्राको विगत र भविष्य
२०१६ मा कफि व्यवसाय सुरु गर्दाको क्षण सम्झँदा जनक बुढाथोकी भन्छन्, “त्यतिबेला त सीमित क्याफेहरू मात्र थिए। अहिले त घर–घरमै क्याफे खुलेका छन्।”
उनका अनुसार, क्याफे र कफि संस्कृतिको विस्तारसँगै बजार पनि विस्तार भएको छ जसले गर्दा उत्पादन बिक्री गर्न र ब्रान्ड स्थापित गर्न सजिलो भएको छ।
हाल ‘हिमालयन कफि बिन्स’ मा सात जनाले रोजगारी पाएका छन्।
ग्राहकहरूको उपस्थिति सन्तोषजनक छ र व्यवसाय पनि स्थिर रूपमा बढिरहेको जनक बताउँछन्। नेपालमा कफि व्यवसायको सम्भावना देखेपछि नै उनले यस क्षेत्रमा पाइला राखेका हुन्।
“प्राय सबैलाई जस्तै कोरोना महामारीको समय जनकका लागि पनि चुनौतीपूर्ण थियो। त्यतिबेला त व्यवसायभन्दा बढी जीवनको चिन्ता थियो,” जनक सम्झिन्छन्।
त्यसैले उनी क्याफे बन्द गरेर केही समयका लागि गाउँ फर्किए तर अवस्था सामान्य हुन थालेपछि पुनः फर्केर व्यवसायलाई निरन्तरता दिए।
कफि उत्पादनको सम्भावना देखेर उनले केही वर्ष अघि रामेछापमा खेती सुरु गर्ने प्रयास गरेका थिए। तर त्यहाँको जलवायु, विशेषतः तुसारो, कफिका लागि उपयुक्त नभएपछि त्यो प्रयास रोकिएको थियो। यद्यपि उनी भविष्यमा वैकल्पिक क्षेत्रमा कफि खेती गर्ने योजनामा छन्।
कफिको स्वाद मात्र होइन, व्यवसाय पनि उनलाई प्रिय लाग्छ।
“यो क्षेत्र मलाई निकै रमाइलो लागेको छ,” उनी भन्छन्। जनकका अनुसार, जुनसुकै व्यवसायमा लाग्दा पनि धैर्यता जरुरी हुन्छ, र चुनौती आए पनि समाधान सधैं सम्भव छ। “कुनै पनि व्यापार व्यवसाय सुरु गर्नु अघि दुरदर्शिता र राम्रो अनुसन्धान चाहिन्छ,” जनक भन्छन्, “त्यसपछि मात्रै त्यो व्यवसायले सफलताको बाटो समात्छ।”