मार्केटिङ र सञ्चार — परिचय

मार्केटिङ सञ्चार, वा Marcomm, दुई शब्द मार्केटिङ र सञ्चारबाट बनेको हो। मार्केटिङ सञ्चार भनेको के हो भनेर जान्नु अघि मार्केटिङ र सञ्चारको बारेमा छुट्टाछुट्टै जान्न आवश्यक छ । मार्केटिङले उत्पादनहरूको बिक्री बढाउन कम्पनीले अवलम्बन गर्ने गतिविधिहरू समावेश गर्दछ। यसका लागि उनीहरूले विज्ञापन, बजार अनुसन्धान, पुराना ग्राहकहरूलाई भेट्ने, उनीहरूलाई इमेल लेख्ने, सेलिब्रेटीहरूको समर्थन लिने, ध्यान खिच्ने […]

मार्केटिङ सञ्चार, वा Marcomm, दुई शब्द मार्केटिङ र सञ्चारबाट बनेको हो। मार्केटिङ सञ्चार भनेको के हो भनेर जान्नु अघि मार्केटिङ र सञ्चारको बारेमा छुट्टाछुट्टै जान्न आवश्यक छ ।

मार्केटिङले उत्पादनहरूको बिक्री बढाउन कम्पनीले अवलम्बन गर्ने गतिविधिहरू समावेश गर्दछ। यसका लागि उनीहरूले विज्ञापन, बजार अनुसन्धान, पुराना ग्राहकहरूलाई भेट्ने, उनीहरूलाई इमेल लेख्ने, सेलिब्रेटीहरूको समर्थन लिने, ध्यान खिच्ने खालका ग्राफिक डिजाइनहरू निर्माण गर्ने, आकर्षक नारा वा वाक्यांशहरूको प्रयोग आदि जस्ता विभिन्न विधिहरू रोज्छन्। मार्केटिङको प्रमुख उद्देश्य भनेको विभिन्न प्रवर्द्धनात्मक विधिहरू प्रयोग गरेर सम्भावित ग्राहकहरूको ध्यान आफूतिर आकर्षित गर्नु हो।

हाम्रो दोस्रो शब्द सञ्चारको अर्थ शब्दकोषका अनुसार कुनैपनि प्रकारका माध्यमहरु जस्तै लेखन, बोल्ने, आदि प्रयोग गरी एक पक्षको जानकारी अर्को पक्षलाई साझा गर्ने वा अर्को निकायमा आदान प्रदान गर्ने कार्य हो।

तसर्थ, मार्केटिङ सञ्चारलाई मार्केटिङका लक्ष्यहरू पूरा गर्न विभिन्न सञ्चार माध्यमहरू जस्तै छापा मिडिया, रेडियो, टेलिभिजन, इमेल, ब्रोशरहरू, इत्यादिको प्रयोगको रूपमा परिभाषित गर्न सकिन्छ। मार्केटिङ सञ्चार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ग्राहकहरुलाई उत्पादनहरु र सेवाहरुको खरिदमा आकर्षित गर्नको लागी प्रोत्साहित गर्ने उद्देश्य सँग सम्बन्धित छ।

 

मार्केटिङ सञ्चारका प्रकारहरु

Marcomm का सबैभन्दा लोकप्रिय प्रकारहरु निम्नानुसार छन्:

 

विज्ञापन

व्यवसायहरूले टिभी, रेडियो, सामाजिक सञ्जाल, युट्युब र अन्य च्यानलहरूमा आफ्ना उत्पादनहरूको प्रचारप्रसार गर्न लाखौँ खर्च गर्ने गर्दछन् । तिनीहरू विज्ञापन एजेन्सीहरूबाट मद्दत खोज्छन् वा धेरै दर्शकहरूलाई आकर्षित गर्न र खरिद सम्भावनालाई प्रोत्साहित गर्नका लागि आफैँले विज्ञापनहरूको विकास गर्ने गर्दछन्। यो विधि अलिक महँगो भने छ तरपनि प्रभावकारी रहेको छ। विभिन्न प्लेटफर्महरूमा विज्ञापनहरू चलाएर, कम्पनीहरूले उच्च ROI प्राप्त गर्न सक्छन् जुन यसका लागि गरिएका खर्चहरू भन्दा बढी हुन्छ ।

प्रत्यक्ष मार्केटिङ

सञ्चारको यो रूपले पहिला नै छनौट गरिएका ग्राहकहरूका लागि सामग्री तयार गर्ने र सन्देशहरू प्रवाह गर्ने कम्पनीहरूलाई बुझाउँछ। ब्रान्ड वा कम्पनीले पहिले नै आफ्ना उपभोक्ताहरू र उनीहरूलाई निश्चित अवधिमा चाहिने कुराहरुको बारेमा थाहा पाउँछ। यस प्रकारको मार्केटिङमा कम्पनीले विभिन्न कुपनहरू, छुटमा वस्तुहरू, विशेष प्रस्तावहरू, आदि कुराहरु ग्राहकबीच पठाउने गर्दछन् ।

 

बिक्रि प्रवर्द्धन

धेरैजसो मानिसहरूले ब्रान्डका समाचारहरू, विशेष गरी बिक्री, छुट, कुपन, उपहारहरू, प्रोत्साहन कार्यक्रमहरू, विस्तारित कार्यक्रमहरू र निशुल्क डेलिभरीहरूमा अद्यावधी/जानकारी प्राप्त गर्न चाहिरहेका वा रोजिरहेका हुन्छन् । यस प्रकारको दृष्टिकोणले भर्खरै सुरु भएका कम्पनीहरूलाई आफ्ना ग्राहकहरुको ध्यान आकर्षित गर्न र उत्पादन बिक्री बढाउन मद्दत गर्दछ। प्राय धेरैजसो मानिसहरू नयाँ ब्रान्ड पत्ता लगाउने र त्यसलाई प्रयोग गर्ने गर्दछन् । बिक्री प्रवर्द्धन पनि एक स्थापित कम्पनीको लागि राम्रो विचार हो। यसले पुरानो संग्रहहरू बेच्न र नयाँ उत्पादनहरूको लागि ठाउँ बनाउन मद्दत गर्दछ।

 

जनसम्पर्क

मार्केटिङ सञ्चारमा यो दृष्टिकोण सबैभन्दा प्रभावकारी र विश्वसनीय मध्ये एक मानिन्छ। किनभने कुनै निश्चित ब्रान्ड वा उत्पादनको बारेमा जानकारी चासो नभएको तेस्रो पक्षबाट आउँछ जसले वास्तवमा एक विशेष कम्पनीलाई सिफारिस गर्छ वा मानिसहरूलाई यसको उत्पादनहरू किन्नबाट निरुत्साहित गर्छ। व्यवसायका मालिकहरूले आफ्ना कम्पनीहरूको बारेमा प्रचार गर्ने पक्षहरूलाई नियन्त्रण गर्दैनन्। एच् ले उत्कृष्ट उत्पादन, निरन्तर प्रयोगकर्ता अनुभव र ग्राहक समर्थन प्रस्ताव गर्ने ब्रान्डहरूका लागि उत्तम काम गर्दछ। यी विविध कारकहरूले ब्रान्ड प्रतिष्ठालाई सकारात्मक रूपमा प्रभाव पार्दछन्।

 

ग्राहकका सिफारिसहरू

कम्पनीका लागि ग्राहकहरू नि:शुल्क ब्रान्ड प्रवर्द्धक बन्न सक्छन्। मुखामुख मार्केटिङ एक प्रभावकारी उपकरण हो किनभने धेरै मानिसहरू नजिकका व्यक्तिहरूको सिफारिसहरूमा विश्वास गर्छन्। उत्पादन मन पराउने सन्तुष्ट ग्राहकहरूले कुनै पनि गुणस्तरीय विज्ञापनहरू भन्दा धेरै राम्रो प्रचार गर्न सक्छन्। तपाईं आफ्नो ब्रान्डको प्रचार गर्न सन्तुष्ट ग्राहकहरूलाई प्रोत्साहन गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईँ रेफरल कार्यक्रमहरू विकास गर्न सक्नुहुन्छ, उपभोक्ताहरूलाई छुट र विशेष प्रस्तावहरू प्रदान गर्न सक्नुहुन्छ, र उनीहरूलाई प्रोत्साहनमूलक कार्यक्रममा सामेल हुन आमन्त्रित गर्न सक्नुहुन्छ। नतिजाको रूपमा, तपाईंले विश्वास, विश्वसनीयता, र जागरूकता प्राप्त गर्नुहुनेछ।

 

सामाजिक सञ्जाल

सामाजिक सञ्जाल आजभोली मार्केटिङ सञ्चारको सबैभन्दा मनपर्ने र रुचाइएको प्रकार हो। यसका दुईवटा मुख्य कारणहरु रहेका छन्। यस मध्ये एउटा हो आजकल, कुल जनसंख्याको लगभग ९०% ले आफ्नो सबैभन्दा धेरै समय अनलाइनमा बिताईरहेका हुन्छन्। तसर्थ, यसको ग्राहकसम्म अधिकतम पहुँच छ, र दोस्रो यो हो कि मार्केटिङ सञ्चारको यो विधि यसका अन्य विधिहरुको तुलनामा धेरै नै सस्तो छ। यसका लागि विभिन्न च्यानलहरू छन् जसमा तपाईंले आफ्नो उत्पादनलाई फेसबुक, इन्स्टाग्राम, यूट्यूब, साइटहरू र ब्लगहरू मार्फत विज्ञापनहरू गर्न र प्रवर्द्धन गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ।

 

डिजिटल विद्युतीय मार्केटिङ

मार्केटिङ सञ्चारको यस प्रकारमा, ब्रान्डहरूले उत्पादनहरूको बजारीकरण र प्रचार गर्न, ग्राहकहरूसँग जोडिन र उनीहरूलाई खरिद गर्ने विषयमा प्रोत्साहन गर्न इन्टरनेट प्रयोग गर्ने गर्दछन्। तपाईंले इमेल मार्केटिङ, मेसेन्जरहरू, सामाजिक सञ्जाल, वेब सूचनाहरू, इत्यादि मार्फत सम्भावित ग्राहकहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईंको सेवा प्रयोग गर्दा प्रयोगकर्ताहरूलाई सहज महसुस गर्न सक्षम बनाउनका लागि तपाईंको वेबसाइटको नयाँ नयाँ डेस्कटप तथा मोबाइल संस्करणहरू सिर्जना गर्नुहोस्। तपाईंले हाम्रो च्याटबटहरू, वेब सूचनाहरू, र एसएमएस मार्फत पनि आफ्ना लक्षित समूहहरूलाई आवश्यक सन्देश सञ्चार गर्न सक्नुहुन्छ।

 

ब्रान्ड

एक ब्रान्ड नाम निर्माण गर्नु मार्केटिङ सञ्चारको प्रभावकारी प्रकार मध्ये एक हो। तपाईँले देख्नुभएको छ कि धेरै व्यक्तिहरूले उत्पादनहरूलाई तिनीहरूको उत्पादनको नामले चिन्नुको सट्टा तिनीहरूको ब्रान्ड नामहरू प्रयोग गरिरहेका हुन्छन् वा सायद तपाईँले पनि अनजानमा नै त्यस्तै गरिरहनुभएको हुनसक्छ। उदाहरणका लागि, “मेरो जुत्ता वा मेरो खेलकुदको जुत्ता” भन्नुको सट्टा मानिसहरूले उनीहरूलाई “मेरो नाइक” वा “मेरो प्यूमा” भनी उल्लेख गरिरहेका हुन्छन्।

 

बजार अनुसन्धान

बजार अनुसन्धान भनेको बजारको बारेमा जान्न र आफ्नो उत्पादनलाई बजारमा प्रस्तुत गर्नु अघि आफ्ना लक्षित ग्राहकहरूको आवश्यकता, अपेक्षा, प्रेरणा र रुचिहरू बारे जान्नको लागि प्रयोग गरिने एक विधि हो। बजार अनुसन्धान सञ्चालन गर्ने सम्बन्धमा धेरै विधिहरू रहेकाछन् जस्तै लक्षित समूह, परीक्षण अध्ययनहरू, सर्वेक्षणहरू, अन्तर्वार्ता कार्यक्रमहरु, परीक्षण अध्ययन र मान्यताप्राप्त अध्ययनहरू, आदि। यस प्रकारको मार्केटिङ सञ्चार अति नै महत्त्वपूर्ण छ किनकि तपाईंले आफ्ना ग्राहकहरूको आवश्यकताहरू बारे जान्नुहुनेछ साथै बजारको हालको अवस्थाका बारेमा समेत जानकारी हुनेछ, जुन जानकारी प्रयोग गरेर तपाइँका सम्भावित ग्राहकहरूलाई आफ्नो उत्पादन खरिद गर्न मनाउनका लागि प्रभावकारी मार्केटिङ रणनीति तयार गर्न सक्नुहुन्छ।

 

मार्केटिङ सञ्चारको महत्व

कुनै व्यवसायले ठूलो मात्रामा उत्पादनहरू विकास गरेको हुन सक्छ र एक उत्कृष्ट प्रतिभाशाली व्यवस्थापन टोलीलाई सँगै राखेको हुन सक्छ, तर अन्ततः व्यवसायको सफलता अरू कसैबाट खरिद गर्नुको सट्टा त्यो कम्पनीको उत्पादन वा सेवाहरू चयन गर्नका लागि ठूलो संख्याका ग्राहकहरूलाई मनाउनमा निर्भर हुन्छ। व्यापार बढाउनु भनेको बेच्ने क्षमता कति छ भन्ने कुरामा निर्भर गर्दछ। नवीन रणनीतिहरू, उपभोक्ता व्यवहारको बारेमा व्यापक बुझाइ र कम्पनीको सन्देशको आक्रामक सञ्चारले नै वास्तवमा व्यवसायिक र बिक्री सफलता ल्याउनमा संयोजन गर्दछ।

 

रणनीतिक दृष्टिको विकास

मार्केटिङको एक कार्य भनेको कम्पनीको आम्दानी बढाउने नयाँ तरिकाहरू खोज्नु हो। रणनीतिक दृष्टि भनेको नयाँ अवसरहरूको खोजीमा रहनु र तिनीहरूको फाइदा लिन कम्पनीको लागि रणनीतिहरू सिर्जना गर्नु हो। कम्पनीले उत्पादन वा सेवाहरू आपूर्ति गर्न सक्ने रोमाञ्चक, उदयमान बजारहरू पत्ता लगाउन सक्छ। व्यवसायको वृद्धिलाई गति दिने अर्को उपाय भनेको ग्राहकहरूलाई थप सेवा वा उत्पादनहरू बेच्ने तरिकाहरू तयार गर्नु हो जुन तरिका तथा योजना कम्पनीसँग पहिले देखि नै रहेको छ ।

 

ब्रान्ड जागरूकता सिर्जना

उपभोक्ताहरूले कम्पनीबाट किन्नको लागि उनीहरूलाई पहिले कम्पनी विद्यमान छ र यसले के बेचिरहेको छ भनेर जान्न आवश्यक छ। विज्ञापन र प्रवर्द्धन रणनीतिहरू सम्भव भएसम्म धेरै सम्भावित ग्राहकहरूमा पुग्न र कम्पनीको प्रस्ताव के छ भनेर उनीहरूलाई बताउन तयार पारिएको हुन्छ। कम्पनी सफल हुनको लागि उसँग कुन जनसांख्यिकीय समूहका ग्राहकहरू बन्ने सम्भावना छ भन्ने राम्रोसँग बुझ्नुपर्छ र यी समूहहरूलाई सेवा गर्ने वा यिनमा परिचित मिडियामा मार्केटिङ सम्बन्धी खर्च गर्नुपर्छ। पुनरावृत्ति भनेको ब्रान्ड जागरूकता सिर्जना गर्ने वा फैलाउने भाग हो। यदि ग्राहकले कम्पनीबाट प्रसारित सूचनाहरु धेरै पटक देख्यो भने त्यहाँ बिक्री गर्ने उच्च मौका रहन्छ।

 

प्रतिस्पर्धात्मक लाभ व्यक्त गर्नु

मार्केटिङ र सञ्चार सम्बन्धी रणनीतिहरू कम्पनीलाई यसको प्रतिस्पर्धीहरू भन्दा राम्रो वा उच्च रूपमा राख्नको लागि डिजाइन निर्माण गरिएको हो। मार्केटिङ सन्देशले आफ्ना उत्पादन वा सेवाहरू किन्नु पर्ने विशेष कारणहरू ग्राहकलाई देखाउनु पर्छ। धेरैजसो सन्देशले यी उत्पादन वा सेवाहरूले कसरी ग्राहकको समस्या समाधान गर्न सक्छन् वा ग्राहकको आवश्यकता पूरा गर्न सक्छन् भनी यसका फाइदाहरू प्रस्तुत गर्दछन् । त्यसैगरी आफ्ना प्रतियोगीहरूको कमजोरीलाई हाइलाइट वा प्रस्तुत गर्नु मार्केटिङ र सञ्चारको अर्को लोकप्रिय रणनीति हो।

 

एक राम्रो कर्पोरेट नागरिक हुनु

कम्पनीहरूले राम्रो कर्पोरेट नागरिक भएको छवि निर्माण गर्न सञ्चार रणनीतिहरू प्रयोग गर्छन्। कम्पनीको परोपकारी गतिविधिहरू सार्वजनिक गर्ने यो एक तरिका हो। कम्पनीको मार्केटिङ विभागले आफ्नो प्रचारका लागि कम्पनीले भाग लिन सक्ने सामुदायिक, क्षेत्रीय वा राष्ट्रिय कार्यक्रमहरू फेला पार्ने प्रयास गर्दछ। उदाहरणका लागि कम्पनीहरूले खेलकुद कार्यक्रमहरूमा आफ्नो प्रायोजन खरीद गर्ने गर्दछन्,जसले गर्दा उनीहरुले राष्ट्रिय टिभीमा प्रस्तुत हुने मौका प्राप्त गर्छन्। यसका साथै बालबालिकाको स्थानीय रुपमा हुने खेलकुद लीग जस्ता साना कार्यक्रमहरुलाई प्रायोजन गर्नु पनि प्रभावकारी हुन सक्छ।

 

प्रतिभालाई आकर्षित गर्ने र कायम राख्ने

कम्पनीहरू बढ्दै जाँदा, तिनीहरूले उपलब्ध उत्कृष्ट प्रतिभाहरूलाई निरन्तर आकर्षित गर्न आवश्यक छ। सम्भावित कर्मचारीहरूलाई त्यो कम्पनी काम गर्नको लागि एक राम्रो ठाउँ हो भनेर देखाउन सञ्चार रणनीतिहरू प्रयोग गरिन्छ। धेरै कम्पनीहरूले आफ्नो वेबसाइटहरूको ठूलो खण्ड व्यक्तिहरूलाई त्यहाँ काम गर्न रुचि राख्नु पर्ने कारणहरू प्रस्तुत गर्नका लागि समर्पित गरेका हुन्छन्। व्यापारिक प्रकाशनहरूमा वार्षिक रुपमा पुरस्कृत र काम गर्नका लागि उत्कृष्ट कम्पनीहरूको सूचीहरू रहेका हुन्छन्। मार्केटिङ र सञ्चारको भूमिकाले कम्पनी यी पुरस्कारहरूको लागि विचाराधीन छ भनी सुनिश्चित गरिरहेको हुन्छ।

 

लगानीकर्ता समुदायलाई जानकारी दिनु

कम्पनीहरूले हासिल गरेका सूचकहरूको बारेमा समाचार विज्ञप्तिहरू पठाउँछन्, जस्तै बिक्री वा नाफा निश्चित थ्रेसहोल्डमा पुगेको सूचना। तिनीहरूले संयुक्त उद्यम, अधिग्रहण वा नयाँ उत्पादनहरूको परिचय जस्ता प्रमुख घटनाहरू पनि घोषणा गर्छन्। कम्पनीको बारेमा सामान्य जागरूकता सिर्जना गर्नुको साथै समाचार विज्ञप्तिहरूले लगानीकर्ता समुदायलाई कम्पनीले के गरिरहेको छ भनेर समेत सचेत गराउँदछ। परिणामस्वरुप यसले कम्पनीको स्टकमा चासो बढाउन सक्छ, यदि यो सार्वजनिक कम्पनी हो, वा कम्पनी निजी हो भने सम्भावित इक्विटी साझेदारहरूलाई कम्पनी खोज्न सजिलो बनाउन सक्छ।

 

मार्केटिङ सञ्चार रणनीति सिर्जना गर्ने चरणहरू

तपाईँका लक्षित दर्शकहरू पहिचान गर्नुहोस् ।

तपाईँका उत्पादन प्रस्तावहरुले सबै मानिसहरूलाई काम गर्दैन। तपाईँले विशिष्ट वा निश्चित दर्शकहरुलाई लक्षित गर्न आवश्यक छ जसलाई आफ्ना समस्याहरु समाधान गर्नका लागि तपाईंको उत्पादनको आवश्यकता छ र यसले मद्दत गर्न सक्छ। त्यसकारण तपाईँले आफ्ना लक्षित समूह, तिनीहरूको स्थान, उमेर, लिङ्ग, रुचि, प्राथमिकता, आवश्यकता, पेशा, आदि पहिचान गर्न आवश्यक छ। यसले तपाईँलाई व्यक्तिगत सन्देशहरू र मार्केटिङ अभियानहरू सिर्जना गर्न मद्दत गर्नेछ। यस बाहेक, तपाईँले थाहा पाउनुपर्नेछ कि कुन च्यानलहरू तपाईँको आदर्श वा लक्षित ग्राहकमा पुग्नको लागि छनौट गर्नु राम्रो हुनेछ।

 

तपाईँको नवीन मूल्य प्रस्तावलाई परिभाषित गर्नुहोस्

नवीन मूल्य प्रस्तावले तपाईँको कम्पनीलाई फरक बनाउँछ र तपाईँका प्रतिस्पर्धीहरूलाई पछि पार्छ। तपाईँका दर्शकहरूलाई यो प्रदर्शन गर्न र तपाईँ अन्य ब्रान्डहरूभन्दा धेरै कारणहरूको लागि उत्कृष्ट हुनुहुन्छ भनेर प्रमाणित गर्न यो आवश्यक छ। नवीन मूल्य प्रस्ताव तपाईँको ग्राहकहरुलाई चाहिने समाधान हो। यदि तपाईँ आफ्ना ग्राहकहरूलाई मद्दत गर्न सफल हुनुभयो भने उनीहरूले तपाईँलाई राम्रो आम्दानी, मौखिक प्रवर्द्धन, ठूलो ग्राहकको आधार, बजार भित्र राम्रो स्थिति सहित तपाईँलाई पुरस्कृत गर्नेछन्। उदाहरणका लागि, Domino’s पिज्जाले आफूलाई एउटा कम्पनीको रूपमा स्थापित गरेको छ जसले अन्य प्रतिस्पर्धीहरू भन्दा छिटो, मात्र ३० मिनेटमा पिज्जा उपलब्ध गराउँछ।

 

ग्राहकको समस्याको समाधान ल्याउनुहोस् ।

तपाईँले गर्नुपर्ने अर्को कुरा भनेको तपाईँले प्रस्ताव गर्नुभएको समाधानसँग ग्राहकहरूको पीडाका विन्दु वा क्षेत्रहरु मिलाउनु हो। ग्राहक समस्या र उत्पादन समाधानसँग सम्बन्धित एक तालिका निर्माण गर्नुहोस्। तपाईँले ग्राहकहरूको समस्याहरू पूरा गर्ने प्रस्तावहरूलाई चिन्ह लगाउनु पर्छ। ग्राहकका समस्याहरूलाई सम्बोधन गर्ने र समाधानहरू प्रदान गर्ने सन्देशहरू तय गर्न यो तालिका तपाईँको टोलीसँग साझेदारी गर्नुहोस्। तपाईँले सञ्चारको लागि प्रयोग गर्नुहुने सबै मार्केटिङ च्यानलहरूमा सन्देश प्रवाह गर्नुहोस्।

 

आफ्नो सन्देश प्रवाह गर्न च्यानलहरू चयन गर्नुहोस् ।

तपाईँले प्रयोग गर्नुहुने च्यानलहरू तपाईँले हासिल गर्न चाहने लक्ष्यहरू र ग्राहकहरूको प्राथमिकताहरूमा निर्भर गर्दछ। तपाईँका लक्षित दर्शकहरूले सबैभन्दा बढी मन पराउने प्लेटफर्महरू र सन्देशवाहकहरू पहिचान गर्नुहोस्।

 

अन्तिम परिणाम मापन गर्नुहोस्

एकपटक तपाईँले सबै कुरा लागू गरेपछि, परिणामहरू ट्र्याक गर्नुहोस्। तपाईँको व्यवसाय तपाईँका लक्ष्यहरुको उपलब्धि तिर जान्छ वा जाँदैन हेर्नुहोस्। मेट्रिक्स वा अन्य आँकडाहरुले तपाईँलाई तपाईँको कम्पनीको कार्यसम्पादनको सुराग प्रदान गर्नेछन्।