चालू पूँजी भनेको के हो?
व्यवसायहरूले आफ्नो दैनिकी सञ्चालनका लागि छुट्याउने कोषलाई चालू पूँजी भनिन्छ। चालू पूँजीले कुनै पनि व्यवसायले आफ्नो छोटो अवधिको दायित्व छोटो अवधिको सम्पत्तिबाट तिर्न सक्छ कि सक्दैन भन्ने संकेत गर्दै व्यवसायको छोटो अवधिको वित्तीय स्थायित्व र दक्षताको मापन गर्दछ।
चालू पूँजीको सूत्र
चालू पूँजी = चालू सम्पत्ति − चालू दायित्व
चालू सम्पत्ति
एक वर्षभित्र नगदमा परिणत हुने अपेक्षा गरिएको सम्पत्तिलाई चालू सम्पत्ति भनिन्छ। उदाहरणका रूपमा नगद, जिन्सी सामग्री (इन्भेन्टोरी), प्राप्त हुन बाँकी रकम (एकाउन्ट्स रिसिभेबल) तथा छोटो अवधिको लगानीलाई लिन सकिन्छ।
चालू दायित्व
व्यवसायले एक वर्षभित्र तिर्नुपर्ने दायित्वलाई चालू दायित्व भनिन्छ। उदाहरणका लागि तिर्न बाँकी रकम (एकाउन्ट्स पेयेबल), छोटो अवधिको ऋण तथा खर्चलाई लिन सकिन्छ।
चालू पूँजीलाई केही व्यावहारिक उदाहरणका माध्यमबाट बुझौँ।
उदाहरण १: एउटा सानो किराना (खुद्रा पसल)
चालू सम्पत्ति:
- नगद: रु १,००,०००/-
- जिन्सी सामग्री: रु २,००,०००/-
- प्राप्त हुन बाँकी रकम (एकाउन्ट्स रिसिभेबल): रु ५०,०००/-
चालू दायित्व:
- तिर्न बाँकी रकम (एकाउन्ट्स पेयेबल): रु ८०,०००/-
- छोटो अवधिको ऋण: रु ५०,०००/-
चालू पूँजीको गणना:
चालू पूँजी = (१,००,००० + २,००,००० + ५०,०००) − (८०,००० + ५०,०००)
= २,५०,००० − १,३०,०००
= रु १,२०,०००/-
यस किराना पसलसँग रु १,२०,०००/- को भरपर्दो चालू पूँजी रहेको छ जसले पसलको दैनिकीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्दछ।
उदाहरण २: उत्पादन कम्पनी
चालू सम्पत्ति:
- नगद: रु ५,००,०००/-
- कच्चा पदार्थ: रु ३,००,०००/-
- उत्पादन प्रक्रियामा रहेका सामानहरू: रु २,००,०००/-
चालू दायित्व:
- तिर्न बाँकी रकम: रु ३,००,०००/-
- बैंक ओभरड्राफ्ट (एक प्रकारको बैंकिङ कर्जा): रु १,५०,०००/-
चालू पूँजीको गणना:
चालू पूँजी = (५,००,००० + ३,००,००० + २,००,०००) − (३,००,००० + १,५०,०००)
= १०,००,००० − ४,५०,०००
= रु ५,५०,०००/-
यस उत्पादन कम्पनीसँग पनि रु ५,५०,०००/- को बलियो चालू पूँजी रहेको छ जसले कम्पनीलाई कच्चा पदार्थ खरिद गर्न र छोटो अवधिका खर्चहरू व्यवस्थापन गर्न सक्षम बनाउछ।
चालू पूँजी किन महत्त्वपूर्ण छ?
१. सञ्चालन दक्षता:
पर्याप्त चालू पूँजी भएमा कुनै पनि व्यवसायले बिना अवरोध सहज रूपमा आफ्नो सञ्चालन कायम राख्न सक्छ।
२. ऋणयोग्यता:
सकारात्मक चालू पूँजीले वित्तीय स्थायित्व दर्शाउँछ र व्यवसायलाई ऋण आश्वासनमा निश्चितता ल्याउन वा लगानीकर्ता आकर्षित गर्न मद्दत गर्दछ।
३. लगानीका अवसरहरू:
पर्याप्त चालू पूँजी भएका व्यवसायहरूले लगानीद्वारा जिन्सी विस्तार गर्ने वा नयाँ उत्पादनहरू बजारमा ल्याउने अवसर प्राप्त गर्दछन्।
चालू पूँजी व्यवस्थापनकालागि केही सुझावहरू
१. नगद प्रवाहको अनुगमन गर्नुहोस्:
नगद भित्रिने र बाहिरिने क्रमको नियमित रूपमा समीक्षा गरी पर्याप्त तरलता सुनिश्चित गर्नुहोस्।
२. जिन्सी अनुकूलन गर्नुहोस्:
कच्चा पदार्थ लगायतका जिन्सी सामानहरू अत्यधिक मात्रामा नराख्नुहोस्। जस्ट–इन–टाइम (उत्पादन सुरु हुन लागेको समयमा मात्र सामग्री भण्डारण गर्ने) जिन्सी अभ्यासलाई अपनाउनुहोस्।
३. प्राप्त हुन बाँकी रकममा प्रक्रियागत सुधार गर्नुहोस्:
ग्राहकहरूबाट समयमै भुक्तानी प्राप्त गर्न ऋण नियन्त्रणका प्रभावकारी उपायहरू कार्यान्वयन गर्नुहोस्।
४. भुक्तानीका सर्तहरूमा छलफल गर्नुहोस्:
नगद प्रवाह सुधार गर्नका लागि आपूर्तिकर्ताहरूसँग भुक्तानीका अनुकूल सर्तहरू तय गर्नुहोस्। साथै, ग्राहकहरूलाई छिटो भुक्तानी गर्न प्रेरित गर्नुहोस्।
५. खर्च कटौती गर्नुहोस्:
गुणस्तरमा सम्झौता नगरी नियमित रूपमा खर्च पुनरावलोकन गरेर लागत बचतका अवसरहरू पहिचान गर्नुहोस्।
६. वित्तीय पहुँचको उपयोग गर्नुहोस्:
- बैंक तथा लघुवित्त संस्था: छोटो अवधिको ऋणका लागि बैंक तथा स्थानीय लघुवित्त संस्थाहरूलाई सम्पर्क गर्नुहोस्।
- सरकारी योजना: साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने सरकारी पहलहरूबारे खोज अनुसन्धान गर्नुहोस्।
७. नगद सञ्चिति बनाउनुहोस्:
अप्रत्याशित खर्च वा आर्थिक मन्दीका लागि तयार हुन नगद सञ्चिति कायम राख्ने प्रयास गर्नुहोस्।
निष्कर्ष
कुनै पनि व्यवसायलाई सफल हुनकालागि सो व्यवसायले चालू पूँजीका बारेमा बुझ्न र त्यसको प्रभावकारी रूपमा व्यवस्थापन गर्न अत्यावश्यक हुन्छ। चालू पूँजीलाई सकारात्मक राख्दा व्यवसाय वित्तीय रूपमा सुरक्षित भई लामो समयसम्म चलायमान रहन सक्छ। साथै, बलियो चालू पूँजी भएको व्यवसाय वृद्धिका अवसरका लागि समेत तयार रहन्छ। त्यसैले, सही वित्तीय निर्णय लिन र आफ्नो व्यवसायलाई चुस्तदुरुस्त राख्न चाहनुहुन्छ भने नियमित रूपमा व्यवसायको चालु सम्पत्ति र दायित्वहरूको पुनरावलोकन गर्नुहोस्।