तपाईसँग पर्याप्त नगद मौज्दात छैन भने तपाई नगद प्रवाहको समस्यामा हुनुहुन्छ भन्ने बुझ्न आवश्यक छ। कुनै पनि परिवार वा व्यक्तिजस्तै व्यवसायले पनि अनपेक्षित खर्चहरूको लागि सधैँ तयार रहनुपर्छ। व्यवसायिक गतिविधिका क्रममा तपाईले ठूला–ठूला कर बिल, बढ्दो आपूर्ति मूल्य वा आकस्मिक मर्मत कार्य जस्ता वित्तीय दबाब सिर्जना गर्ने खालका चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ।
के कारणले आउँछ त नगद प्रवाहमा समस्या?
१. अपर्याप्त बजेटिङ
सुक्ष्म तरिकाले विस्तृत बजेट तयार नपार्दा गलत वित्तीय योजनाले अत्यधिक खर्च हुन सक्छ। बजेटलाई खर्चहरूको नक्सा मान्न सकिन्छ। बजेट, व्यवसायको वृद्धि तथा बजारको परिवर्तन अनुसार नियमित रूपमा समीक्षा तथा परिमार्जन हुन सक्ने गरी लचिलो हुनुपर्छ।
२. ग्राहक भुक्तानीमा ढिला
ग्राहकबाट ढिलो भुक्तानी हुँदा पनि नगद प्रवाहमा असर पर्दछ। यसले तत्कालका दैनिक खर्चहरू धान्न कठिन बनाउँछ।
यस समस्यालाई समाधान गर्न विभिन्न उपायहरू अपनाउन सक्नुहुन्छ—
- इनभ्वाइस समयमै पठाउने,
- ग्राहकलाई भुक्तानीका विभिन्न विधिहरूको विकल्प प्रस्तुत गर्ने,
- ग्राहकलाई भुक्तानीका सर्तहरू स्पष्ट रूपमा सूचित गर्ने।
साथै, अग्रिम भुक्तानी वा पूर्ण भुक्तानीका लागि अनुरोध तथा बिलम्ब शुल्कको कार्यान्वयन पनि समयमै भुक्तानी गर्न प्रेरित गर्ने उपायहरू हुन सक्छन्।
३. अप्रत्याशित वा तीव्र व्यावसायिक वृद्धि
वृद्धि सामान्यता सकारात्मक भए पनि यसलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा कर्मचारी, उपकरण तथा पूर्वाधार खर्च अनावश्यक रूपमा बढ्ने समस्या आउन सक्छ।
बढ्दो मागलाई सम्बोधन गर्न थप कर्मचारी, उपकरण तथा अन्य ठूला पूर्वाधारहरू आवश्यक पर्न सक्छन् जसले निश्चित रुपमा खर्चलाई बढाउँछन्। यी लागतहरूको पूर्वानुमान नै वृद्धि व्यवस्थापनको उचित उपाय हो। साथै, आवश्यक परेमा ऋण वा क्रेडिट कार्डजस्ता वित्तीय स्रोतहरू पनि प्रयोग गर्न सकिन्छ।
४. कमजोर पूर्वानुमान
तथ्यांक त्रुटि वा बजार अनिश्चितताका कारण वित्तीय पूर्वानुमान गलत हुँदा अपेक्षाअनुसार नगद उपलब्ध नहुन सक्छ।
यो समस्या समाधान गर्न विभिन्न स्रोतबाट तथ्यांक संकलन तथा क्रस–जाँच गरेर विश्वसनीयता बढाउन सकिन्छ।
५. भुक्तानीका लचिला सर्तहरू
ग्राहकहरूलाई भुक्तानीका लागि लामो समय दिँदा पनि, विशेष गरी साना व्यवसायका सन्दर्भमा, नगद प्रवाहमा समस्या उत्पन्न हुन सक्छ।
नगद आगमनमा ढिलाइका कारण प्राप्त हुने रकम (एकाउन्ट्स रिसिभेबल) मा नगद अड्किन सक्छ। नगद प्रवाहलाई स्वस्थ राख्नका लागि उपयुक्त नगद रूपान्तरण चक्र (कैश कन्वर्शन सायकल) निर्धारण गर्नु आवश्यक छ।
६. अप्रभावी बहीखाता लेखा (बुककिपिङ)
खराब बहीखाता व्यवस्थापनका कारण आर्थिकहरू कारोबार छुट्न सक्छन् र नगद प्रवाह व्यवस्थापन जटिल बन्न सक्छ।
नियमित लेखा परीक्षण तथा भरपर्दो लेखा सफ्टवेयरमा लगानी गर्नाले वित्तीय रेकर्ड सही ढंगले व्यवस्थापन हुन्छ।
७. न्यून नाफा मार्जिन
सुरूवाती चरणमा धेरै नयाँ तथा साना व्यवसायहरूले न्यून नाफाको सामना गर्छन्। यसले नगद प्रवाहमा समस्या पुर्याउन सक्छ।
एकातर्फ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धात्मक मूल्य अत्यावश्यक छ भने अर्कोतर्फ सो मूल्यलाई सन्तुलित गर्दै स्वस्थ नाफा मार्जिन राख्न पनि जरुरी देखिन्छ। नकारात्मक नगद प्रवाह हुन नदिन खर्च तथा आम्दानीका स्रोतहरूको सावधानीपूर्वक व्यवस्थापन गर्नु महत्त्वपूर्ण छ।
८. अनपेक्षित खर्च
पर्याप्त योजनाको अभावमा, उपकरण मर्मत, बजारमा अचानक परिवर्तन वा अन्य अनपेक्षित खर्चहरूले वित्तीय दबाब सिर्जना गर्न सक्छन्।