नेपालमा व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ? तब सबैभन्दा पहिला गर्नु पर्ने काम हो—कम्पनी दर्ता। व्यवसायलाई कानुनी मान्यता दिनु भनेको बैंक खाता खोल्ने, सम्झौता गर्ने र कर तिर्ने बाटो खोल्नु हो।
१. कुन प्रकारको कम्पनी खोल्ने?
नेपालमा मुख्य चार प्रकारका कम्पनी दर्ता गर्न पाइन्छ:
- निजी लिमिटेड
- सार्वजनिक लिमिटेड
- गैरनाफामूलक संस्था
- विदेशी कम्पनी
धेरै स्टार्टअपहरू र साना व्यवसायहरूले निजी लिमिटेड रोज्ने गर्छन्—जहाँ १ देखि १०१ जना सेयरधनी हुन सक्छन् र सेयर सार्वजनिक रूपमा बेच्न पाइँदैन।
२. कम्पनीको नाम सुरक्षित गर्नुहोस्
- कम्पनी रजिष्ट्रारको कार्यालयको पोर्टलमा गएर आफ्नो कम्पनीको नाम सुरक्षित गर्नुहोस्।
- नाम नेपाली र अंग्रेजी दुवै भाषामा अद्वितीय हुनुपर्छ|
- ‘New’, ‘The’ जस्ता शब्दहरू प्रयोग नगर्नुहोस्।
- एक पटक नाम अनुमोदन भयो भने, ३५ देखि ९० दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुहोस्।
३. प्रबन्ध पत्र र नियमावली तयार गर्नुहोस्
अब तपाईंको कम्पनीका उद्देश्य, कार्यक्षेत्र, नियमहरू, सञ्चालन तरिका आदिलाई कानुनी रूपमा दस्तावेजमा उतार्नुपर्छ।
- प्रबन्ध पत्र भन्नाले तपाईंको कम्पनी केका लागि खोलिएको हो, कति पूँजी राखिएको छ, सेयरधनीको जिम्मेवारी कति छ भन्ने कुरा समेटिन्छ।
- नियमावली भनेको कम्पनीभित्र कसरी निर्णय लिइन्छ, बैठक कसरी हुन्छ, सेयरधनीहरूको अधिकार के-के छन् भन्ने कुरा बताउने आन्तरिक नियमावली हो।
यी दुवै कागजात प्रमोटरहरू (संस्थापक) ले प्रत्येक पृष्ठमा हस्ताक्षर र औंठाछापसहित तयार गर्नुपर्छ।
४. कागजात अपलोड गरी दर्ता प्रक्रिया सुरु गर्नुहोस्
कम्पनी रजिष्ट्रारको CAMIS प्रणालीमार्फत आवेदन फारम भरेर, आवश्यक कागजातहरू अपलोड गर्नुहोस् र अधिकृत पूँजीअनुसार शुल्क तिर्नुहोस्। सबै विवरण मिल्यो भने—कम्पनी दर्ता प्रमाणपत्र प्राप्त हुन्छ। अब तपाईं कानुनी रूपमा दर्ता व्यवसायी बन्नुभयो!
दर्ता भएपछि गर्नुपर्ने प्रमुख कामहरू
१. स्थानीय वडामा दर्ता
व्यवसाय सञ्चालन गर्ने नगरपालिका वा वडामा आफ्नो कम्पनी दर्ता गर्नु आवश्यक छ। त्यहाँ पनि कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र, नियमावली, भाडा सम्झौता र नागरिकताको प्रतिलिपि लिएर जानुपर्छ।
२. स्थायी लेखा नम्बर (प्यान/PAN) लिनुहोस्
- स्थायी लेखा नम्बर (प्यान) तपाईंको व्यवसायिक कर पहिचान हो। यसबिना न त बैंक खाता खोल्न सकिन्छ, न चलानी काट्न।
- आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा फारम भरेर, कागजातहरू लिएर राजस्व कार्यालय जानुहोस्। बायोमेट्रिक दिनुपर्छ। प्यान नम्बर प्राप्त भएपछि तपाईं कर तिर्न योग्य व्यवसाय बन्नुहुन्छ।
३. VAT दर्ता (यदि अनिवार्य भएमा)
तपाईंको सेवा वा वस्तुको वार्षिक कारोबार:
- वस्तु: ५० लाखभन्दा बढी
- सेवा: ३० लाखभन्दा बढी
वा तपाईंको व्यवसाय विशेष सूचीकृत समूहमा पर्दछ भने VAT दर्ता गर्नु अनिवार्य हुन्छ। PAN लिँदै गर्दा VAT नम्बर पनि आउँछ।
४. बैंक खाता खोल्नुहोस्
प्यान नम्बर पाएपछि कम्पनीको नाममा बैंक खाता खोल्नुहोस्। यसले व्यवसायिक लेनदेनलाई पारदर्शी बनाउँछ र हिसाब गर्न सजिलो हुन्छ।
५. सामाजिक सुरक्षा कोष दर्ता
कर्मचारी राख्दै हुनुहुन्छ भने सामाजिक सुरक्षा कोषमा दर्ता गर्नु अनिवार्य छ।
यसमा कम्पनीले २०% र कर्मचारीले ११% तलबबाट योगदान गर्नुपर्छ।
सामाजिक सुरक्षा कोष पोर्टलमा जानुहोस्, विवरण भर्नुहोस् र दर्ता गर्नुहोस्। यसको लागि कार्यालय धाउनु पर्दैन। सबै काम पोर्टल मार्फत नै हुन्छ।
६. कम्पनी रजिष्ट्रारको कार्यालयमा थप जानकारी अपडेट गर्नुहोस्
कम्पनी दर्ता भएपछि, पहिलो तीन महिनाभित्र:
- कार्यालयको ठेगाना अपडेट गर्नुहोस्
- कम्पनीको साइन बोर्ड राख्नुहोस्
- सेयरधनीहरूबाट पुँजी जम्मा गरेपछि सेयर विवरण पेश गर्नुहोस्
- निर्देशक र लेखापरीक्षकको नियुक्ति जानकारी दिनुहोस्
- सेयर प्रमाणपत्र (लगत) प्राप्त गर्नुहोस्
अनि, प्रत्येक आर्थिक वर्षको अन्त्यमा लेखापरीक्षण गरी:
- असोज मसान्तसम्म राजश्व कार्यालमा बुझाउनुहोस्
- पुष मसान्तसम्म रजिष्ट्रार कार्यालयमा वार्षिक साधारण सभा माइन्युट सहित बुझाउनुहोस्
यसरी सबै प्रक्रिया पूरा गरेपछि तपाईंको व्यवसाय पूरै रूपमा कानुनी, पारदर्शी र सञ्चालनका लागि तयार हुन्छ।