वित्तीय विवरण
वित्तीय विवरण तपाईको व्यवसायको आर्थिक स्वास्थ्य अनुगमन गर्ने महत्त्वपूर्ण उपकरण हुन सक्छ। प्रत्येक लघु, साना तथा मझौला उद्यम (एमएसएमई) ले निम्न वित्तीय विवरणहरूका बारेमा बुझ्न जरुरी छ:
क) वासलात (ब्यालेन्स शीट)
वासलात व्यवसायको सम्पत्ति, दायित्व र स्वामित्व वितरण (इक्विटी) को स्थिति झल्काउने वित्तीय विवरण हो। यसमा निम्न कुरा समावेश हुन्छन्:
१. सम्पत्ति: व्यवसायको स्वामित्वमा रहेका वस्तु। (जस्तै नगद, जिन्सी, मालसामान, सवारी साधन, जमिन, उपकरण, प्राप्त हुन बाँकी रकम आदि)
२. दायित्व: व्यवसायले तिर्नुपर्ने रकम। (जस्तै ऋण, क्रेडिटर, आदि)
३. स्वामित्व वितरण: व्यवसायमा लगानी गरिएको रकम।
ख) नाफा-नोक्सान विवरण
यो विवरणले निश्चित अवधिभित्र (मासिक, त्रैमासिक वा वार्षिक) व्यवसायमा नाफा वा घाटाको अवस्थालाई देखाउँछ। यसमा निम्न कुरा समावेश हुन्छन्:
१. आय: कुल बिक्री वा व्यवसायले आर्जन गरेको कुल आम्दानी।
२. खर्च: व्यवसाय सञ्चालनको लागत।
३. शुद्ध नाफा वा घाटा: आय र खर्चको अन्तर।
ग) नगद प्रवाह विवरण
यो विवरणले व्यवसायमा नगदको आगमन तथा बहिर्गमनको नियमन गर्ने गर्छ। नगदको पर्याप्त उपलब्धता सुनिश्चित गर्न यो विवरण महत्त्वपूर्ण मानिन्छ। यसमा तीनवटा खण्डहरू हुन्छन्:
१. सञ्चालन गतिविधि: दैनिक व्यवसाय सञ्चालनबाट आउने नगद।
२. लगानी गतिविधि: सम्पत्ति किनबेच गर्दा हुने नगद प्रवाह।
३. वित्तीय गतिविधि: ऋण, पूँजी योगदान वा ऋण तिर्ने कार्यबाट हुने नगद प्रवाह।
बजेटिङ र नगद प्रवाहको उचित व्यवस्थापन
प्रभावकारी बजेटिङ र नगद प्रवाहको व्यवस्थापन कुनै पनि एमएसएमईको सफलताको लागि अत्यावश्यक छ। वित्तीय व्यवस्थापन सुधार गर्न तपाईले निम्न उपायहरू अपनाउन सक्नुहुन्छ:
क) विस्तृत बजेट निर्माण
१. आयको पूर्वानुमान: तपाईले पछिल्ला तथ्यांक, बजार प्रवृत्ति तथा मौसमी कारकहरूलाई विचार गरी भविष्यको बिक्री तथा आम्दानीको अनुमान गर्न सक्नुहुन्छ।
२. खर्चको योजना: तपाईले यी लागतहरूको वर्गीकरण गरेर खर्चको योजना बनाउन सक्नुहुन्छ।
- निश्चित लागत (जस्तै भाडा, तलब)
- परिवर्तनशील लागत (जस्तै कच्चा पदार्थ, मार्केटिङ)
३. आपतकालीन कोष: तपाईले अनपेक्षित खर्चहरूको लागि केही रकम छुट्याउन सक्नुहुन्छ।
ख) नगद प्रवाहको अनुगमन
१. प्राप्त हुन बाँकी रकमको नियमित अनुगमन: ग्राहकहरूले समयमा भुक्तानी गर्दा नगद प्रवाह स्वस्थ रहने भएकाले तपाईले यो अनुगमन गर्न आवश्यक छ।
२. भुक्तानी व्यवस्थापन: सुमधुर सम्बन्ध स्थापना गर्न तपाईले आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न सक्नुहुन्छ। तथापि, भुक्तानी अत्यधिक चाँडो पनि नगर्नुहोस् (विशेष छुट नभएको खण्डमा)।
३. जिन्सी मालसामान (इन्भेन्टरी) अनुकूलन: तपाईले धेरै स्टक वा कम स्टक राख्दा नगद प्रवाहमा असर पर्न सक्छ। तसर्थ, यसको सन्तुलन कायम राख्ने प्रयास गर्न सक्नुहुन्छ।
ग) वित्तीय सफ्टवेयर वा एप्सको प्रयोग
तपाईले आफ्नु एमएसएमईका लागि नेपालमा उपलब्ध ट्याली, क्विकबुक्स, जोहो बुक्स, आदि जस्ता किफायती लेखा सफ्टवेयरहरू प्रयोग गरी वित्तीय रेकर्ड व्यवस्थापन गर्न सक्नुहुन्छ।
वित्तीय स्रोत कहाँ खोज्ने?
नेपालमा एमएसएमईका लागि वित्तीय स्रोत निर्धारण गर्ने प्रक्रिया चुनौतीपूर्ण हुन सक्छ। यहाँ केही प्रमुख वित्तीय स्रोतहरू उल्लेखित छन्:
क) बैंक ऋण: परम्परागत बैंक ऋण एमएसएमईका लागि पूँजीको प्रमुख स्रोत हो। तथापि, उच्च ब्याजदर तथा कडाइका कारण बैंक ऋण प्रक्रिया चुनौतीपूर्ण हुन सक्छ। तसर्थ, सहजताको लागि तपाईले बैंकसमक्ष प्रस्तुत गर्ने स्पष्ट व्यापार योजना तथा वित्तीय विवरणहरूको पूर्वतयारी गर्नुपर्ने हुन्छ।
ख) सरकारी तथा विकास बैंक कार्यक्रम: नेपाल राष्ट्र बैंक तथा विभिन्न सरकारी निकायहरूले ग्रामीण वा विशेष क्षेत्रका एमएसएमईका लागि अनुदान तथा सहुलियतपूर्ण ऋण कार्यक्रम सञ्चालन गरिरहेका हुन्छन्। तपाईले यसको फाइदा लिन सक्नुहुन्छ।
ग) लघुवित्त वित्तीय संस्थाहरू: ग्रामीण क्षेत्रमा सञ्चालित एमएसएमईका लागि लघुवित्त वित्तीय संस्थाहरू प्रमुख वित्तीय स्रोत मानिन्छन्। यी संस्थाहरूले बैंकसम्म पहुँच नभएका साना व्यवसायहरूलाई सिमित ऋण प्रदान गर्ने गर्छन्।
घ) निजी इक्विटी तथा भेन्चर क्यापिटल: यदि तपाईको व्यवसायमा वृद्धिको उच्च सम्भावना छ भने निजी इक्विटी वा भेन्चर क्यापिटलबाट पनि लगानी उठाउन सकिन्छ। तर, यसका लागि ठोस व्यापारिक योजना तथा वृद्धि सम्भावना देखाउन आवश्यक हुन्छ।
ङ) आम जनमानसबाट लगानी (क्राउडफण्डिङ): एमएसएमईहरूले अनलाइन क्राउडफण्डिङ मार्फत समेत पूँजी जुटाउन सक्छन्। नेपालमा यसको प्रचलन कम भए पनि, किकस्टार्टर वा इन्डीगोगो जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूले एमएसएमईलाई विश्वभरका लगानीकर्तासँग सम्पर्क गर्न मद्दत गर्न सक्छन्।
कर प्रणाली र यसको अनुपालन
कानूनी समस्या तथा जरिवानाबाट बच्नका लागि तपाईले कर दायित्व बुझ्न आवश्यक छ। नेपालका एमएसएमईहरूले निम्न कर कानूनहरूको पालना गर्नुपर्ने हुन्छ:
क) आयकर: वार्षिक कारोबार ५० लाख नेपाली रुपैया भन्दा बढी भएका व्यवसायहरूले आयकरका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। साना व्यवसायहरूको लागि सरल कर योजनाहरू पनि उपलब्ध छन्।
ख) मूल्य अभिवृद्धि कर: वार्षिक कारोबार ५० लाख नेपाली रुपैया भन्दा बढी भएका व्यवसायहरूले भ्याटका लागि दर्ता हुनुपर्छ। जरिवानाबाट बच्न एमएसएमईहरूले भ्याट दर्ता, फाइलिङ र अनुपालन राम्रोसँग बुझ्न आवश्यक छ।
ग) कर्मचारी-सम्बन्धी कर : १० जना भन्दा बढी कर्मचारी भएको व्यवसायले सामाजिक सुरक्षा कोषमा (सोसल सेक्योरिटी फन्ड) अनिवार्य रूपमा योगदान गर्नुपर्छ।
घ ) कर फाइलिङ: आय र खर्चको सही रेकर्ड राख्दा कर फाइलिङ सरल हुन्छ। साथै, करको सही अनुपालन सुनिश्चित गर्न र आफ्नो दायित्व घटाउन तपाईले स्थानीय कर सल्लाहकारसँग परामर्श पनि लिन सक्नुहुन्छ।
लागत नियन्त्रण तथा नाफा बढाउने रणनीति
प्रतिस्पर्धात्मक रहनका लागि एमएसएमईहरूले लागत नियन्त्रण तथा नाफा वृद्धिमा ध्यान दिनुपर्छ।
क) निश्चित तथा परिवर्तनशील लागतको पहिचान
- निश्चित लागत: व्यवसायको गतिविधि जे–जस्तो भए पनि स्थिर रहने लागत (जस्तै, भाडा, तलब
- परिवर्तनशील लागत: उत्पादन वा बिक्रीको मात्रासँगै परिवर्तन हुने लागत (जस्तै, कच्चा पदार्थ, ढुवानी)
ख) आपूर्तिकर्तासँग वार्ता: आपूर्तिकर्तासँग फाइदाजनक सम्झौता गर्ने प्रयास गर्नुपर्छ। तपाईले लागत घटाउन सक्ने वैकल्पिक आपूर्तिकर्ता पनि खोज्न सक्नुहुन्छ।
ग) सञ्चालन प्रभावकारिता: तपाईले आफ्नो व्यवसाय सञ्चालनलाई सुव्यवस्थित बनाउने, प्रविधिलाई प्रयोगमा ल्याउने र अपशिष्ट न्यूनिकरण गर्ने जस्ता सञ्चालनका प्रभावकारी उपायहरू अपनाएर व्यवसायको उत्पादन लागत कम गर्न सक्नुहुन्छ।
घ ) मूल्य निर्धारण रणनीति: प्रतिस्पर्धीहरूको मूल्य विश्लेषण गर्दै आफूले प्रदान गर्ने गुणस्तरका आधारमा मूल्य निर्धारण गर्नु उचित हुन्छ। अत्यधिक सस्तो मूल्य राख्दा दीर्घकालीन रूपमा नाफा सीमित हुने भएकाले उचित मूल्य रणनीतिबारे तपाईले सोच्नु पर्छ।
वित्तीय साक्षरता तथा क्षमता विकास
व्यवसाय वृद्धिका लागि लघु, साना तथा मझौला उद्यमका संस्थापक तथा कर्मचारीहरूले आफूमा वित्तीय साक्षरताको विकास गर्नैपर्ने हुन्छ।
क) तालिम र कार्यशाला: तपाईले सरकार, बैंक वा गैर–सरकारी संस्थाहरूद्वारा आयोजित वित्तीय साक्षरतासम्बन्धी तालिमहरूमा भाग लिन सक्नुहुन्छ। नेपाल चेम्बर अफ कमर्स जस्ता व्यापार संघहरूले लघु, साना तथा मझौला उद्यमका संस्थापकका लागि व्यावसायिक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने गर्छन्।
ख) पेशेवर लेखापालसँग परामर्श: पेशेवर लेखापाल प्रयोग गर्दा केहि मात्रामा बढी खर्च लागे पनि यसले सही लेखा व्यवस्थापन, कर फाइलिङ तथा वित्तीय रणनीति निर्माणमा मद्दत गर्छ।
बीमा तथा जोखिम व्यवस्थापन
प्रत्येक व्यवसायले व्यवसायको प्रकृति अनुसार केही न केही जोखिमको सामना गर्नुपर्ने हुन्छ। तपाईले पनि आफ्नो व्यवसायको जोखिम पहिचान गरी, त्यसको उचित व्यवस्थापन गरेर अनपेक्षित घाटाबाट जोगिन सक्नुहुन्छ।
क) बीमाका प्रकारहरू
- व्यावसायिक दायित्व बीमा: यस प्रकारको बीमाले कानूनी मुद्दा तथा दावीबाट बच्न सहयोग गर्छ।
- सम्पत्ति बीमा: यस प्रकारको बीमाले व्यवसायको सम्पत्तिमा क्षति भएमा सुरक्षा दिने गर्छ।
- कर्मचारी स्वास्थ्य बीमा: यस किसिमको बीमा कर्मचारीहरूको स्वास्थ्य सुरक्षाका लागि उपयोगी हुने गर्छ।
ख) जोखिम विविधीकरण: सबै स्रोतहरू एउटै उत्पादन वा बजारमा केन्द्रित गर्नु सुरक्षित हुँदैन। तपाईले नयाँ उत्पादन वा ग्राहक वर्ग पहिचान गरी, उत्पादन तथा ग्राहक वर्गमा विविधता ल्याएर व्यवसायलाई अप्रत्याशित बजार परिवर्तनबाट जोगाउन सक्नुहुन्छ।
व्यवसायको वृद्धि तथा विस्तार
व्यवसायलाई सफलतापूर्वक विस्तार गर्न साना तथा मझौला उद्यमहरूले निम्न रणनीतिहरू अपनाउन सक्छन्:
क) नाफाको पुनः लगानी: तपाईले सम्पूर्ण नाफालाई वितरण गर्नुको साटो मार्केटिङ, प्रविधि परिमार्जन तथा दक्ष कर्मचारी नियुक्ति जस्ता कुरामा पुनः लगानी गर्न सक्नुहुन्छ।
ख) बजारको दायरा: आम्दानीका स्रोतहरू थप्नका लागि तपाईले नयाँ–नयाँ घरेलु तथा अन्तर्राष्ट्रिय बजारहरू खोज्न सक्नुहुन्छ।
ग) फाइदाजनक सहकार्यहरूको स्थापना: तपाईले अन्य व्यवसायहरूसँग सहकार्य गरेर नयाँ ग्राहक आधार, स्रोत–साधन साझेदारी तथा व्यवसायिक विस्तार जस्ता फाइदाहरू लिन सक्नुहुन्छ।