कृषि तथा वन विश्वविद्यालय (एएफयु) ले विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित उद्यमहरूलाई लक्षित गर्दै आफ्नो बीउ पूँजी कार्यक्रमका लागि आवेदन खुला गरेको छ। “एएफयु व्यवसाय इनक्यूबेशन सहयोग कार्यक्रम” अन्तर्गत विश्वविद्यालयले विद्यार्थीहरूबाट व्यावसायिक योजना माग गर्दै अधिकतम रु ५ लाखसम्मको बीउ पूँजी सहयोगका लागि आवेदन आह्वान गरेको हो।
यो पहलले खाद्य प्रणाली र प्राकृतिक स्रोत व्यवस्थापनमा देखा पर्ने चुनौतीहरूको समाधान गर्ने उद्देश्यले शैक्षिक ज्ञानलाई व्यावसायिक अभ्यासमा रूपान्तरण गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गर्न खोजिएको हो।
यो कोष एएफयु अन्तर्गतका विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूका लागि खुला गरिएको छ। विद्यार्थीहरूले ३ देखि ५ सदस्य सम्मको समूहमा आवेदन दिन सक्नेछन्, जसमा कम्तीमा एक जना महिला सदस्य अनिवार्य छन्। प्रस्तावमा व्यवसायिक अवधारणा, व्यावसायिकरणको सम्भाव्यता र बजार सम्भावनालगायतका पक्षहरू समेटिएको हुनुपर्नेछ। प्रस्ताव (असोज ५) सेप्टेम्बर २१ भित्र विश्वविद्यालयको अनुसन्धान तथा विस्तार निर्देशनालय (DoREX) मा बुझाउनुपर्नेछ।
छानिएका समूहहरू चार दिने बुटक्याम्पमा सहभागी हुनेछन्, जसमा व्यवसाय विकास, बजार विश्लेषण, उद्यमशीलता क्षमता अभिवृद्धि तथा प्रस्तुतीकरण सीपमाथि तालिम दिइनेछ। साथै, उद्योग विज्ञ, स्थापित उद्यमी, शैक्षिक क्षेत्रका प्रतिनिधि, बैंक प्रतिनिधि र कर विशेषज्ञहरूले परामर्श दिनेछन्। उनीहरूको सुझावका आधारमा व्यवसायिक योजना परिमार्जन गरी अन्तिम योजना पेश गरिनेछ।
स्वीकृत उद्यमहरूलाई विकासको चरण र बजार तत्परताको आधारमा फिर्ता गर्नु पर्ने बीउ पूँजी प्रदान गरिनेछ।
एएफयुले उक्त योजनाका लागि जम्मा २ करोड रुपैयाँ विनियोजन गरेको छ। यसअघि निर्देशनालयले आयोजना गरेको “व्यावसायिक नवप्रवर्तन बुटक्याम्प २०२५” बाट छानिएका सात विद्यार्थी समूहहरूलाई स्वीकृत २३ लाख रुपैयाँको पहिलो किस्तावापत ११ लाख रुपैयाँ वितरण गरिसकेको छ।
यस कार्यक्रम सम्बन्धि थप जानकारीका लागि यहाँ क्लिक्क गर्नुहोस।