नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार DishHome (GO) एप ले लिगको उद्घाटन खेल विश्वभर (भारत बाहेक) प्रत्यक्ष प्रसारण गरेको छ। कम्पनिको अनुसार उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खा बीचको भिडन्त करिब दुई लाख दर्शकले प्रत्यक्ष हेरेका थिए।
कम्पनीका अनुसार, पहिलो दिन केही प्रयोगकर्ताहरूले आइओएस् प्लेटफर्ममा सदस्यता खरिद र प्रसारण हेर्न समस्या भोगेका थिए। यो समस्या प्रणालीगत कारणले उत्पन्न भएको थियो, जबकि एन्ड्रोइड प्रयोगकर्ताहरूले सहजै खेल हेर्न सके।
इञ्जिनियरहरूले समस्या समाधान गर्दै दोस्रो दिनदेखि सबै प्रयोगकर्ताले प्रत्यक्ष प्रसारण हेर्न सक्ने अवस्था बनाएका छन्। यसैगरी, दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया पनि सुरु गरिएको छ।
थप सुविधा सुनिश्चित गर्न, अब खल्ती र इसेवा मार्फत एनपिएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका प्रवक्ताले भने, “पहिलो दिन केही प्रयोगकर्ताले असुविधा भोगे, तर दोस्रो दिनदेखि सबैले सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्ने अवस्था आएको छ।” कम्पनीका अनुसार, आगामी खेलहरूमा प्रसारण गुणस्तर स्थिर राख्दै प्रयोगकर्ताले सामना गर्ने सम्भावित समस्या तत्काल समाधान गर्ने लक्ष्य लिइएको छ।
भविष्यमा प्रसारण संरचना थप स्थायित्वका साथ विस्तार गर्न र अन्तर्राष्ट्रिय दर्शक पहुँच दायरा बढाउन केन्द्रीय योजना रहेको कम्पनीले जनाएको छ।









