कोशी प्रदेशका ३० उद्यमहरू आध्यान्ताको एक्सिलरेटर कार्यक्रमकालागि छनौट

दोस्रो समूह अन्तर्गतको एक्सिलरेटर कार्यक्रमका लागि १६० उद्यमहरूले आवेदन दिएका थिए, जसमा पर्यटन, सूचना-प्रविधि, कृषि-प्रशोधन, दुग्ध, चिया र कफीका क्षेत्रहरू समावेश छन् ।
Photo: Aadhyanta/LinkedIn

आध्यान्ता एक्सिलरेटर कार्यक्रमले आफ्नो दोस्रो समूहको औपचारिक सुरुआत गरेको छ। यसले कोशी प्रदेशका विभिन्न क्षेत्रमा उच्च सम्भावना बोकेका व्यवसायहरूको प्रवर्द्धन गर्नेछ।

यसै अन्तर्गत १६० आवेदकहरूबाट ३० उद्यमहरूको चयन गरिएको छ, जसले कार्यक्रमको दायरा विस्तार भएको पनि दर्शाउँछ। कार्यक्रमको पहिलो समूहमा ६५ आवेदकहरू थिए।

आध्यान्ताका अनुसार चयन गरिएका कम्पनीहरूको सूचीलाई हालै बसेको छनौट समितिको बैठक (जसमा आध्यान्ता र सहज कार्यक्रमका सदस्यहरू समावेश छन्)ले पूर्ण रुप दिएको हो। 

 

के हो एक्सिलरेटर  कार्यक्रम?

एक्सिलरेटर कार्यक्रमले सम्भावना बोकेका उद्यमहरूलाई आफ्नो विकास र व्यवसाय वृद्धि गर्न सहायता प्रदान गर्छ, जसमा मेन्टरशिप, वित्तीय सहायता र पहुँच  र नेटवर्किङका स्रोत र अवसरहरू हुने गर्छन।

 

यस वर्षका आवेदकहरूमा पर्यटन, सूचना-प्रविधि, कृषि-प्रशोधन, दुग्ध, चिया, र कफी जस्ता विविध क्षेत्र समावेश छन्, जसले कोशी प्रदेशमा बढ्दो उद्यमशीलताको भावना झल्काउँछ। चयन गरिएका विभिन्न व्यवसायहरूले यस क्षेत्रमा महत्वपूर्ण आर्थिक वृद्धि र नवाचारलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

आध्यान्ता नेपालमा आधारित कोष व्यवस्थापन कम्पनी हो। आध्यान्ताको एक्सिलरेटर कार्यक्रम कोशी – २ ले भने यी उद्यमहरूलाई आफ्नो सञ्चालनको विकास र विस्तारमा टेवा दिने लक्ष्य राखेको छ। 

आध्यान्ताको लिंकडइन पोष्टमा जनाइए अनुसार चयन गरिएका कम्पनीहरूको अन्तिम सूची चाँडै प्रकाशित गरिने छ।

यस पहलकदमीमा प्रमुख साझेदारको रूपमा रहेको सहज, स्विट्जरल्याण्ड र नेपालका सरकारको एक द्विपक्षीय परियोजना हो। यसलाई स्विस कन्ट्याक्टको नेतृत्वमा रहेको एक कन्सोर्टियमले कार्यान्वयन गर्दैछ, जसमा वातावरणीय र कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र पनि समावेश छ। स्विस विकास र सहयोग एजेन्सी (एसडीसी) ले यस कार्यक्रमलाई सहायता प्रदान गरेको छ। कार्यक्रमको प्राथमिकता भने कोशी प्रदेशमा केन्द्रित छ।