‘कञ्चनजङ्घा क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकका लागि महत्वपूर्ण गन्तव्य’

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र सम्भावित पर्यटकीय केन्द्रको रूपमा यस क्षेत्रको महत्त्वबारेमा सरोकारवालाहरूले छलफल गरेका हुन्।
कञ्चनजङ्घा हिमाल | तस्बिर: कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्र विश्वका पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यस क्षेत्रको प्रवर्द्धन गरेर लाभ लिनुपर्नेमा जोड दिइएको छ।

समृद्ध पहाड र नेपाल चाइना फ्रेन्डशिप फोरमको सहकार्यमा हालै आयोजित अन्तरक्रियामा वक्ताहरूले कञ्चनजङ्घा क्षेत्रमा आवश्यक पूर्वाधार विकास एवं प्रचारप्रसारमा जोड दिए।

विश्वकै तेस्रो ठूलो हिमाल कञ्चनजङ्घा एवं आसपासका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित भएकाले आगामी दिनमा सो क्षेत्र पर्यटकका लागि उपयुक्त गन्तव्य हुने सरोकारवालाहरूको विश्वास छ।  कञ्चनजङ्घा क्षेत्रमा पर्यटन व्यवसायी एवं सरकारी निकायले विशेष ध्यान दिनुपर्नेमा उहाँहरूको जोड छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कञ्चनजङ्घा क्षेत्र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको र सो क्षेत्रमा भ्रमण गर्नेहरूको सङ्ख्या पनि वृद्धि हुँदै गएको बताउनुभयो। उहाँले यस क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समृद्ध पहाडका बोर्ड अफ डाइरेन्टर एवं पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्यटनसँग सम्बन्धित नीतिलाई पर्यटक, समुदाय एवं व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको जैविक विविधता एवं स्थानीयको आर्थिक उत्थानका लागि सबैले मिलेर काम गर्न ध्यानाकर्षण गराउनुभयो।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्लो समय सूचना प्रविधिको सहज पहुँच भएसँगै पर्यटकले गर्ने छनोट र व्यवसायीले गर्ने लगानीको तादम्यता नमिलेको बताउनुभयो। 

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले विश्व बजारमा कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसार गर्न सकेमा स्थानीय जनताको आर्थिकस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल चाइन फ्रेन्ड्शिप फोरमका अध्यक्ष डा कल्याणराज शर्माले अथाह सम्भावना रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो। 

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरूले कञ्चनजङ्घा संरक्षण क्षेत्रका प्रतिनिधि एवं स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनका काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।