Nep
Eng
Nep
Eng

This post is also available in: English

अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५ देखि २९ गतेसम्म : मुख्य आकर्षक गाई

प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ।
तस्बिर: Dahalsp | विकिमीडिया कमन्स

 


 

यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ। ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो। व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो भन्ने बारेमा किसानलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो। 

चितवनसहित अन्य जिल्लामा पालिएका राम्रो नश्ल भएका गाई ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा बुझाइने उहाँले बताउनुभयो। उहाँका अनुसार माघ २९ गतेसम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायसम्बन्धी अन्तरक्रिया गरिने छ। यसमा पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र  राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो। 

यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो। चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नविनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जामा जोड्न टेवा पुग्ने अध्यक्ष बगालेले बताउनुभयो।

प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ। जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ। ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन्।

लेख सेयर गर्नुहोस्

तस्बिर: Dahalsp | विकिमीडिया कमन्स