पर्यटन ऐन, २०३५ / होटेल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८

के तपाई पर्यटन व्यवसाय सुरु गर्न खोज्दै हुनुहुन्छ – ट्रेकिङ एजेन्सी, रेष्टुरेन्ट/होटल/लज/बार/रिसोर्ट, पर्वतारोहण वा अभियान, पर्यटक गाइड/पर्वतीय पथ प्रदर्शक, र्याफ्टिङ, ग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ जस्ता गतिविधिहरूको पर्यटन उद्यम , बर्ड वाचिङ, स्कीइङ वा अन्य केही ? फराकिलो परिप्रेक्ष्यको लागि, पर्यटन उद्योग व्यवसायीले संस्था दर्ता, इजाजतपत्र प्राप्त गर्ने, स्टार रेटिङ्ग Star rating), संघ सदस्यता सम्बन्धी […]

Image by wirestock on Freepik

के तपाई पर्यटन व्यवसाय सुरु गर्न खोज्दै हुनुहुन्छ – ट्रेकिङ एजेन्सी, रेष्टुरेन्ट/होटल/लज/बार/रिसोर्ट, पर्वतारोहण वा अभियान, पर्यटक गाइड/पर्वतीय पथ प्रदर्शक, र्याफ्टिङ, ग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ जस्ता गतिविधिहरूको पर्यटन उद्यम , बर्ड वाचिङ, स्कीइङ वा अन्य केही ?

फराकिलो परिप्रेक्ष्यको लागि, पर्यटन उद्योग व्यवसायीले संस्था दर्ता, इजाजतपत्र प्राप्त गर्ने, स्टार रेटिङ्ग Star rating), संघ सदस्यता सम्बन्धी कुराहरू बुझ्न र जानकारी राख्न आवश्यक हुन्छ। यसको लागि व्यवसायीले सम्बन्धित स्थानीय र संघीय सरकारका विभागहरूलाई सम्पर्क गर्नुपर्छ।

 

ट्राभल वा ट्रेकिङ्ग एजेन्सी

ट्राभल वा ट्रेकिङ्ग एजेन्सी सञ्चालन गर्नका लागि ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी नियमाली, २०६२ ले तोकेको नयम बमोजिम गर्नुपर्दछ।

 

ट्राभल वा ट्रेकिङ्ग एजेन्सी सुरु गर्न के के आवश्यकता हुन्छ ?

ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न व्यवसाय दर्ता गरी इजाजतपत्र लिनु पर्दछ।

 

आवश्यक पूँजी

ट्रेकिङ्ग एजेन्सी: फर्मको हकमा कम्तीमा ३ लाख रुपैयाँ, कम्पनीको हकमा कम्तीमा ६ लाख रुपैयाँ

ट्राभल एजेन्सी: फर्मको हकमा कम्तीमा ५ लाख रुपैयाँ, कम्पनीको हकमा कम्तीमा १० लाख रुपैयाँ

इजाजतपत्रको लागि दरखास्त दिने ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले इजाजतपत्र लिनु अघि इजाजतपत्रको अवधिभर सुरक्षण बापत कम्तीमा पाँच लाख रुपैयाँ बराबरको बैङ्क ग्यारेण्टी मन्त्रालयको नाममा राख्नु पर्दछ।

 

इजाजतपत्र प्राप्त गर्नका लागि

ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको काम गर्न चाहने व्यक्तिले इजाजतपत्रको लागि अनुसूची-१ बबमोजिमको ढाँचामा मन्त्रालय समक्ष दरखास्त दिनु पर्दछ।

इजाजतपत्रको लागि दरखास्त प्राप्त भएपछि मन्त्रालयले आवश्यक जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा दरखास्तवालालाई इजाजतपत्र दिन उपयुक्त देखिएमा पच्चीस हजार रुपैयाँ दस्तुर दिई इजाजतपत्र दिनेछ।

 

इजाजतपत्रको अवधि र नवीकरण

इजाजतपत्रको अवधि पाँच वर्षको हुन्छ र इजाजतपत्रको अवधि समाप्त हुनु अगावै पच्चीस हजार रुपैयाँ दस्तुर तिरी इजाजतपत्र नवीकरण गराउनु पर्दछ।

 

इजाजतपत्र देहायको व्यक्तिलाई दिइने छैन:

  • करार सम्बन्धी प्रचलिन कानून बमोजिम करार गर्न योग्यता नभएको व्यक्ति,
  • साहुको दामासाहीमा परेको व्यक्ति,
  • ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र खारेज भै सो मितिले दुई वर्षको अवधि भुक्तान गरी नसकेको व्यक्ति,
  • नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजाय पाएको व्यक्ति।

 

शाखा कार्यालय खोल्न स्वीकृति लिनुपर्ने

इजाजतपत्र प्राप्त व्यक्तिले इजाजतपत्रमा उल्लेख गरेको स्थान बाहेक अन्य स्थानमा शाखा कार्यालय खोल्न चाहेमा त्यस्तो कार्यालय रहने स्थान समेत खुलाई स्वीकृतिको लागि विभाग समक्ष निवेदन दिनु पर्नेछ।

 

पर्यटक स्तरको होटल, लज, रेष्टुराँ तथा रिजर्ट र बार सम्बन्धी व्यवस्था

यदि तपाइँ तपाइँको उद्यमलाई पर्यटक स्तरको रुपमा दर्ता गराउन चाहनुहुन्छ भने “होटल, लज, रेष्टुराँ तथा रिजर्ट बार तथा पथ प्रदर्शक नियमावली, २०३८” बमोजिम गर्नुपर्छ।

यसरी दर्ता गराउन चाहेमा दरखास्त दस्तुर एक सय रुपैयाँ सहित अनुसूची-१ बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनुपर्नेछ।

होटेलको वर्गीकरण

  • पर्यटक स्तरको साधारण होटेल
  • पर्यटक आवास
  • एक तारादेखि पाँच तारासम्मको कुनै एक वर्गीकरण

 

वर्गीकरणको आधार

पर्यटक स्तरको साधारण होटेल

  • सुत्ने कोठा कम्तीमा दशवटा हुनु पर्ने र ती सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने।
  • पच्चीस प्रतिशत कोठाको साथमा स्नानागार तथा शौचालय (वाथरुम) संलग्न हुनु पर्ने र अन्य प्रत्येक चार कोठाको निमित्त हिसावले आवश्यक संख्यामा स्नानागार तथा शौचालय हुनु पर्ने।
  • सबै कोठाहरुमा आधुनिक फर्निचर र विजुलीको राम्रो प्रबन्ध हुनु पर्ने।
  • सबै कोठाहरु नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनु पर्ने।
  • स्नानागार तथा शौचालयमा राम्रा र बलिया साधन जडिएको र पर्याप्त मात्रामा तातो पानी र चिसो पानीको प्रबन्ध हुनु पर्ने।
  • स्वागत कक्ष (रिसेप्सन काउण्टर) राम्रोसँग सजाइएको र सकभर टेलिफोनयुक्त हुनु पर्ने।
  • भोजन गर्ने कोठा (डाइनिंग हल) र भान्छा कोठा आवश्यक सामान सहित सफा सुग्घर हुनु पर्ने।
  • लुगा धुने राम्रो प्रबन्ध हुनु पर्ने।
  • अधिकांश वरिष्ठ कर्मचारी होटेल व्यवसायमा अनुवी र अंग्रेजी बोल्न जान्ने हुनु पर्ने।
  • कर्मचारीहरुको पोशाक सफा सुग्घर र एकनासको हुनु पर्ने।
  • ऋतु अनुसार पंखा र हिटरको प्रबन्ध हुनु पर्ने।
  • प्राथमिक उपचार (फष्ट एड) र आगो निभाउने यन्त्र (फायर फाइटिंग इक्यूपमेण्ट) को प्रबन्ध हुनु पर्ने।

लजमा हुनु पर्ने सुविधा

  • सुत्ने कोठा कम्तीमा पाँचवटा हुनुपर्ने र ती सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने।
  • पच्चीस प्रतिशत कोठामा स्नानागार तथा शौचालय संलग्न हुनु पर्ने र अन्य प्रत्येक चार कोठाको निमित्त एकको हिसावले आवश्यक संख्यामा स्नानागार तथा शौचालय हुनु पर्ने।
  • सबै कोठाहरुमा आधुनिक फर्निचर र विजुलीको राम्रो प्रबन्ध हुनु पर्ने।
  • सबै कोठकहरु नेपाली कला र संस्कृति झल्काउने किसिकले सजाइएको हुनु पर्ने।
  • स्नानागार तथा शौचालयमा राम्रा र बलिया साधन जडिएको र पर्याप्त मात्रामा तातो पानी र चिसो पानीको प्रबन्ध हुनु पर्ने।
  • स्वागत कक्ष (रिसेप्सन काउण्टर) राम्रोसँग सजाइएको र सकभर टेलिफोनयुक्त हुनु पर्ने।
  • लुगा धुने राम्रो प्रबन्ध हुनु पर्ने।
  • वरिष्ठ कर्मचारी लज सम्बन्धी ज्ञान भएको र अंग्रेजी बोल्न जान्ने हुनु पर्ने।
  • कर्मचारीहरुको पोशाक सफा सुग्घर र सकभर एकनासको हुनु पर्ने।
  • सकभर ऋतु अनुसार पंखा र हिटरको प्रबन्ध हुनु पर्ने।

रेष्टुराँ तथा रिजर्ट तथा बारमा हुनु पर्ने सुविधा

  • अन्तर्राष्ट्रिय स्तर कायम रहने गरी खानपिनको व्यवस्था हुनु पर्ने।
  • राम्रो किसिमका क्रकरी र कटलरी हुनु पर्ने।
  • स्वच्छ र स्वास्थ्यकर पिउने पानीको व्यवस्था हुनु पर्ने।
  • स्त्री र पुरुषको निमित्त रुमाल, साबुन सहित छुट्टाछुट्टै शौचालयको राम्रो प्रबन्ध हुनु पर्ने।
  • एक समयमा कम्तीमा पन्ध्र जना व्यक्तिहरु बसी खान सक्ने व्यवस्था हुनु पर्ने।
  • घुंइचो नहुने किसिमको फराकिलो कोठा वा त्यस अनुरुप बस्ने व्यवस्था हुनु पर्ने।
  • फर्निचर सफा सुग्घर तथा स्तरयुक्त हुनु पर्ने।

 

के तपाईँ पथ प्रदर्शक बन्न चाहनु हुन्छ?

इजाजतपत्र प्राप्त गरेको हुनु पर्ने 

पथ प्रदर्शकको काम गर्न इजाजतपत्र लिन चाहने व्यक्तिले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको महानिर्देशक समक्ष दरखास्त दिनु पर्दछ।

योग्यता

पथ प्रदर्शकको इजाजतपत्र लिन चाहने व्यक्तिले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान वा पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट पथ प्रदर्शकको तालीम प्राप्त गरी प्रमाणपत्र पाएको हुनु पर्दछ।

इजाजतपत्र खारेज गर्न सकिने

  • नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजाय पाएमा,
  • कुनै मानसिक वा सरुवा रोग लागेको,
  • पथ प्रदर्शकको इजाजतपत्र खारेज भएको तीन वर्षको अवधि समाप्त नभएको।

इजाजतपत्रको म्याद

पथ प्रदर्शको इजाजतपत्रको अवधि पाँच वर्षको हुन्छ। इजाजतपत्रको म्याद समाप्त भएको पैंतीस दिनभित्र इजाजतपत्र नवीकरण गर्न महानिर्देशक समक्ष दर्खास्त दिनु पर्नेछ। दरखास्त प्राप्त भएपछि महानिर्देशकले पाँच सय रुपैयाँ दस्तर लिई अर्को पाँच वर्षको अवधिको लागि नवीकरण गरी दिन सक्नेछ।

पथ प्रदर्शकले गर्न नहुने कामहरु

  • आफूले पथ प्रदर्शन गरेको पर्यटकलाई कुनै मालसामान खरीद गर्ने वा अरु कुनै सेवा उपलब्ध गर्ने काममा मद्दत गर्दा सो कामसंग सम्बन्धित विक्रेता वा अरु कुनै व्यक्तिसंग नगदी वा अरु कुनै चीज वस्तु मागन वा लिन,
  • आफूलाई पथ प्रदर्शक बनाउ भनी कुनै पर्यटकलाई बाध्य गर्न,
  • आफ्नो इजाजतपत्र अरुलाई दिई पथ प्रदर्शकको काम गर्न लगाउन।

इजाजतपत्र खारेज गर्न सकिने

  • नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी प्रमाणित भई कैदको सजाय पाएमा,
  • कुनै मानसिक वा सरुवा रोग लागेको,
  • पथ प्रदर्शकले गर्न नहुने काम गरेमा।

कुनै पथ प्रदर्शकको इजाजतपत्र खारेज गर्नु अगाडि निजलाई आफ्नो सफाई पेश गर्नको लागि मौका दिनु पर्नेछ र यसरी मौका दिंदा कम्तिमा पन्ध्र दिनको म्याद दिनु पर्नेछ।

 

ऐनको उल्लङ्घन गरेमा हुने दण्ड सजाय

  • इजाजतपत्र प्राप्त नगरी पथ प्रदर्शकको काम गरेमा चार हजार रुपैयाँसम्म जरिवाना,
  • इजाजतपत्र नवीकरण नगरी पथ प्रदर्शकको काम चालु राखेमा दुई हजार रुपैयाँसम्म जरिवाना,
  • ऐन अन्तर्गत जारी भएको अन्य नियम वा आदेशको पालना नगरेमा नेपाल सरकाले एक हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।