पाल्पाको निमिसा एग्रो फार्म

कृषक निर्मल राना १५ रोपनी जग्गा भाडामा लिई, कुल २५ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती गरिरहेका, अर्गली, पाल्पाका एक नमूना कृषक हुन् ।
Agro Farm | image by wirestock on Freepik | For Illustration Purpose

यो कथा कृषि विभागको वेबसाइटमा ४ फाल्गुन २०७७ मा प्रकाशित भएको हो।


 

१५ रोपनी जग्गा भाडामा लिई, कुल २५ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती गरिरहेका कृषक निर्मल राना, अर्गली, पाल्पाका एक नमूना कृषक हुन् । १० वर्ष अगाडि विदेश जान भनि पासपोर्ट बुझाइसकेका निर्मलले पछि देशमै बसेर तरकारी खेती गर्ने निर्णय गरे । वि.सं. २०७४ सालमा “निमिसा एग्रो फार्म” दर्ता गरेका रानाले वि.सं. २०६७ देखि नै १० रोपनी जग्गामा कृषि व्यवसाय शुरु गरेका थिए।

बीचमा वि.सं. २०७१ सालमा १ वर्षको लागि उनी भारत गएका थिए । भित्री हृदयदेखि खेती गर्ने इच्छा जागेकोले यो पेशामा लागेको र पूर्ण आत्मसन्तुष्टी मिलेको उनी बताउँछन् ।

कुल रु. १० लाखको लगानी मध्ये १४% ब्याजमा सहकारीबाट रु. ५ लाख ऋण, आफन्तबाट रु. १ लाख ऋण, रु.४०,००० युवा स्वरोजगार कार्यक्रमबाट अनुदान, कृषि ज्ञान केन्द्रबाट रु.४२,००० को मिनि ट्राक्टर अनुदान तथा रु. ३ लाखको स्वलगानी रहेको उनी बताउँछन् । भिन्डी ८ रोपनी, काक्रो ४ रोपनी, बोडी १ रोपनी तथा सिमी १२ रोपनीमा खेती गरिरहेका उनलाई बजारको कत्तिपनि समस्या छैन ।

स्थानीय तथा बुटवलको बजारमा सजिलै उनको उत्पादन खपत भैरहेको छ । प्रति रोपनी रु. ३०,००० को लागत र रु.५५,००० लाभ हुने उनी बताउँछन्। एक वर्ष मै रु.३ लाख मिनि ट्राक्टरबाटै कमाएको र वार्षिक ८ देखि १० लाख नाफा हुने गरेकोमा उनी कृषिलाई पेशाको रुपमा अपनाएकोमा गर्व गर्छन् ।

विगत २ वर्ष यता मल्चिङ्ग प्लाष्‍टिकको प्रयोग गरि खेती गरिरहेका निर्मल भन्छन्, यसको प्रयोगले तरकारी निकै राम्रो र छिटो उत्पादन भएको छ । साथै मल्चिङ्गको प्रयोगले सिंचाईको समस्या कम रहेको उनी बताउँछन् । आगामी साल ४० देखि ५० लाखको भक्तपुर लोकल काक्रो बिक्री गर्ने लक्ष्य उनले लिएका छन्। उनि भन्छन्, कृषिमा राम्रोसँग मिहिनेत गर्यो भने विदेशमा भन्दा राम्रो कमाई गर्न सकिन्छ ।


 

कृषि विभागमा प्रकाशित

प्रकाशित मिति: २०७७/११/०