च्याउ खेतीको बढ्दो सम्भावना

आर्थिक वर्ष २०७९/८० मा नेपालले २२ लाख बराबरको एग्रीकस जिनसको (गोब्रे) च्याउ निर्यात गरेको थियो जुन २०८०/८१ मा बढेर रु. १.१९ करोड पुग्यो। यो दुई वर्षमै कुल निर्यातमा ७६८% को वृद्धि हो।
Photo by Annie Spratt on Unsplash

नेपालमा च्याउ खेतिप्रतिको चासोमा उल्लेख्य वृद्धि भएको छ। यस व्यवसाय प्रतिको आकर्षण मुख्यतया: नेपाली भान्सामा च्याउको बढ्दो माग, न्यूनतम प्रारम्भिक लगानी र छोटो अवधिमा पर्याप्त नाफाको सम्भावनाबाट उत्पन्न भएको हो। प्राकृतिक वातावारणका साथै नियन्त्रित वातावरण जस्ता आधुनिक खेती प्रविधिको प्रयोग गरेर पनि च्याउ खेती गर्न सकिन्छ।

सुरुमा काठमाडौं र भक्तपुर क्षेत्रमा मात्र सिमित रहेको च्याउ खेती पछि देशव्यापी रुपमा विस्तार भएको छ। विगत एक दशकमा नेपालको च्याउ उत्पादनमा उल्लेखनीय बृद्धि भएको देख्न सकिन्छ।

 

“नुवाकोटको वनदेवी कृषि फार्मको बारेमा यहाँ पढ्नुहोस्।”

 

कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्कले विगत १० वर्षमा च्याउ उत्पादनमा ७६६ प्रतिशतको भारि वृद्धिदर देखाएको छ। आर्थिक वर्ष २०६९/७० मा नेपालभरी १,६५० मेट्रिक टन ताजा च्याउ उत्पादन भएको थियो, जुन २०७८/७९ मा १४,३०० मेट्रिक टन पुगेको थियो।

हालैको राष्ट्रिय नमूना कृषि जनगणना २०२१ ले १७,५५४ घरपरिवार च्याउ खेतीमा संग्लग्न रहेको बताउँछ।

साथै च्याउको बीउ उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको छ । २०६९/७० मा २८९,६२४ बोतल च्याउको बीउ उत्पादन भएको थियो भने २०७८/७९ सम्ममा यो संख्या बढेर १३,४७,८३२ बोतल पुगेको थियो।

 

“तपाईं हाम्रो रिसोर्स खण्ड वा सिधै यहाँबाट “च्याउ उत्पादन र मार्केटिङ म्यानुअल” डाउनलोड गर्न सक्नुहुन्छ।”

हालको उत्पादनले देशको कुल च्याउ मागको ८० प्रतिशत आपूर्ति गरेको छ भने बाँकी भारत जस्ता देशबाट आयात हुने गरेको छ।

अर्कोतर्फ, नेपाल ताजा वा चिस्याईएको च्याउ निर्यात पनि गर्छ। आर्थिक वर्ष २०७८/७९ मा ताजा वा चिसो गरि नेपालले २२ लाख बराबरको (३,८७६ के.जी) एग्रीकस जिनसको (गोब्रे) च्याउ निर्यात गरेको थियो जुन आर्थिक वर्ष २०७९/८० मा बढेर रु. १.९१ करोड (६,१२१ के.जी) पुगेको छ। यो दुई वर्षमै कुल निर्यातमा ७६८% को वृद्धि भएको हो।

नेपालमा कान्ये, गोब्रे, पराले, सीताके, डाडु लगायतका च्याउहरुको खेती हुँदै आएको छ। नेपालमा थुप्रै प्रजातिका खाद्यान्न च्याउ उत्पादन गर्न सकिने विज्ञहरुको विश्वास छ।