नेपालको राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन र दिगो वृद्धि गराउने उद्देश्यले औद्योगिकीकरणलाई प्रवर्धन गर्न र विदेशी लगानी आकर्षित गर्न यो ऐन लागु गरिएको हो। यस ऐनले विदेशी लगानीकर्ताहरुलाई दिशानिर्देशन गर्दछ साथै नेपालमा प्रत्यक्ष विदेशी लगानी (FDI) को लागि अनुकूल वातावरण सिर्जना गर्ने लक्ष्य राख्दछ। यसले विदेशी लगानीकर्ताहरुका लागि आवश्यक कानुन, प्रकृया, आवश्यकता, विवाद समाधान, र बौद्धिक सम्पत्ति सम्बन्धि अधिकारहरुको संरक्षण सहितको रुपरेखा प्रस्तुत गर्दछ।
विदेशी लगानीकर्ता भन्नाले कसलाई बुझिन्छ ?
विदेशी लगानीकर्ता भन्नाले विदेशी लगानी गर्ने विदेशी व्यक्ति, फर्म, कम्पनी, गैर आवासीय नेपाली वा विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्था वा अन्य यस्तै प्रकारका संगठित संस्थालाई सम्झनू पर्छ र सो शब्दले विदेशी लगानीकर्ता कुनै संस्थागत विदेशी लगानीकर्ता भएमा त्यस्तो संस्थाको अन्तिम हिताधिकारीलाई समेत जनाउँछ।
विदेशी लगानी भनेको के हो ?
विदेशी लगानी भन्नाले विदेशी लगानी कर्ताले उद्योग वा कम्पनीमा गरेको देहायको लगानी सम्झनु पर्छ ;
- विदेशी मुद्रामा गरिने शेयर लगानी
- उद्योगमा विदेशी मुद्रा वा शेयरबाट प्राप्त लाभांश रकमको पुन:लगानी
- लिज लगानी
- पूँजी लगानी कोषमा गरेको लगानी
- दोस्रो बजार मार्फत सूचीकृत धितोपत्रमा गरेको लगानी
- प्रविधि हस्तान्तरणद्वारा भएको लगानी
- नेपालमा संस्थापित उद्योग वा कम्पनीले विदेशी पूँजी बजारमा धितोपत्र जारी गरी बैकिङ्ग प्रणाली मार्फत प्राप्त भएको लगानी।
विदेशी लगानीका लागि न्यूनतम रकम
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनका अनुसार, विदेशी लगानी कम्तीमा २ करोड हुनुपर्छ। तर, विदेशी लगानीकर्ताले लगानी गर्ने रकम र लगानीको हिस्साको अधिकतम सीमा तोकिएको छैन।
विदेशी लगानीकर्ताले लगानी गर्ने उद्योग
स्वदेशी लगानीका लागि आरक्षित उद्योग बाहेक अन्य जुनसुकै उद्योगमा विदेशी लगानीलाई अनुमती दिइएको छ। स्वदेशी लगानीका लागि आरक्षित उद्योगहरुमा विदेशी प्रविधि प्रयोग गर्न अनुमति दिन सकिन्छ।
वैदेशिक लगानीका लागि नकारात्मक सूची (स्वदेशी लगानीका लागि आरक्षित उद्योग)
- पशपुन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनका अन्य क्षेत्रहरु
- लघु तथा घरेलु उद्यम,
- व्यक्तिगत व्यवसाय (जस्तो: कपाल काट्ने, सिलाइ (टेलरिङ्ग), ड्राइभिङ्ऊ आदि)
- हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा विष्फोटक पदार्थ तथा न्यूक्लियर, बायोलोजिकल तथा केमिकल (एन. बी. सी.) हतियार उत्पादन गर्ने उद्योग, आणविक शक्ति (एटोमिक इनर्जी), विकीरणजन्य सामग्री (रेडियो एक्टिभ म्याटेरियल्स) उत्पादन गर्ने उद्योग,
- घर जग्गा खरिद बिक्री व्यवसाय (निर्माण उद्योग बाहेक), खुद्रा व्यापार, आन्तरिक कुरियर सेवा, स्थानीय क्याटरिङ्ग सेवा, मनिचेन्जर, रेमिटेन्स सेवा,
- पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शन , होमस्टेलगायतका ग्रामीण पर्यटन,
- आमसञ्चारका माध्यमहरु (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय, राष्ट्र भाषाको चलचित्र व्यवसाय,
- व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानूनी परामर्श सेवा र भाषा तालिम, सङ्गित तालिम, कम्प्युटुर तालिम, र
- एकाउन्न प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरु।