Nep
Eng
Nep
Eng

This post is also available in: English

विदेशको मोह त्यागेर भैँसीपालनमा

विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाइ कृषि कार्य गर्ने गरेको सुरेन्द्रबहादुर साउदले बताउनुभयो।
तस्बिर: रासस

 


 

गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ। उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो। अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो। हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ। 

साउदले गोदावरीको तेघरीमा भैँसीपालन व्यवसाय सुरु गर्नुभएको हो। उहाँले वार्षिक रु तीन लाख ६० हजारको दरले दश वर्षका लागि एक बिघा १५ कठ्ठा जमिन भाडामा लिनुभएको छ। गोठ निर्माण र भैँसी खरिदमा रु २६ लाख खर्च भएको साउदले बताउनुभयो। मासिक रु एक लाखको कारोबार हुने गरेको र त्यसमा सबै खर्च कटाएर रु ६० हजार फाइदा हुने गरेको साउदको भनाइ छ।

 उहाँले भन्नुभयो, “भैँसीपालन गर्न कामदार राखेको छैन, आफै खटिने गरेको छु, बचत राम्रै भइरहेको छ।” प्रतिलिटर रु ९० का दरले उहाँले दैनिक ४० लिटर दूध बिक्री गर्नुहुन्छ। ग्राहकलाई दूध पु¥याउनै नसकेको साउदले बताउनुभयो।  

विज्ञापनहरू

साउदको गोठमा अहिले मुर्रा, स्थानीय जातको भैँसी र पाडापाडी गरी आठ भैँसी छन्। भविष्यमा विभिन्न जातका ४० भैँसी खरिद गरी व्यवसायलाई विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ। भैँसीको आहारको जोहो नभएकाले अहिले केही भैँसीबाट व्यवासाय सुरु गरेको साउदले बताउनुभयो।

विदेशी भूमिमा काम गरेको अनुभव बटुलेका साउदले त्यहाँ नेपालीले काम गर्दा पाएको दुःखलाई सम्झिदै स्वदेशमै भैँसीपालन सुरु गर्नुभएको हो।  

“नेपालीले विदेशमा बहुत दुःखका साथ काम गर्ने गर्दछन्, नेपालबाट जाँदा म्यानपावरसँग एक किसिमको सम्झौता भएर विदेशीएका हुन्छन्, तर पुगेपछि भनेको अनुसारको काम र तलब हुँदैन्, दुःख, कष्ट निकै झेल्ने गरेका आफ्नै आँखा अगाडि देखेको छु”, साउदले भन्नुभयो। 

विदेशमा माटोको उर्वराशक्ति न्यून भएका देशमा बाहिरबाट कन्टेनरमा माटो आयात गरेर खेतीयोग्य जमिन बनाइ कृषि कार्य गर्ने गरेको साउदले बताउनुभयो। 

“हाम्रो जस्तो कृषि प्रधान देशमा कृषि कार्यका लागि धेरै चिज छ, हामीसँग घाँस छदैछ, माटोको उर्वराशक्ति राम्रै छ, यहाँ जे गरे पनि उत्पादन राम्रै हुन्छ,” उहाँले भन्नुभयो, “त्यही भएर पनि आफूले भैँसीपालन व्यवसाय अगालेको हुँ।”

हिजोआज धेरैजसो व्यक्ति कमाउनका लागि विदेश पलायन भइरहेका बेला साउद भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहनुभएको छ। “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदारण दिइरहेको छु। परिवारको खर्च यसैबाट टरेको छ”, उहाँले भन्नुभयो, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ। यो नै खुसीको कुरा हो।” 

पछिल्लो समय कैलालीमा भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। यसको विकास र विस्तारका लागि सरकारले अनुदानका साथै सहुलिएतमा ऋण उपलब्ध गराए धेरै सहज हुने उहाँको भनाइ छ। लगतै गड््यौला मल उत्पादन व्यवसाय सञ्चालन गरेर बजारमा बिक्री गर्नेसमेत योजना रहेको साउदले बताउँनुभयो।

लेख सेयर गर्नुहोस्

विज्ञापनहरू
विज्ञापनहरू
तस्बिर: रासस