Nep
Eng
Nep
Eng

This post is also available in: English

विकट गाउँमा रेन्बो ट्राउटपालन

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी हुने विकास तिमिल्सिनाको भनाइ छ।
तस्बिर: रासस

 


 

आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ। पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आउनुभएको हो।

एक्काइस वर्ष लामो प्रहरी सेवा र वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो।

मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा रु तीन करोडको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा रु तीन करोडको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो।

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी हुने उहाँको भनाइ छ। “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ। तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो। लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश हुनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बन्नुभएको थियो।

जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ। चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उहाँको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ।

फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताउनुभयो। उहाँका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन्। फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उहाँले जानकारी दिनुभयो।

वि.सं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए। केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो। फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिनुभएको छ।

लेख सेयर गर्नुहोस्

तस्बिर: रासस