पुँजी लगानी गर्ने बिजनेस रियालिटी कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, पाँच शार्क सार्वजनिक
पहिलो सिजनको निर्णयाक लगानीकर्तामा उद्योगी सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, रितु सिंह वैद्य, हेमराज ढकाल र आनन्द बगरिया निर्णायकको रुपमा रहेका छन्।
बहुप्रतिक्षित पुँजी लगानी गर्ने बिजनेस रियालिटी कार्यक्रम ‘शार्क ट्याङ्क नेपाल’को पहिलो सिजनको तयारी संगै निर्णायकहरूको सूची अन्ततः सार्वजनिक भएको छ। नयाँ उद्यमीहरूलाई लगानीकर्ताहरूको प्यानल बीचमा आफ्नो उद्यमको सम्भावनाबारे प्रस्तुत गर्दै लगानी सुरक्षित गर्न प्लेटफर्म प्रदान गर्ने यस कार्यक्रमले नेपालमा स्टार्टअप इकोसिस्टमको आधारशिल बन्ने अपेक्षा पनि लिएको छ।
पहिलो सिजनको प्यानलमा प्रतिष्ठित उद्योगीहरू — सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, ऋतु सिंह वैद्य, हेमराज ढकाल र आनन्द बगरिया निर्णायकका रुपमा छन् रहेका छन् ।
पहिलो सिजनका लागि निर्णायकहरूको घोषणा गर्दै, हिमालयन टिभी एचडी अब २० शृङ्खलाको लागि तयारी गर्दै छ। यो संगै इच्छुक उद्यमीहरूले अब आफ्नो व्यवसायिक प्रस्ताव पेश गर्न सक्नेछन्। यसै अन्तर्गत कार्यक्रमले अब सबै उद्योगका व्यवसायहरूलाई शेयर/इक्विटी वा ऋण लगानी सुरक्षित गर्ने मौकाको लागि आवेदन दिन पनि आमन्त्रित गरेको छ।
आवेदकहरू कम्तिमा एक वर्षको लागि नेपालमा दर्ता र सञ्चालन व्यवसाय भएको हुनुपर्छ। साथै संस्थापकहरू नेपाली नागरिक भएको हुनुपर्छ। उद्यमीहरूले हिमालय टिभी एप वा आधिकारिक हिमालय टिभी वेबसाइट मार्फत आफ्नो आवेदन पेश गर्न सक्छन्। आवेदनका लागि यहाँ लिङ्क पाउनुहोस्। आवेदनहरूको लागि अन्तिम मिति २०८० माघ १, सोमवार हो।
निर्णायकहरूले उद्यमीहरूलाई तिनीहरूको नवीन विचार, व्यवसायिक मोडेल, वृद्धिको सम्भावना र संस्थापकहरूको क्षमताको आधारमा मूल्याङ्कन गर्नेछन्। कार्यक्रमले जनाए अनुसार यो कार्यक्रम मार्फत रु ४० करोडसम्मको लगानी गर्ने लक्ष्य राखिएको भएपनि यो प्रस्तुत उद्यमको क्षमता र सम्भावनामा भर पर्नेछ।
शार्क ट्याङ्क नेपालकालागि उत्पादन र प्रसारणको एकमात्र इजाजतपत्र प्राप्त गरेको हिमालय टेलिभिजन एचडी अर्को वर्षको सुरुमा यसलाई प्रशारण गर्ने योजनामा छ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी कार्यक्रम बन्न पुगेको छ। ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ। यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ।